फिक्कल : गुन्द्रुक,सिस्नो,बेसार,मह, चिया , कुचो जस्ता कृषिजन्य बस्तुको ब्राण्डिङ गरी बजारीकरण गरीरहेको इलामको रोङ गाउँपालिकाले करेलाको ब्राण्डिङ गरी बजारमा ल्याएको छ ।किसानले उत्पादन गरेको बस्तुलाई ब्यवस्थित रुपमा ब्राण्डिङ गरी बजारमा लगेर उचित मुल्यमा बिक्री गर्नका लागि गाउँपालिकाले करेलाको ब्राण्डिङ गरी बजारमा ल्याएको हो ।
गाउँपालिकाले करेलाको ब्राण्डिङ (सुकुटी निर्माण) गरी बजारमा ल्याएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिनु भयो । बेमौसममा पनि उपभोक्ताको आवश्यक्क्तालाई मध्यनजर गरेर तिते करेलालाई सुकाएर प्याकेजिङ्ग , ब्राण्डिङ्ग गरी बजारमा ल्याएको अध्यक्ष स्याङ्बोले जानकारी दिनु भयो ।गाउँपालिकाले यो बर्ष २०० किलोग्राम सुख्खा करेला तयार गरी बजारमा ल्याइएको छ ।‘करेलाको अध्ययन , अनुसन्धान गर्दा अत्यान्तै सफल भएको छ, अर्को बजार ठूलो मात्रामा उत्पादन बृद्धि भएर जाने छ’अध्यक्ष स्याङ्बोले भन्नु भयो ।
बजार मूल्य कम हुदा एक सिजनमा ५० हजार किलोग्राम काचो करेला प्रशोधन गर्न सक्ने उद्योग गाउँपालिकाले निर्माण गरीरहेको छ । अब आउने सिजनबाट किसानको उत्पादित करेला प्रशोधन गर्न सक्ने अवस्थामा गाउँपालिका रहेको स्याङ्वोले बताउनु भयो ।रोङ तिते करेलालाई गुन्द्रुक संग मोलेर अचारको रुपमा खाना पनि सकिन्छ । प्याकेजिङ भएको तिते करेलालाई तातोपानीले ५÷१० मिनट भिजाएर पुरानै स्वरुप तथा स्वादमा लगेर विभिन्न तरिकाले पकाएर खाना सकिनेछ ।
रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले नै प्रसोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आउनु भएका का रोङ ३ प्युरेका लल्मी लाप्चाले बताउनु भयो । गाउँपालिकाले यस अघि नै रोङ गुन्द्रुक,सिस्नो,बेसार,मह, चिया , कुचो जस्ता कृषिजन्य बस्तुको ब्राण्डिङ गरी बजारीकरण गरीरहेको छ र रोङको गुन्द्रुक र मह अहिले माग बढी भए पछि उपभोक्ताको आवश्यक्ता पुरा गर्न कठिन छ । गुन्द्रुक र मह उत्पादन कम भएर माग बढी भए पछि बजारमा अभाव भएको पाइन्छ ।