Hamropalika menu advertisement

फाकफोकथुममा ३५ दिनभित्र घटना दर्ता गराउनेलाई रकम

  • प्रकाशित मितिः June 29, 2025
  • हाम्रो पालिका
फाकफोकथुममा ३५ दिनभित्र घटना दर्ता गराउनेलाई रकम

फाकफोकथुम : इलामको पश्चिमी स्थानीय तह फाकफोकथुम गाउँपालिकाले ३५ दिन भित्रमा घटना दर्ता गराउनेलाई रकम प्रदान गर्ने भएको छ । पालिकाले कार्यविधि बनाएर रकम दिने भएको हो ।

बच्चा जन्मिएको ३५ दिन भित्र वडा कार्यालयमा जन्मदर्ता गर्नेलाई ३ हजार रुपैया र मृत्यु दर्ता गराउनेलाई ५ हजार प्रदान गरिने भएको हो । पालिकाको वडा नं ४ फुएतप्पामा गत साउन यता ३७ जनाले ३५ दिनभित्र जन्मदर्ता गराएको वडा सचिव सन्तोष खनालले जानकारी दिए ।

खनालका अनुसार १७ बालक र १५ बालिकाको जन्मदर्ता निधारित समयमा गरिएको हो । त्यसैगरी ३५ दिन भित्र मृत्यदर्ता गराउनेलाई समेत राहत रकम दिइने छ । समयमा मृत्युदर्ता गराउनेलाई ५ हजार रुपैया खर्च दिइने भएको हो ।

सो अनुसार वडामा गत साउन यता १८ जनाले समयमा मृत्यु दर्ता गराएका छन् । जसमा ११ महिला र ७ पुरुष रहेका छन् । वडा कार्यालयमा गत साउन यता १७ पुरुष र १२ महिलाको मृत्युदर्ता भएपनि समयमा गराउने १८ जनालाई मात्र राहत रकम दिइने भएको छ ।

पालिकाले गत बैशाख ११ गते कार्यपालिकाबाट कार्यविधि पारित गरेको छ । कार्यविधि राजपत्रमा प्रकाशित गर्न केही समय लाग्ने भएकाले जन्मदर्ता र मृत्युदर्ता गराउनेलाई असार मसान्त भित्रमा रकम प्रदान गरिसकिने वडाध्यक्ष पदम दलार्मी मगरले जानकारी दिए ।

त्यसैगरी सामाजिक सुरक्षा लाभग्राहीको मृत्यु भएमा वडाले समवेदना पत्र समेत दिने गरिएको मगरले जनाए ।

TOP