काठमाडौं : आगामी वैशाख १५ मा हुन गइरहेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट मिलन लिम्बूले उम्मेदवारी घोषणा गरेका छन् ।आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन् ।
राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध आफ्नो उम्मेदवारी भएको उनले बताए ।उनले भने, ‘राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहनेछु । यो उपनिर्वाचनमा मात्रै नभएर म इलामका नागरिकको सेवक बनेर जीवनभर सुख–दुःखमा सँगै उभिने वाचा गर्दछु ।’
उनले आफूलाई इलामेली जनताले जिताउने दाबी पनि गरे । उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम–२ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् । म इलामको माटोको कसम खाएर भन्छु, अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु ।’
विकास र समृद्धिको आशामा राजनीतिक दलका उम्मेदवारलाई बारम्बार जिताएर पठाए पनि उनीहरूले सधैँ जनताको मतको दुरुपयोग मात्रै होइन, मूल्य–मान्यताहरूलाई समेत कुल्चिएको उनको आरोप छ । उनले भने, ‘संविधान र संघीयता लागू भए पनि अझै केही राजनीतिक कार्यभार बाँकी छन् । स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने गरी शासकीय प्रणालीमा परिवर्तन गर्नु छ ।’
इलामेली नागरिकलाई जल, जंगल र जमिनको मालिक बनाउने यो अभियानमा साथ र सहयोगका लागि उनले अपिल गरेका छन् ।उनले आफू पहिचानको पक्षमा भएको भन्दै कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने पनि बताए । पहिचानको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘सबै अस्तित्वहरूको सम्मान गर्दै पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्नु छ । यी राजनीतिक कार्यभार पूरा गर्नका लागि तपाईँ–हामी एकताबद्ध हुनै पर्छ ।’
माओवादी केन्द्र निकट प्रेस सेन्टरका केन्द्रीय सचिव मिलन लिम्बु जनजाति पत्रकार महासङ्घका महासचिवका समेत हुन् । तर, उनले यसअघि नै माओवादी केन्द्रसँगको आबद्धता त्यागिसेका छन् ।सो क्षेत्रबाट निर्वाचित नेकपा एमालेका सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।