फिक्कल: इलामको नेपाल भारत सीमावर्ती पशुपतिनगरमा रहेको सीमा प्रशासन कार्यालय र अध्यागमन कार्यालय अव एकै ठाउँबाट संचालन हुँने भएका छन । कात्र्तिक ८ गतेको मन्त्रिपरिषद बैठकले सीमा प्रशासन र अध्यागमन कार्यालय खारेज गर्ने र दुबै कार्यालयलाई एकै ठाउँबाट अध्यागमन तथा सीमा प्रशासन कार्यालयका रुपमा संचालन गर्ने निर्णय गरेको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा दुबै कार्यालयलाई नयाँ संरचनामा संचालन गर्ने गरी अध्यागमन तथा सीमा प्रशासन कार्यालय नाम राखेर संचालन गर्न मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको छ ।
सीमा प्रशासन कार्यालयले नागरिक्ता प्रदान गर्दै आएको छ । सीमा प्रशासन कार्यालयलाई बिस्तार गर्न समेत स्थानीय सरकारले पहल गरीरहेका छन । तर,बिदेशी नागरिकको गैरकानुनी गतिविधि तथा अध्यागमन तथ्याङक ब्यवस्थित गर्न र बिदेशी पर्यटकलाई सहजीकरणका लागि भन्दै स्थापना भएको अध्यागमन कार्यालय पाँच बर्ष देखि काम बिहीन अवस्थामा रहेको छ । मन्त्रि परिषद बैठकले काम बिहिन अध्यागमन कार्यालयका कर्मचारीका दरबन्दी समेत नयाँ संरचनामा तेरिज गर्न स्वीकृति दिएको छ ।
उक्त कार्यालयको छ बर्ष अघि तत्कालिन गृहमन्त्री रामबहादुर थापाले तामझामका साथ उद्घाटन गर्नु भएको थियो ।नेपाल भारत सीमानको पशुपतिनगर नाकामा अध्यागमन कार्यालय भए पनि भारत तर्फ अध्यागमन कार्यालय नहुँदा समस्या हुँदै आएको छ । भारत तर्फ अध्यागमन कार्यालय नहुँदा नेपालमा भिजा अनुमति लिएर आउने पर्यटक उक्त नाकाबाट आउदैनन । लामो समय बस्ने गरी भारत सहित तेस्रो देशका नागरिक भारत हुँदै नेपाल आए पनि पशुपतिनगर नाकाको सट्टा झापा काकडभिट्टा नाका भएर नेपाल प्रवेश गर्ने गरेका छन् ।
अभिलेखीकरण, भिजा जारी, नविकरण जस्ता कुनै काम नभए पछि अध्यागमन कार्यालय पशुपतिनगरका कर्मचारी बसेरै दिन बिताउदै आएका छन । बर्सौ देखि कर्मचारी बसेर दिन बिताउने गरेको बताउछन । काम नै नभए पछि उक्त कार्यालयमा दरबन्दी भएका कर्मचारीलाई झापा काकडभिट्टमा रहेको अध्यागमन कार्यालयमा समेत लगेर काम लगाउने गरिएको छ ।
लामो समय देखि पशुपतिनगरका ब्यवसायीले समेत भारत तर्फ अध्यागमन कार्यालय स्थापना गर्न माग गर्दै आएका छन । भारत तर्फ अध्यागमन कार्यालय स्थापना नहुँदा पशुपतिनगर नाका भएर नेपाल आउने पर्यटक झापा काकडभिट्ट जाने गरेका छन् । जसले गर्दा लामो समय देखि पशुपतिनगर बजारको चहलपहल समेत घटेको छ । सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईले राज्यले लगानी गरेर कार्यालय स्थापना गरे पनि काम बिहीन बन्नु राज्यकै लागि घाटा मात्र भएको बताउनु भयो । उहाले सरकारनै लागि परेर भारतमा अध्यागमन कार्यालय स्थापना गर्न पहल गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘भारततर्फ अध्यागमन कार्यालय स्थापना हुँने हो भने नेपाल आउने पर्यटकलाई धेरै सहज हुने छ र सीमानामा हुँने अवैध गतिविधि समेत नियन्त्रण गर्न सहज हुनेछ ।’ उहाले अध्यागमन नहुँदा नेपाली ट्रेडको बिस्तारमा समेत समस्या भएको बताउनु भयो ।
स्थानीयले भारत तर्फ कार्यालय स्थापनाको माग गर्दै नेपाल सरकार समक्ष पटक पटक ज्ञापन पत्र बुझाई सकेका छन । २०५६ सालमै पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरेर सीमा प्रशासन कार्यालयलाई कार्यालय संचालनको अख्तियारी प्रदान गरिएको थियो । बिचमा बन्द भएको कार्यालय छ बर्ष अघि स्थापना गरिए पनि काम बिहीन अवस्थाम नै रहदै आएको थियो ।