फिक्कल: इलामको कन्याममा निर्मााण भएको देशकै पहिलो चिया परीक्षण,प्रवद्र्धन तथा अनुसन्धान केन्द्र संचालनका लागि सूर्योदय नगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट) बिच केन्द्र संचालन गर्ने गरी संम्झौता भएको छ ।
कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको २१ करोड ६७ लाख नौ हजार पाँच सय २६ रुपियाँको लगानीमा सम्पन्न भएको चिया परीक्षण केन्द्र संचालन गर्नका लागि तर्फबाट नाष्टका उपकुलपति दिलिप सुब्बाको उपस्थितिमा नाष्टका सचिव डाक्टर रविन्द्र प्रसाद ढकाल र सूर्योदय नगरपालिकाको तर्फबाट नगरप्रमुख रण बहादुर राईले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भई केन्द्र संचालनका लागि सम्झौता गरीएको हो । सम्झौता अनुसार प्राविधिक जनशक्ति र आवश्यक उपकरणको ब्यवस्थापन गरी नगरको समन्वयमा केन्द्र संचालनका लागि नाष्टले दुई बर्षका लागि पहिलो चरणमा जिम्मेवारी लिएको छ ।
सम्झौता अनुसार नाष्टले नेपाली चियाको गुणस्तर मापनका लागि आधुनिक प्रयोगशाला (ल्याव) संचालन गर्ने, नेपालको चिया क्षेत्रको अनुसन्धान कार्यमा सहकार्य गर्ने सहमती भएको छ । यस्तै नगरपालिकाले स्थानीय स्तरमा चिया उत्पादनका लागि नीति नियम निर्माण गर्ने, ल्याव संचालनका लागि भवनको ब्यवस्था गर्ने, तीन तहका सरकारको समन्वयमा ल्याव संचालनका लागि उपकरणको ब्यवस्था गर्ने, सरकारी तवरबाट ल्याव संचालनका लागि बजेटको ब्यवस्थापन गर्ने गरी सम्झौता भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षरको अवसरमा चिया उद्योगी उदय चापाँगाईले स्थानीय चिया किसान र ब्यवसायीको मागलाई बुझेर केन्द्र संचालन गर्नु पर्नेमा जोड दिनु भयो । उहाले केन्द्र संचालन गर्दा सार्वजनिक नीजि क्षेत्र बिच साझेदारी(पीपीपी) गर्नु पर्ने बताउनु भयो । सूर्योदय टी एसोसिएसनका अध्यक्ष उत्तम कुमार प्रधानले केन्द्र संचालनमा आए पछि नेपाली चियाले उक्त केन्द्रमा गरेको परीक्षणले अन्तराष्ट्रिय बजारमा मान्यता पाउनु पर्ने माग राख्नु भयो ।
नाष्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले सम्झौता अनुसार ल्याव दुई महिना भित्रमा संचालनमा आउने जानकारी दिनु भयो । उहाले आवश्यक जनशक्तिका लागि बित्रापन गरेर जनशक्तिको ब्यवस्थापन गरी मेनीन उपकरण खरिद गरीने जानकारी दिनु भयो । डा. ढकालले भन्नु भयो‘केन्द्र संचालनका लागि स्थानीय चिया उद्योगीले केन्द्र संचालनका लागि आम्दानीको केहि प्रतिशत रकम केन्द्रको बास्केटमा जम्मा गर्नु पर्छ , अनि मात्र पीपीपी मोडलमा केन्द्र संचालन हुन्छ ।’नाष्टका उपकुलपति दिलिप सुब्बाले केन्द्रले प्राविधिक सहयोग बताउदै केन्द्र संचालनमा आए पछि चियाको गुणस्तर मापन गर्न सकिने जानकारी दिनु भयो ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले नेपालमै पहिलो पटक निर्माण भएको चिया परीक्षण केन्द्र निर्माण भए पनि मेसिन उपकरण र प्राविधिक जनशक्तिका लागि नाष्टको सहयोगमा मात्र संचालनमा आउने भएकाले नाष्ट संग सम्झौता गरेको जानकारी दिनु भयो । उहाले चियाको परीक्षण, चियाको जात परीक्षण र गुणस्तर मापन केन्द्रबाट हुन सके नेपाली चिया बिश्व बजारमा प्रतिक्ष्पर्धात्मक बन्ने बताउनु भयो । आर्थिक बर्ष २०७७÷ मा शुरु गरेको होटल , सेमीनार हल , क्याफे सहितको चिया परीक्षण केन्द्र को गत मंसिर २६ गते कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्काीले उद्घाटन गर्नु भएको थियो ।
चियाको राजधानी मानिने इलामको सूर्योदय नगरपालिका स्थित कन्याम चियाबगान भित्र निर्माण गरीएको चिया परीक्षण , प्रवर्धान तथा अनुसन्धान केन्द्र संचालनमा आए पछि भारतले बर्षेनी नेपाली चिया परीक्षणमा बिषादीको मात्रा देखाएर निर्यातमा लगाउदै आएको अंकुश हटने अपेक्षा गरीएको छ ।
कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाले आर्थिक बर्ष २०७७÷ मा शुरु गरेको होटल , सेमीनार हल , क्याफे सहितको चिया परीक्षण केन्द्र २१ करोड ६७ लाख नौ हजार पाँच सय २६ रुपियाँको लगानीमा आर्थिक बर्ष २०८०÷०८१ मा सम्पन्न भई उद्घाटन गरीएको थिययो ।
सूर्योदय नगरपालिकालाई चियाको राजधानीको रुपमा लिने गरीन्छ । देशमै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन गर्दै आएको नगरमा चिया परीक्षण केन्द्र निर्माणले ब्यवसायीलाई उत्साही बनाएको चिया उद्योगीको भनाई छ ।
नेपालले डेढदेखि दुई करोड किलोग्राम सीटीसी र करिब ६५ लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन गर्दै आएको चिया तथा कफी विकास बोर्डको तथ्यांक छ । ९० प्रतिशतभन्दा बढी सीटीसी र ८० प्रतिशत हाराहारीको अर्थोडक्स चिया भारत निकासी हुँदै आएको छ । जस मध्ये सबै भन्दा बढी अर्थोडक्स चिया सूर्योदय नगरपालिकामा उत्पादन हुदै आएको छ ।