फिक्कल: दसैं–तिहारको समयमा इलाम बजार र फिक्कल बजारमा सञ्चालन हुँदै आएको हाउजी (बिङ्गो) खेल प्रशासनले रोकिदिएपछि स्थानीयले पुनः सञ्चालन गर्न माग गरेका छन् ।
प्रशासनले जुवाजन्य गतिविधि नियन्त्रण गर्ने भन्दै हाउजी रोक्ने निर्णय गरेपछि स्थानीय तथा आयोजकले भने हाउजी इलामको लामो समयदेखिको सामाजिक तथा मनोरञ्जनात्मक परम्परा भएको भन्दै यसलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न दिनु पर्ने माग गरेका हुन ।
स्थानीयका अनुसार इलाममा करिब ६५ वर्षदेखि हाउजी खेल्ने चलन रहँदै आएको छ। दसैं–तिहारको समयमा घरबाहिर रहेका इलामेली समेत फर्किएर भेटघाट गर्ने, मनोरञ्जन गर्ने र सामाजिक गतिविधिमा सहभागी हुने माध्यमका रूपमा हाउजी स्थापित भएको उनीहरूको भनाइ छ।
इलाममा हाउजीलाई सामाजिक कामसँग जोडेर सञ्चालन गरिएको उदाहरण समेत छन्। विगतमा हाउजीबाट संकलित रकमबाट नेपाल पत्रकार महासंघ इलामको भवन, चोकबजारको प्रहरी–पब्लिक टावर तथा ब्लड बैंक भवन निर्माणमा सहयोग पुगेको गतिलो उद्दाहरण छ। फिक्कलमा समेत खेलमैदानका लागि जग्गा खरिद तथा निर्माण कार्यमा हाउजीबाट सहयोग गरिएको जनाइएको छ। युनाइटेड फिक्कल क्लबले हाउजीबाट बचेको रकमले फिक्कलमा १८ रोपनी जमिन खेलमैदानका लागि किन्दा सहयोग पुगेको क्लबका अध्यक्ष चन्द्र फागोले जानकारी दिनु भयो । उहाले पारदर्शी भएर खेल संचालन गरिएको जानकारी दिदै सामाजिक काम गर्नका लागि संचालन गरिएको खेल रोक्दा खेल मैदान निर्माणको काममा बाधा पर्ने बताउनु भयो । हाउजीबाटै संकलित रकमले निर्माण गरिएको प्रहरी–पब्लिक टावरमा अहिले पनि प्रहरी बसी रहेको छ । फिक्कल बजारमा राखीएका ट्राफिक ब्यारिकेट समेत हाउजीबाटै संकलित रकमबाट खरिद गरी राखीएको उद्दाहरण छ ।
स्थानीय भने हाउजीलाई पूर्ण रूपमा रोक्नुभन्दा सरकारी निगरानी, स्पष्ट नियम, पारदर्शी आर्थिक कारोबार र स्वीकृत प्रक्रियासहित सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने पक्षमा छन्।
‘हाउजी हाम्रो पुरानो सामाजिक परम्परा हो। गलत ढंगले सञ्चालन भएको भए त्यसलाई नियमन र पारदर्शी बनाउनुपर्छ, तर परम्पराकै रूपमा चलिआएको गतिविधि नै बन्द गर्नु समाधान होइन,’स्थानीय राजन प्रधानले भन्नु भयो ।
यसअघि पनि इलाममा हाउजीको आर्थिक पारदर्शितामाथि प्रश्न उठेको थियो। २०८० सालमा सञ्चालन गरिएको हाउजीमा ४१ दिनमा करिब ४८ लाख ६७ हजार रुपैयाँको कारोबार भएको आयोजकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। त्यसको आय–व्यय तथा टिकट बिक्रीको पारदर्शितामाथि स्थानीयले प्रश्न उठाएका थिए।
इलाममा हाउजीलाई पुरानो मनोरञ्जनात्मक परम्पराका रूपमा लिइने गरेको छ। दसैं–तिहारमा हाउजीमार्फत भेटघाट र मनोरञ्जन गर्ने चलन लामो समयदेखि रहेको बताइएको छ।
यसपटक भने प्रशासनको रोकपछि हाउजीलाई जुवाजन्य गतिविधिका रूपमा हेर्ने कानुनी पक्ष र स्थानीय सांस्कृतिक–सामाजिक परम्पराका रूपमा हेर्ने पक्षबीच बहस सुरु भएको छ।
स्थानीयको माग छ– हाउजी पूर्ण रूपमा बन्द गर्नेभन्दा यसको कानुनी आधार स्पष्ट गरी, सरकारी स्वीकृति, पारदर्शी हिसाब–किताब, पुरस्कारको स्पष्ट व्यवस्था र निगरानीसहित सञ्चालनको वातावरण बनाइयोस्।
अब प्रशासनले हाउजीमाथि लगाएको रोकको कानुनी आधार र स्थानीयको मागबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने देखिएको छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ मा मेला महोत्सव र मनोर१जनात्मक खेल संचालनको अनुमति स्थानीय सरकारले दिने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार सूर्योदय नगरपालिकाले सामाजिक कामका लागि फिक्कलमा हाउजी खेलाउन अनुमती दिएको थियो । प्रशासनको काम शुरक्षा ब्यवस्था मिलाउने हो । अनुमति दिने स्थानीय सरकार र रोक्ने सुरक्षा निकाय हुदै गर्दा स्थानीय र संघीय सरकार बिच थप दुरी बढने समेत देखिएको छ । फिक्कलका युवा युवराज बस्नेतले सामाजिक कामका लागि खेलाइएको हाउजी खेल तत्काल संचालन गर्नका लागि प्रशासन लचिलो बन्नु पर्ने बताउनु भयो । इलाम र फिक्कलको हाउजी रोकीए पछि इलाम र फिक्कलमा बिभिन्न टिक्का टिप्पणी हुन थालेका छन । सीमा क्षेत्रमा रातदिन अवैध कारोबार हुँदा त्यसको संरक्षण गर्ने सुरक्षा निकायले खुल्ला ठाउमा खेलाईएको मनोरञ्जनात्मक खेल हाउजीलाई जुवाजन्य भनी रोक्न नमिल्ने स्थानीयको माग छ ।
इलामको फिक्कलमा संचालिन हाउजी खेलबाट बिगतमा रसुवाको भिषण बाढी पीडित तथा विपन्न वर्गलाई नगद तथा खाद्यान्न सामग्री सहयोग इलाम जिल्लामा गएको बाढी तथा पहिरोका कारण विस्थापित र प्रभावित परिवारलाई खाद्यान्न र नगद सहयोग गरिएको थियो भने फिक्कलमा खेल मैदान बनाउनको लागि १८ रोपनी जग्गा खरिद गरिएको छ।