इलाम: इलामको माङसेबुङ गाउँपालिका ६ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ ।वर्षैदेखि बसोबास गर्दै आएका त्यहाँका ११० अव्यवस्थित बसोबासीलाई आइतबार माङमालुङमा आयोजित कार्यक्रममा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको भूमि समस्या समाधान आयोग इलाम अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । भूमि समस्या समाधान आयोगले माङसेबुङ गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको अध्यक्ष अधिकारीले बताए ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले लालपुर्जा हस्तान्तरण गरेर लालपुर्जा वितरण कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईहित, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा आयोगले माङमालुङ पुगेर भूमिहीनलाई लालपुर्जा वितरण गरेको हो ।
माङसेबुङ गाउँपालिकामा दुई हजार पाँच सय ३६ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिएकोमा एक सय १० जनाको निर्णय भएर आयतबार लालपुर्जा पाएका छन् । बाँकी ७८ जनाको पनि क्रमिक रुपमा नियम अनुसार नै लालपुर्जा वितरण गरिने उनले बताए ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन भूमि समस्या समाधान आयोगसँगको समन्वयमा काम गरिरहेको बताए । ‘आयोगको काममा हामी जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दलहरुले समेत जिम्मेवारपूर्ण तरिकाले काम गरिरहेका छौं,’ उनले भने, ‘सबैको सहयोगमा कामले तीव्रता पाएको छ । अहिले वडा नं। ६ मा वितरण गरिएको छ । अन्य वडामा पनि क्रमिक रुपमा धनीपुर्जा वितरण गरिनेछ ।’
पहिलो चरणमा अहिले इलामको माङसेबुङ गाउँपालिकासहित रोङ र चुलाचुली गाउँपालिका एवम् सूर्योदय र माई नगरपालिकामा भूमि सम्बन्धी समस्या समाधानका लागि प्रक्रियागत रुपमा काम भईरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष अधिकारीले बताए ।
यता वर्षौंदेखि जोतपोत र बसोबास गर्दै आएको जग्गाको लालपुर्जा हात परेपछि लाभग्राहीहरुले खुसी भएका छन् ।
इलाममा २२ हजार दुई सय ४० जनाको निवेदन दर्ता भएको भूमि आयोग इलामले जनाएको छ । जसमध्ये दुई सय १० भूमिहीन दलित, नौ सय १० भूमिहीन सुकुम्बासी २१ हजा एक सय ३० अव्यवस्थित बसोबासीले निवेदन दर्ता गराएको भूमि आयोग इलाम अध्यक्ष अधिकारीले जानकारी दिए ।