प्रेम अधिकारी ,पशुपतिनगर(इलाम)
इलाममा दुई सय बर्ष लामो इतिहास बोकेको निसान पदमार्ग पहिचान गरी कार्यान्वयनका लागि अन्तिम रुप दिइने तयारी भएको छ ।
नेपाल–अग्रेज युद्धपछि बिक्रम संवत १८७२ फागुन २० गते भएको सुगौली सन्धिपश्चात नेपाली सेनाले इलाम सदरमुकाममा निसान ल्याउन प्रयोग गरीएको मार्गलाई नेपाली सेनाको समन्वयमा स्थानीय पालिकाले पहिचान गरी कार्यान्वयनका लागि अन्तिम रुप दिने तयारी थालिएको हो ।
इलामको गडिथुम्कामा रहेको रणसार्दुल गणको पहलमा सूर्योदय नगरपालिका, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाको पहलमा नेपाल भारत सीमाना जोडीएको मेची नदिको मुहान देखि इलामको निशान स्थापना गरीएको माईस्थान मन्दिर सम्मको ४१ किलोमिटर पदमार्गको पहिचान गरी कार्यान्वयनका लागि तीनवटै पालिकाको कार्यपालिका बैठकबाट अनुमोदन गर्न कार्यदलले पेश गरेको निशान पदमार्ग पहिचान कार्यदलका सदस्य सचिव खेमराज राईले जानकारी दिनु भयो ।
आईतबार सूर्योदय नगरपालिका, इलाम नगरपालिका , माईजोगमाई गाउँपालिका र नेपाली सेना सहितको प्रतिनिधिको बैठकले कार्यदलले पहिचान गरेको पदमार्गलाई केहि परिवर्तन गरी पालिकाहरुले अनुमोदन गर्ने गरी प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यदलका संयोजक टीकाराम सुब्बा लाप्चाको संयोजकत्वमा बसेको बैठकमा कार्यदलले भारतको नागरीगडी देखि, नेपाल भारत सीमा क्षेत्र सात माइल(मेची मुहान), सिद्धिखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईवेनी, तिल्केनी हुँदै माइस्थान मन्दिर सम्मको जीआईएस नक्सा तयार गरी सार्वजनिक गरीएको थियो । कार्यदलका सदस्य तथा सूर्योदय नगरपालिकाका आर्कीटेक इन्जिनियर सिर्जन गदालले ४१ किलोमिटर क्षेत्रमा तीन पालिकाका प्रतिनिधिले केहिदिन अघि पैदल यात्रा गरी बिभिन्न इतिहास खोजेर निशान पदमार्गको पहिचान गर्ने काम भएको जानकारी दिनु भयो।
पदमार्गले सबैभन्दा बढी क्षेत्र सूर्योदय नगरपालिकामा ओगटेको छ । प्रतिवेदन अनुसार सूर्योदय नगरपालिकामा २६ दशमलब १३ किलोमिटर, माईजोगमाई गाउँपालिकामा १० दशमलब, ७८ किलोमिटर, र इलाम नगरपालिकामा चार दशमलब १९ किलोमिगर क्षेत्र ओगटेको कार्यदलका सदस्य सचिव राईले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा उल्लेख छ । भारतको नागरीगडी देखि मेची मुहान सम्मको दुरी १६ दशमलब पाँच किलोमिटर रहेको छ । नागरीगडीमा अझै पनि गडी मन्दिर लगायत एतिहासीक बस्तु रहेको अध्ययन टोलीले जनाएको छ ।नेपाल तर्फको पदमार्गलाई कार्यदलले नौै खण्डमा बिभाजन गरेको छ । कार्यदलका संयोजक लाप्चाले गर्विलो इतिहास खोज्ने काम भएको बताउदै इतिहास नमेटीने गरी पदमार्गको पहिचान गरीएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘दुई सय बर्ष पुरानो इतिहास भएकाले सबै कुरा थाहा पाउन निक्कै कठिन छ, पदमार्गको पहिचानले यहाँको पर्यटनमा अवस्य टेवा पुग्ने देखिन्छ ।’सूर्योदय नगरपालिकाका उप प्रमुख दुर्गा कुमार बरालले इतिहास संग जोडिएको बिषय भएकाले इतिहास नमेटीने गरी पदमार्ग निर्माण गर्नु पर्ने बताउनु भयो ।‘तत्कालिन समयमा गोर्खाली सेना फिर्ता भएको पदमार्ग भएकाले त्यतिबेलाका गोरेटो बाटोको पहिचान गरेर कायम गर्ने काम गर्नु पर्छ’उप प्रमुख बरालले भन्नु भयो ।
कार्यदलले प्रतिवेदनमा केहि स्थानमा गोरेटो बाटोको नमुना समेत नरहेकाले तीनवटै पालिकाले आफनो कार्यक्षेत्र भित्र तत्काल पदमार्गको संरचना निर्माण गर्न सुझाव दिएको छ । कार्यदलले तीनवटै पालिकाका बिभिन्न स्थानमा साईनबार्ड राख्ने समेत निर्णय गरेको छ । रणसार्दुल गण इलामका सेनानी कुमार लम्सालले इतिहास राखेर पदमार्ग निर्माण गर्दै त्यसको स्तर बृद्धि गर्नु पर्ने बताउनु भयो । सेनानी लम्सालले भन्नु भयो‘भविश्यमा यो पदमार्ग पर्यटकीय गन्तब्य बनी ब्यवसायीक बन्ने देखिन्छ, जसका लागि पालिकाहरुले बढी दायित्व बहन गर्नु पर्दछ ।’
आगामी बिजय दशमीको गटस्थापनाका दिन पदमार्गको उदघाटन गरीने रणसार्दुल गण इलामका गणपति प्रलाद घलेले जानकारी दिनु भयो । नेपाली सेनाले आउदो असोज एक गतेबाटै उक्त मार्गमा पैदल यात्राको काम थाल्ने भएको छ । तत्कालिन माओवादी द्धन्दकालमा काठमाण्डौ लगिएको निशान केहि बर्ष अघि नेपाली सेनाको पहलमा इलामको माइस्थान मन्दिरमा ल्याएर राखिएको थियो।
तत्कालीन नेपाल–अंग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम भयो । त्यसपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा आएर बसेको इतिहास छ ।मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम पूर्णेडाँडा ल्याउनु भएको इतिहास छ । पूर्णेडाँडा भारतीय सीमानजिक भएको र अंग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्नेक्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर १८८० सालमा स्थापना भएको अनुमान छ । हाल निशान उक्त मन्दिरमा संरक्षण गरी राखिएको छ ।गोरखापत्र दैनिकबाट