इलाम: कृषिमा भएको यान्त्रीकरण इलामका किसानका लागी बालि उत्पादन वृद्धि गर्न सहयोगी बनेको छ । परम्परागत रुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गर्दा कम लागतमा कृषि उत्पादनमा सहयोग पुगेको हो ।किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकरणतर्फ किसानको आकर्षण बढेको छ । सन्दकपुर ५ का अर्जुन भट्टराईले पुर्खौंदेखि खेत जोत्न प्रयोग हुँदै आएको गोरु पाल्न छाडेका छन् । भट्टराईले अहिले खेतबारी जोत्नका लागि गोरुको ठाउँमा पावर टिलर को प्रयोग गर्दै आएका छन् । कम श्रममा एकैपटक धेरै खेत जोत्न सकिने भएपछि गोरुको साटो पावर टिलर प्रयोग हुँदै आएको हो ।
गोरु पाल्नका लागि घरका घाँस काट्ने, खुवाउने र चराउने झन्झट पावर टिलरको प्रयोगले हटेको पावर टिलरको प्रयोग गरेपछि चार दिनको काम ६ घन्टामा पूरा हुने किसानको अनुभव छ । कृषि यन्त्रको सहयोगले कृषि कार्यले काममा सहज हुनुका साथै समयको बचत हुने गरेको हो । गोरुले जोत्दा दोहोर्याउनुपर्ने र डाल्ला फुटाउन खेताला खोज्नु पर्ने भएपनि पावर टिलरले जोत्दा एकै पटकमा हुने गरेको सूर्योदय नगरपालिकाका किसान दिपक भट्टराईले बताउनुभयो ।
पावर टिलरको प्रयोगले बारी जोत्दा कृषि उत्पादनमा विगतको तुलनामा वृद्धि हुने गरेको छ । पावर टिलरले जोतेको खेतमा माटो राम्ररी बन्ने भएकाले बाली धेरै उब्जनी हुने गरेको सन्दकपुर गाउँपालिकाका प्राविधिक सविन भट्टराईले बताउनुभयो । गोरुले जोतेकोभन्दा धेरै राम्रोसँग माटो जोतिने भएकाले रोपाइँ गर्दा पनि एकदमै छिटो र सजिलो हुने पावर टिलर संचालक लाक्पा तेन्जी सेर्पाले बताउनुभयो । किसानले ५ हर्जदेखि १० हर्जसम्मको पावर टिलरबाट खेत जोत्न प्रयोग गर्दै आएका छन् । पावर टिलरले जोतेको माटो मसिनो र एकनासले जोतिने भएकाले बाली लगाउनलाई सजिलो हुने र मेलो सजिलै सर्ने गरेको किसानको भनाइ छ । यसले कृषि उत्पादनमा समेत वृद्धि भएको सन्दकपुर ३ का कृषक खेमराज ढकालको भनाइ छ । धान, गहुँ लगायतका बाली भित्र्याउँदा विगतमा धेरै जनशक्ति प्रयोग गरेर बाली भित्र्याउनुपथ्र्यो ढकालले भने–‘गोरुको सहायताले दाईं गर्नुपथ्र्यो, खेतबाट खलियानमा ल्याउन र खलियानमा ल्याएको बाली घरमा भित्र्याउनका लागि पर्म गर्नुपर्ने अवस्था भएपनि अहिले खेतमै पावर टिलर, ट्र्याक्टरमा ट्राली जोडेर खलियानसम्म बाली ल्याउन सजिलो भएको छ । यन्त्रमा रिपर जडान गरेर धान गहुँ दाउन थ्रेसरको सहायताले छिटो काम गर्न इलामका किसानले थालेका छन् ।
कृषिमा परम्परागत साधनको प्रयोगले पहिलेपहिले मजदुरको सहयोग लिँदा धेरै खर्च हुने गरेको अनुभव भएपनि अहिले पावर टिलरको सहयोगले सहज भएको माई नगरपालिका ३ का किसान तेज बहादूर घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो–‘आधुनिक कृषि यन्त्रको प्रयोगले समय र लागतसमेत कम भएको छ । मजदुर पनि नपाइने भएकाले यन्त्रको प्रयोग गरेर खेती गर्दा कम लागतमा कृषिको उत्पादन लिन सकिएको छ घिमिरेले भन्नुभयो, “अब पहाडी क्षेत्रमा धान रोप्ने र काट्ने मेसिन पनि स्थानीय तहहरुले साझेदारीमा प्रदान गरे धेरै सहज हुनेछ ।
सन्दकपुर ५ इङ्ला जमुनाका लाक्पा तेन्जी सेर्पाले तीन वर्ष अघि आफ्नै खर्चमा ट्रयाक्टर खरिद गरि किसानको बारि जोत्दै आउनुभएको छ । सेर्पाले घण्टाको ७ रुपैयाँमा किसानको बारि जोत्दै आएका छन् । कृषिमा सहयोग पुगोस् भनेर पावर टिलर १ लाख १५ हजारमा ट्रयाक्टर खरिद गरि किसानको माग अनुसार खेतबारी खनजोत गर्दै आएको सेर्पाले बताउनुभयो । किसानको खेतबारी खनजोत गरेर पावर टिलर खरिद गर्दाको रकम एक वर्षमा नै उठाएको सेर्पाले बताउनुभयो ।
यन्त्रको प्रयोग भएपछि काममा सजिलो भएको मात्रै छनै, चुलाचुली किसान उद्धव न्यौपानेले भने–‘खनजोत गर्न ज्यालामा मजद्जुर खोज्न परेको छैन, घरपरिवारले मात्रै सजिलै काम गर्न सकेका छौँ ।व्यवसायिक खेती गर्ने अधिकांशले परम्परागत रुपमा प्रयोग गर्दै आएका कृषि साधनको साटोमा आधुनिक कृषियन्त्रको प्रयोग गरेकाले सबैलाई खेती गर्न किसानलाई सजिलो भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले बताउनुभयो ।
अहिले यान्त्रिक हलो प्रयोग गर्न थालेपछि गाउँघरमा व्यावसायिक खेती गर्नेको संख्या बढेको उहाँले बताउनुभयो । खतजोत गर्न सजिलो भएपछि ग्रामीण क्षेत्रका कृषकले वर्षभरि नै मौसमी र बेमौसमी तरकारी उत्पादनमा किसानलाई सहज भएको छ ।
व्यावसायिक किसानलाई छनोट गरी उत्पादकत्व बढाउन सहयोग पुगोस् भनेर स्थानीय तहहरुले ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गर्दै आएका छन् । किसानलाई आवश्यक परेका कृषि औजार माग गर्न किसानको जानकारीका लागि सूचना जारी गरेपछि किसानले मेसिन माग गरेअनुसार प्रक्रिया पु¥याएर कृषियन्त्र वितरण गर्ने काम हुँदै आएको इलाम नगरपालिका कार्यपालिका कुमारी लुवागुनले बताउनुभयो । त्यसमध्ये कम लागतमा साना व्यावसायिक किसानले किन्न सक्ने भएकाले अनुदानमा किसानले पावरटिलरको माग धेरै गरेका छन् ।
कृषि कार्यका लागि किसानले पावर टिलर र औजारको प्रयोग गर्न थालेपछि आम्दानीमा वृद्धि भएको र समयको बचत भएको किसानको भनाइ छ । पहाडी क्षेत्रमा कृषियन्त्र र औजारको प्रयोगले किसानलाई खेतीमा आकर्षण बढेको छ । जिल्लामा खनजोत गर्न पावर टिलरको प्रयोग बढेको छ भने गोरु र हलो विस्थापित हुने क्रममा छन् । जिल्लाको समथर फाँट भएको इलामको माई नगरपालिका, चुलाचुली गाउँपालिकामा ठूला ट्रयाक्टरको प्रयोग बढेको छ भने पहाडी, भिरालो र ससाना गरामा हाते ट्रयाक्टरको प्रयोग भएको पाइन्छ ।कार्यालयको योजना र मागअनुसारको सहयोग सरकारबाट प्राप्त भइरहेमा अबको पाँच÷सात वर्षमा जिल्लामा यान्त्रिक खेती प्रणाली विकास हुने कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बताउनुभयो । नेपाल टेलिभिजन