फिक्कल: इलामको सूर्योदय नगरपालिका–१० रमितेमा ११ खेलाडी खेल्न मिल्ने आधुनिक फुटबल मैदान निर्माणका लागि युनाइटेड फिक्कल क्लबले आर्थिक स्रोत जुटाउने अभियानलाई तीव्रता दिएको छ। खेलमैदान निर्माणकै उद्देश्यले सञ्चालन गरिएको हाउजीबाट क्लबले १६ लाख रुपैयाँभन्दा बढी बचत गरेको छ। क्लबले फिक्कलमा पत्रकार सम्मेलन गरी हाउजी कार्यक्रमको आयव्यय सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार हाउजीका लागि बिक्री गरिएका १० हजार १०४ वटा टिकटबाट ४२ लाख ७४ हजार ३३० रुपैयाँ आम्दानी भएको छ। त्यस्तै, ४२ जना दाताबाट ३ लाख ५२ हजार ५५२ रुपैयाँ सहयोग प्राप्त भएको क्लबले जनाएको छ। हाउजीमा पुरस्कार वितरणतर्फ २४ लाख ७३ हजार ५०० रुपैयाँ र कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा ५ लाख ४९ हजार ८०० रुपैयाँ खर्च भएको छ। कुल आम्दानी ४६ लाख २६ हजार ८८२ रुपैयाँमध्ये खर्च कटाएर १६ लाख ३ हजार ५८२ रुपैयाँ बचत भएको छ ।
क्लबले फिक्कल बजारमा दुई चरणमा हाउजी सञ्चालन गरेको थियो। पहिलो चरण २०८३ कात्तिक २ देखि ९ गतेसम्म र दोस्रो चरण कात्तिक २१ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो। हाउजीबाट संकलित रकम खेलमैदान निर्माण अभियानमा उपयोग गरिने क्लबले जनाएको छ। सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट करिब ७ सय मिटर दूरीमा रहेको रमितेमा निर्माण गर्न लागिएको उक्त खेलमैदानका लागि क्लबले १९ रोपनी जग्गा खरिद गरिसकेको छ।
व्यवस्थित र सुविधासम्पन्न फुटबल मैदान निर्माण गर्ने योजनालाई क्लबले दीर्घकालीन सपनाका रूपमा अघि बढाएको हो। खेलमैदान निर्माणका लागि आर्थिक वर्ष २०८२र८३ मा कोशी प्रदेश सरकारको सुशासन तथा योजना समिति सभापति खगेश्वरी पौड्याल ९बन्दना अधिकारी० को विशेष पहलमा सांसद क्षेत्र विकास कोषबाट १० लाख रुपैयाँ र सूर्योदय नगरपालिकाबाट थप १० लाख रुपैयाँ बजेट विनियोजन भएको क्लबले जनाएको छ।
प्रस्तावित मैदान निर्माण सम्पन्न भएपछि सूर्योदय नगरपालिका र आसपासका क्षेत्रका फुटबल खेलाडीले नियमित अभ्यास तथा प्रतियोगिता सञ्चालनका लागि सुविधासम्पन्न खेलस्थल पाउने अपेक्षा गरिएको छ। यसले स्थानीयस्तरमा फुटबलको विकास, नयाँ प्रतिभाको पहिचान र खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने क्लबका अध्यक्ष चन्द्र बहादुर फागोले जानकारी दिए ।