फिक्कल: इलामको सूर्योदय नगरपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम सम्बन्धी सरोकारवालासंग पूर्व बजेट छलफल गरेको छ । नगरपालिकाले आगामि आर्थिक बर्ष ०८२ ८३ मा कार्यान्वयन हुने नीति कार्यक्रम तर्जुमा गर्न गैसस, उपभोक्ता समिति, सहकारी संस्था, बुद्धिजिवि एवम संचारकर्मीहरुसंग छलफल गरेको हो । छलफलमा २२ जना सहभागिले सुझाव राखेका थिए ।
अधिकाँश सहभागिले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, चिया र पर्यटनका बिषयमा सुझाव राखेका थिए । कार्यक्रममा जनप्रतिनिधिहरुको उपस्थिती न्यून देखिएपछि कतिपय सहभागीहरुले नीति कार्यक्रमको प्रारम्भिक छलफलमा स्थानीय सरकारका प्रतिनिधिको सहभागिता न्युन भएको बिषयमा गुनासो समेत राखे । सहभागिहरुले नीति कार्यक्रममा समावेश भएका कतिपय कार्यक्रमहरु कार्यान्वयमा आउन नसकेको गुनासो समेत राखेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद शम्शेर राईले प्रदेशका सवालमा उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए । उनले स्थानीय तहले समानीकरण अनुदान भन्दा पनि आफ्नो आम्दानी बढाउन सुझाव दिए । राईले करको दर भन्दा पनि दायरा बढाएर स्थानीय सरकारले आम्दानी बढाउन सुझाव राखे ।
राईले डाँडाकाँडा रंग्याउँदैमा पर्यटन विकास नहुने भएकाले प्रदेश सरकारले लगानी गरेपछि आम्दानी दुवै तहलाई हुनुपर्नेमा जोड दिए । कार्यक्रममा उठेका नीति कार्यक्रमहरुलाई समावेश गर्नुपर्ने बिषयहरुको बारेमा नगर प्रमुख रणबहादुर राईले सम्बोधन गरे । उनले कतिपय नयाँ कार्यक्रमहरु समावेश गरेर अघि बढ्ने नगरको लक्ष्य रहेको बताए ।
उनले नगरले १ अर्ब ३५ करोड हाराहारीको बजेट ल्याउँदै आएको बताए । राईले दुग्द्य मुल्य निर्धारण स्थानीय तहले सहजीकरणको मात्र कार्य गर्ने बताए । उनले वन फडानीको जनगुनासो बढेपछि ३३ इन्च भन्दा कमको रुख काट्न नपाइने जनाए । राईले नगरपालिकाले सामाजिक सुरक्षामा समेत धेरै खर्च गर्नुपरेको बताए । उनले सामाजिक सुरक्षाको क्षेत्रमा ३६ करोड खर्च हुँदै आएको बताए ।
उनले शिक्षामा नगरले बार्षिक रुपमा ३५ करोड लगानी गर्दै नयाँ नयाँ कार्यक्रमहरुलाई प्राथमिकता राख्दै आएको बताए । उनले स्वास्थ्यको क्षेत्रमा ९ करोड लगानी गरेपनि जनताहरुबाट नगरपालिकाले केही नगरेको भन्ने गुनासो हुने गरेको बताए । कार्यक्रममा नगरपालिकाको नीति कार्यक्रमको प्रारम्भिक खाका बारे योजना अधिकृत खेम राईले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, पूर्व जनप्रतिनिधि, शिक्षासेवी, सहकारीकर्मी, पत्रकार लगायको उपस्थिती रहेको थियो ।