प्रेम अधिकारी
पशुपतिनगर(इलाम)
चिया निर्यातको ठूलो हिस्सा ओगटेको भारतमा बर्षेनी चिया निर्यातमा समस्या आउन थालेपछि इलामका चिया ब्यवसायीले चिया निर्यातका लागि बैकल्पिक उपायको खोजी गर्न थालेका छन् ।
भारतले बर्षेनी नेपाली चिया निर्यातमा बिभिन्न बहाना बनाएर अंकुश लगाउन थालेपछि चिया क्षेत्रका सरोकारवालाले चिया निर्यातका लागि अन्य मुलुकमा बैकल्पिक उपायको खोजी गर्न थालेका हुँन ।
इलामको सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको पहलमा सूर्योदय टी प्रोर्डयुस प्रा.लि. का डिल्लीराम श्रेष्ठको संयोजकत्वमा काठ्माण्डौं गएको चिया उद्योगीको प्रतिनिधि मण्डलले श्रीलंका र दुवईमा चिया निर्यातका लागि पहल थालेको छ । उक्त प्रतिनिधि मण्डल सहित अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिले नेपालका लागि दुवईका राजदुत सईद हमदान अल्नाक्बी र नेपालका लागि श्रीलंकाका राजदुत मार्सल शुर्दसन पाथिरना संग भेट गरी नेपालको अर्थोडक्स चिया निर्यातका लागि छलफल भएको सूर्योदय टी प्रोर्डयुस प्रा.लि.का सचिव तथा चिया उद्योगी गोपाल कट्टेलले जानकारी दिनु भयो । उहाका अनुसार छलफलमा अर्थ मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे र परराष्ट्र मन्त्रालयका सह–सचिव अमृत राई लगायतको सहभागीता रहेको थियो । छलफलमा नेपाली चिया निर्यात गर्नका लागि दुबै देशले पहल थाल्ने सहमती भएको छ । दुबै देशमा नेपाली चिया निर्यात गर्नका लागि राजदुत मार्फत अर्थ र परराष्ट्र मन्त्रालयले पहल थाल्ने सहमती भएको सचिव कट्टेलले जानकारी दिनु भयो ।
श्रीलंकाले बार्षिक रुपमा बिश्वमै सबै भन्दा बढी २८ करोड किलोग्राम चिया निर्यात गर्ने गरेको तथ्याङ छ । सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले बिश्वमै बढी चिया निर्यात गर्ने श्रीलंकाको अभ्यास बारे छलफल भएको जानकारी दिनु भयो । उहाले नेपाली चिया गुणस्तरीय भए पनि बिश्व बजारमा लैजान नसक्दा बर्षेनी समस्या आउने गरेका कारण भारतको मात्र भर नपरी अन्य देशमा चिया निर्यातका लागि ब्यवसायीकै सक्रियतामा पहल शुरु भएको बताउनु भयो । नगर प्रमुख राईले दुवईको डी.एम.सी.सी. कम्पनीले बिश्वका १३ वटा देशमा चिया खरिद गरी बिक्री गरीरहेकाले राजदुतको पहलमा उक्त कम्पनी मार्फत नेपालको अर्थोडक्स चिया निर्यातका लागि पहल थालिएको जानकारी दिनु भयो । ‘ करौडौं किलोग्राम चिया खरिद गर्ने यस देशमा कसरी नेपालले सिधै प्रबेश पाउन सक्छ र कुटनीतिक पहल वा निजी व्यवसायीले कुन विधिबाट जान उपयुक्त हुन्छ भन्ने बारेमा छलफल भएको छ ।’नगर प्रमुख राईले भन्नु भयो ।
भारतले नेपाली चियालाई गुणस्तरहिन र बिषदीको मात्रा बढी भएको भन्दै पटकपटक निर्यात रोक्दा पनि नेपाली चिया भारतमै बेच्नु पर्ने बाध्यता अहिले सम्म रहेको छ । हाल सम्म १५ प्रतिशत अर्थोडक्स चिया नेपालमा खपत हुने गरेको छ भने वाँकी चिया भारत लगायत अन्य मुलुक जाने गरेको छ ।
राष्ट्रिय चिया तथा कफी बिकास बोड चिया बिस्तार योजना फिक्कलका चिया प्राविधिक नविन कोइरालाका अनुसार बार्षिक रुपमा इलाममा मात्र ६७ लाख ५७ हजार ५७६ किलोग्रम अर्थोडक्स चिया उत्पादन हुने गरेको छ । नेपालमा बार्षिक रुपमा दुई करोड ६३ लाख किलोग्राम अर्थोडक्स चिया उच्पादन हुने गरेको प्रविधिक कोइराले जानकारी दिनु भयो ।
सन् २००० देखि २०१५ सम्मको प्राप्त तथ्याङ्क अनुसार चियाको आन्तरिक बजार तथा प्रति व्यक्ति उपभोग वार्षिक ११ प्रतिशतका दरले बृद्धि भइरहेको देखाउँछ । तर , कफी लगायत अन्य प्रतिस्पर्धी पेय पदार्थको उपभोग बढ्दै जादा सन् २०२५ सम्ममा नेपालमा चिया उपभोगको वार्षिक वृद्धीदर ५देखि ८ प्रतिशतमा झर्न सक्ने अनुमान गरेको पाइन्छ ।