फिक्कल: इलामको सूर्योदय नगरपालिकाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि बिभिन्न प्रयास गरीरहेको छ । प्रविधिमैत्री शिक्षामा जोड दिदै नगरले शैक्षिक गुणस्तर सुधारका लागि बिभिन्न नविन्तम कार्यक्रम संचालन गर्दै आएको छ । पछिल्लो समय नगरपालिकाले प्रधानाध्यापकलाई चलायमान बनाउदै शिकाई उपलब्धी आदानप्रदान गर्नका लागि नगरका सामुदायिक बिद्यालयमा प्रधानाध्यापक नविन अध्ययन मंञ्च गठन गरेको छ ।सोमबार नगरपालिकामा आयोजित एक कार्यक्रममा हिमालयन माध्यमिक बिद्यालयका प्रधानाध्यापक कुल बहादुर इङ्सामको संयोजकत्वमा १३ सदस्यीय मञ्च गठन गरेको हो ।
मंञ्चले बिद्यालयमा देखिएका समस्या केलाएर सुझाव सहित नगरपालिकामा उपलब्ध गराउने लक्ष्यका साथ नगरले कार्यक्रम शुरु गरेको छ । नगरले प्रधानाध्यापक नविन मञ्च गठनको निर्देशिका निर्माण गरी काम शुरु गरेको नगरको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले जानकारी दिनु भयो । मञ्चको नेतृत्व एक जना प्रअले एक महिना गर्न पाउने ब्यवस्था गरीएको छ । अर्को महिना मञ्चको संयोजक रहेको बिद्यालयमा कार्यक्रम गरी अर्को बिद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्ने जनाईएको छ ।
माध्यमिक तहमा गठन गरीएको प्रअ मञ्च निम्न माध्यमिक र आधारभूत बिद्यालयमा समेत गठन गरीने शाखा प्रमुख भट्टराईले जानकारी दिनु भयो । मञ्चले संचालन गर्ने कार्यक्रमका लागि नगरले आर्थिक सहयोग गर्ने नगरले जनाएको छ । नगरपालिकाको शिक्षा शाखाले सोहि कार्यक्रमको अवसरमा शिक्षा युवा तथा खेलकुद शाखा र प्रधानाध्यापक बिच कार्य सम्पादन सम्झौता समेत गरेको छ । शाखा प्रमुख भट्टराईले बिद्यालयका प्रअ संग कार्य सम्पादन सम्झौता गर्नु भएको थियो । २ बर्ष अघि देखि नगरले प्रधानाध्यापक संग कार्य सम्पादन सम्झौता गर्दै आएको छ ।
कार्यक्रममा नगर प्रमुख रण बहादुर राईले प्रअ मंञ्च गठनले प्रधानाध्यापकलाई चलायमान बनाउने बताउनु भयो । उहाले नगरले सामाजिक बिकास र शिक्षा क्षेत्रमा जम्मा बजेटको ३२ प्रतिशत रकम बिनियोजन गरीएको जानकारी दिनु भयो । नगर प्रमुख राईले भन्नु भयो‘भौतिक पूर्वाधारमा २२ प्रतिशत बजेट राखेर शिक्षा क्षेत्रमा ३२ प्रतिशत बजेट राख्दा हामीले अरुलाई बुझाउन निक्कै समस्या भयो, शिक्षाको बिकाुसले मात्र समाज रुपान्तरण गर्न भन्ने हामो लक्ष्य हो ।’
नगर उप प्रमुख दुर्गाकुमार बरालले नगरले गरेका शिक्षाका सकारात्मक कामलाई एस.इ.इ.को नतिजा संग तुलना गर्न नहुने बताउनु भयो । उहाले नगरले शिक्षामा गरेको लगानीको प्रतिफल आउन समय लाग्ने बताउदै सकारात्मक सोच राख्नु पर्ने बताउनु भयो । कार्यक्रममा जनक माध्यमिक बिद्यालयका प्रधानाध्यापक बेनुभक्त खनाल र ज्योति माध्यमिक बिद्यालयका प्रधानाध्यपक दिपक पौडेलले काठ्माण्डौ महानगरपालिकाका बिद्यालयको अध्ययन गरी तयार गर्नु भएको प्रस्तुतीकरण गर्नु भएको थियो । सूर्योदय नगरपालिका बिभिन्न सात सूचकका आधारमा कोशी प्रदेशकै शिक्षा क्षेत्रमा उत्कृष्ठ पालिका हो ।