श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालको अस्तित्व, राष्ट्रियता र मौलिक पहिचान जोगाउँदै देशको विकास गर्न नेपाली राजनीतिक सिद्धान्तका रूपमा ‘हर्कवाद’को जन्म भएको बताउनु भएको छ ।
श्रम संस्कृति पार्टी सूर्योदय नगर कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले हर्कवाद नेपाली जनताको वास्तविक भोगाइ, नेपालको शासन व्यवस्थाको ऐतिहासिक पृष्ठभूमि, राष्ट्रिय एकता र भावी पुस्तामा राष्ट्रप्रेमको भावना विकास गर्ने विचारमा आधारित रहेको बताउनुभयो ।
विदेशी राजनीतिक सिद्धान्तको नक्कल गरेर मात्रै नेपालको विकास सम्भव नहुने उहाँको भनाइ थियो । आफूले स्थापना गरेको पार्टीलाई लिएर व्यङ्ग्य गर्नेहरूप्रति टिप्पणी गर्दै साम्पाङले नेपाली माटो, श्रम र संस्कृतिसँग जोडिएको राजनीतिक विचार आवश्यक रहेको बताउनुभयो । उहाँले देशको श्रम र श्रमिकलाई उत्पादन तथा परिणामसँग जोड्न नसक्नु नै विकासको प्रमुख चुनौती रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष साम्पाङले सरकारका कामकारबाही र सुरक्षा निकायको अवस्थाप्रति पनि टिप्पणी गर्नुभयो । देशको सुरक्षा संगठनलाई नै दबाबमा राखिएको आरोप लगाउँदै उहाँले दुई–दुई जना प्रहरी महानिरीक्षक ९आईजीपी० राख्नुपर्ने अवस्थाप्रति व्यङ्ग्य गर्नुभयो । अब देशमा कुन दिन दुई जना प्रधानमन्त्री हुने हुन् भन्ने थाहा नहुने अवस्था आउन सक्ने भन्दै उहाँले राजनीतिक अस्थिरताप्रति कटाक्ष गर्नुभयो ।
श्रम संस्कृति पार्टी भनेको श्रम, संस्कृति, विधि, निति, अनुशासन पद्यतीबाट चल्ने हुँदा कसैले एक पैसाको हिसाब तलमाथी गरे त्यही दिन पार्टीले उस्को हिसाब किताब गरिदिने बताउनुभयो ।नेता भएर घर गाडी जग्गा जोड्छु भन्ने सपनाले कोही नजोडीन पनि अनुरोध गर्नुभयो ।
नेपालको सबैभन्दा ठूलो सम्पत्ति श्रम र संस्कृति भएको उल्लेख गर्दै साम्पाङले यसको संरक्षण र प्रवर्द्धनका लागि देशव्यापी एकता र सहकार्य आवश्यक रहेको बताउनुभयो । आगामी निर्वाचनमा जनताले अञ्जुलीमा रहेको माटो चुनाव चिह्नमा मतदान गरेर आफ्नो जवाफ दिने उहाँको भनाइ थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष लोकनाथ चुँडालले जाति, धर्म, रगत, पसिना र समुदायका आधारमा विभाजन गर्ने प्रवृत्तिले समाजमा अराजकता निम्त्याइरहेको बताउनुभयो । समाजलाई विभाजन गरेर राजनीतिक स्वार्थ पूरा गर्न खोज्नेहरूविरुद्ध जनता सचेत हुनुपर्ने उहाँको भनाइ थियो । जनताको भावना, चाहना र विचारको एकतामाथि प्रहार गर्ने तथा समाजलाई विभाजन गर्ने संरचनागत प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
यसैबीच, श्रम संस्कृति पार्टीले सूर्योदय नगरपालिकाको आगामी निर्वाचनका लागि नगर प्रमुखको उम्मेदवार सार्वजनिक गरेको छ । कार्यक्रममा पार्टीका तर्फबाट जहरसिंह राईलाई सूर्योदय नगरपालिकाको मेयर पदको उम्मेदवारका रूपमा घोषणा गरिएको हो ।
उम्मेदवार राईले समृद्ध सूर्योदय निर्माणका लागि श्रम र संस्कृतिलाई एकसाथ अघि बढाउने बताउनुभयो । स्थानीय स्रोत तथा साधनको अधिकतम उपयोग गर्दै उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता दिएर आफू अघि बढ्ने उहाँको प्रतिबद्धता थियो । स्थानीय सम्भावनालाई पहिचान गरी श्रमसँग उत्पादन र उत्पादनसँग रोजगारी जोड्न सके मात्रै नगरको समृद्धि सम्भव हुने उहाँको धारणा थियो ।
कार्यक्रममा सोनाम यल्मोले सूर्योदय नगरपालिकाबाट विभिन्न राजनीतिक दल परित्याग गरी ३०० भन्दा बढी श्रमदाता श्रम अभियानमा जोडिएको जानकारी दिनुभयो । श्रम र उत्पादनलाई केन्द्रमा राखेर अघि बढिरहेको अभियानमा स्थानीयको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो ।
श्रम, संस्कृति, राष्ट्रियता र उत्पादनलाई राजनीतिको मूल आधार बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा पार्टीका श्रमदाताहरूको उल्लेखनिय सहभागिता रहेको थियो । हिजै इलाम नगरपलिकामा पनि हातेमालो कार्यक्रम सम्पन्न गरीएको छ ।