काठमाडौँ: नेपालमा उत्पादन भएको चिया चीन निर्यात हुने भएको छ । दुई देशका विदेशमन्त्रीस्तरीय समझदारीले नेपाली चिया चीन निर्यात हुने बाटो खुलेको हो ।
साउनको अन्तिम हप्ता परराष्ट्रमन्त्री नारायण खड्काले चीन भ्रमणका क्रममा चिनियाँ सरकारसँग चियाको विषयमा छलफल गर्नुभएको थियो । त्यस विषयमा नेपालबाट प्रस्ताव नै पेस गरिएको थियो । दुई देशको विदेशमन्त्रीको छलफलले चीनमा नेपाली चिया निर्यातको बाटो खुलेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री खड्का चीनबाट आइसकेपछि नेपालस्थित चिनियाँ दूतावास र बोर्डबीच चिया आयात–निर्यातबारे पटकपटक छलफल भसकेको छ । यो छलफलमा चिया निर्यातका कानुनी प्रावधानबारे जानकारी लिनेदिने काम भएको र सबै कुरा टुङ्गो लगाइएको उहाँले बताउनुभयो । दूतावास र बोर्डका प्रतिनिधिबीच सोमबार पनि छलफल भएको थियो ।
सहज प्रवेश दिने प्रतिबद्धता
हालसम्मको छलफल र सहमतिबाट चीनमा नेपाली चियाले सजिलै प्रवेश पाउने सुनिश्चित भएको छ । दूतावास र बोर्डबीच भएको सहमतिअनुसार चिनियाँ भन्सारमा चिया दर्ता नभए पनि निर्बाध रूपमा निर्यात गर्न सकिने भएको छ । यदि कसैले भन्सारमा दर्ता गराउन चाहे त्यसलाई पनि सहज बनाइदिने सहमति भएको बार्डका कार्यकारी निर्देशक भट्टराई जानकारी दिनुभयो ।
नेपालबाट चिया निर्यात गर्दा ‘हेल्थ सर्टिफिकेट’मा पनि सहज बनाइदिने कुरामा चिनियाँ पक्ष प्रतिबद्ध भएको बोर्डका प्रवक्ता एवं निर्देशक डा। दीपक खनालले बताउनुभयो ।
चिया निर्यात गर्दा आइपर्ने हरेक अप्ठ्यारालाई सहज बनाउने कुरामा दूतावासले पहल गरिदिने प्रतिबद्धता पनि जनाएको बताउँदै उहाँले चीनले नेपाली चियाको गुणस्तर तथा उत्पादनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।
प्रवक्ता एवं निर्देशक डा। खनालले भन्नुभयो, “चीनले भनेको छ, नेपाली चियाको ‘क्वालिटी प्रमोट’ गर्न केही सहयोग गर्नुप(यो भने हामी सहयोग गर्न तयार छौँ ।”
संयुक्त रूपमा प्रवद्र्धन गरिने
नेपाली चियालाई चीनको बजारमा चिनाउन दुवै देशले मिलेर गतिविधि गर्ने पनि समझदारी भएको हो । टी एक्स्पो, व्यापारीसँग छलफल, टी च्याम्पियनजस्ता कार्यक्रम गर्ने कुराकानी भएको कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो ।
चीनमा आगामी सेप्टेम्बरमा चिया प्रतिस्पर्धा ९टी च्याम्पियन० हुने भएको छ । त्यसमा नेपालले भाग लिने तय भएको छ । सेप्टेम्बर १८–२१ सम्म हुने उक्त चिया प्रतिस्पर्धामा भाग लिने र नेपालको चियालाई प्रतिस्पर्धा गराउने भएको हो । चीनमा यस्तो प्रतिस्पर्धा बर्सेनि हुने गरेको छ । नेपालले पहिलो पटक भाग लिँदै छ । दूतावास र बोर्डबीच भएको छलफलमा यो कुराको टुङ्गो लागेको हो ।
कार्यकारी निर्देशक भट्टराईले भन्नुभयो, “हाम्रा लागि यो ठूलो अवसर हो, नेपालको चिया पर्फेक्ट हो, त्यसलाई विश्वसामु चिनाउन चीनले हामीलाई ठूलो अवसर दिएको छ ।” यो प्रतिस्पर्धामा भाग लिइसकेपछि दुई देशका व्यापारीबीच छलफल गराउने कार्यक्रम पनि बनेको छ तर कहिले कुन मितिमा गर्ने तय भएको छैन । व्यापारीसँग छलफल गरिसकेपछि टी एक्स्पो पनि गर्ने सोच बनेको उहाँले जानकारी दिनुभयो ।
चिया निर्यात गर्ने सम्झौता दुई देशको बीचमा भएको हो तर आयात निर्यात व्यापारीले गर्ने हो । त्यसका लागि प्रचारप्रसार र दुवै देशका व्यापारीबीच जानुपर्ने हुन्छ, यसमा पनि चीनले सहयोग गर्ने बोर्डले जनाएको छ ।
लामो समयदेखि नेपालको उत्तरी नाका बन्दजस्तै छ तर चिया निर्यात गर्न त्यसले कुनै फरक नपर्ने कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “छलफलमा हामीले नेपाल–चीनको नाकामा देखिएको अवरोधका कुरा पनि उठाएको तर त्यसमा चिनियाँ दूतावासले त्यसका लागि चिन्ता नगर्नुस्, चिया निर्यातमा त्यसले केही फरक पर्दैन, केही समस्या भयो भने हामीले त्यसका लागि सहजीकरण गर्छौं भनेको छ ।”
उत्पादन र आयात–निर्यात
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०१९र२० मा दुई करोड ४१ लाख १८ हजार किलोग्राम चिया उत्पादन भएको छ, जसमा एक करोड ४९ लाख ७७ हजार किलोग्राम सीटीसी चिया उत्पादन भयो भने ८२ लाख ५१ हजार किलोग्राम अर्थोडक्स चिया उत्पादन भएको छ । सो अवधिमा नेपालमा सात लाख ४५ हजार किलोग्राम ग्रिन टी उत्पादन भएको छ ।
आव २०७६र७७ मा दुई अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन चिया निर्यात भएकामा २०७७र७८ मा तीन अर्ब छ करोड रुपियाँभन्दा बढीको नौ हजार ५७० मेट्रिक टन चिया निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।
यसैगरी आव २०७८र७९ मा तीन अर्ब ४३ करोड रुपियाँ बराबरको १२ लाख ४९ केजी निर्यात भएको छ । सोही आर्थिक वर्षमा आठ करोड ३६ लाख रुपियाँ बराबरको दुई लाख तीन हजार केजी चिया आयात भएको हो ।
स्वदेशमा चिया उपभोग गरी बढी भएको चिया भारतलगायत अन्य देशमा निर्यात भइरहेको जानकारी दिँदै कार्यकारी निर्देशक भट्टराईले नेपाली चियाको खपत वार्षिक दुई सय ग्राम प्रतिव्यक्तिभन्दा कम रहेको बताउनुभयो । भारतमा वार्षिक ३३० ग्राम प्रतिव्यक्ति खपत रहेको छ ।
वैकल्पिक बजार खोज्नुपर्ने बाध्यता
अहिले नेपाली चियाको मुख्य बजार भारत हो । नेपालको कुल चिया निर्यातको ९० प्रतिशत भारतमा हुने गरेको छ तर नेपाली चिया भारतमा निर्यात गर्दा समयसमयमा झन्झट आउने गरेको छ । भारतले बेलाबेलामा नेपाली चियाबारे भ्रम सिर्जना गरेका कारण बजारमा नकारात्मक धारणा फैलने गरेको र त्यसले निर्यात प्रभावित हुने गरेपछि भारतको विकल्पमा बजार खोज्नुपर्ने बाध्यता आएको हो ।
भर्खरै भारतको लोक सभा र राज्य सभामा प्रस्तुत विधेयकमा भारतमा निर्यात हुने चियामा परिमाणात्मक बन्देज लगाउनुपर्ने र भन्सार कर लिनुपर्ने प्रावधान राखिएको छ । भारतको संसदीय समितिले चियाबारे अध्ययन गर्दै नेपाललगायत विभिन्न देशको चिया न्यून गुणस्तरको भएको प्रतिवेदन दिएको छ । सुरेशकुमार यादवले गोरखापत्र अनलाईमा लेख्नु भएको समाचार साभार