इलाम : इलाममा नवौं जिल्ला सभा मङ्गलबार सम्पन्न भएको छ । सभाले विभिन्न समसामयिक विषयमा निर्णय पारित गरेको छ ।सभाले संघीय आयोजना अन्तर्गत डिभिजन सडक कार्यालय इलामको सुपरिवेक्षणमा सञ्चालन भइरहेको केचना–कञ्चनजङ्घा मार्ग अन्तर्गत वेलासे हुँदै सदरमुकाम जोड्ने सडक कार्यान्वयनमा ढिलाइ हुँदा रकम फ्रिज हुन पुगेको भन्दै तत्काल सम्पन्न गर्ने माग गरिएको छ ।
त्यस्तै, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामलाई धनकुटा स्थानान्तरण गरिएको विषयले जिल्लाबासीलाई पीडा पुर्याएको भन्दै कार्यालयलाई इलाममै पुनःस्थापना गर्न माग गरिएको छ ।बैठकले जिल्लाका ग्रामीण क्षेत्रमा अझै पनि करिब ६ हजार ५ सय काठका पोल प्रयोग भइरहेको भन्दै विद्युत प्रसारणलाई भरपर्दो र सुरक्षित बनाउन फलामे पोल जडान गर्न तथा विद्युतीकरण नभएका क्षेत्रसम्म विस्तार गर्न नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।जिल्ला सभा ऐन, २०७५ जारी भए पनि कार्यविधि अभावमा काम गर्न कठिनाइ भइरहेको भन्दै बैठकले जिल्ला सभा नियमावली तत्काल जारी गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।
यसैगरी, बैठकमा सूचना प्रविधि व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पनि प्रस्तुत भएको छ । करिब ९ लाख ५० हजार रुपैयाँ लागतमा सञ्चालन हुने कार्यक्रमका लागि इलाम जिल्लाका सबै स्थानीय तह र जिल्ला समन्वय समितिबाट लागत साझेदारी गरिनेछ ।कार्यक्रममार्फत स्थानीय तहमा कार्यरत जनशक्तिलाई क्षमता अभिवृद्धि, अभिलेख व्यवस्थापन, डाटा सेन्टर सञ्चालन, सूचना प्रविधि उपकरण व्यवस्थापन लगायतका कार्यहरु गरिने प्रस्तावमा उल्लेख छ ।
त्यस्तै, दमक–चिसापानी, भालुखोप–दानावारी, आत्मानन्द मार्ग, मदन भण्डारी मार्ग अन्तर्गत इलाम खण्डको कार्य सुस्त रहेको भन्दै ती आयोजनाहरु छिटो सम्पन्न गर्न माग गरिएको छ ।साथै, देउमाइ नगरपालिका–माङसेवुङ हुँदै फाकफोकथुम जोड्ने मंगलवारे–गजुरमुखी सडक अत्यन्त जीर्ण अवस्थामा रहेको भन्दै यसलाई योजनामा समावेश गरी कार्यान्वयनमा ल्याउन पनि जिल्ला सभाले सरकारको ध्यानाकर्षण गराएको जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले बताए ।नयाँ बुलन्दबाट
