फिक्कल: इलाममा दुई सय बर्ष लामो इतिहास बोकेको निसान पदमार्गको उद्घाटन आउदो २३ गते गरीने भएको छ । भारतीय सीमा नाका सात माइलदेखि असोज २२ गते विहानदेखि नेपाली सेना सहितका सरोकारवालाले पैदल यात्रा शुरु २३ गते सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा निशान पदमार्गको उद्घाटन गरीने भएको हो । उद्घाटन पछि माईजोगमाईको नामसालिङ हुँदै उक्त टोलि निसान स्थापना गरीएको इलाम नगरपालिकाको माईस्थान सम्म पुग्ने छ ।
निशान पदमार्गमा हिड्ने पदमार्गीलाई सम्वन्धित वडाले संयोजन गरी अर्को वडालाई हस्तान्तरण गर्ने गरी कार्यक्रम तय भएको सूर्योदय नगरपालिकाका योजना अधिकृत खेमराज राईले जानकारी दिनु भयो । उक्त दिन पदमार्गमा नेपाली सेनाका ५० बढी, एनसीसीका बिद्यार्थी , जनप्रतिनिधि, पर्यटन ब्यवसायी र सरोकारवालले पैदल यात्रा गर्ने कार्यक्रम तय भएको छ । मंगलबार सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा बसेको बैठकले पदयात्रीलाई ब्यवस्थापन गर्न बिभिन्न निर्णय गरीएको छ । सूर्योदय वडा नं. २ का वडाध्यक्ष डिक बम्जनको अध्यक्षतामा रुट मर्मत सम्भार समिति गठन बनाइएको छ । समितिले पदमार्गको सबै भन्दा बढी क्षेत्र ओगटेको सूर्योदयमा रुटको मर्मतको काम गर्ने छ ।
यस अघि इलाम सदरमुकाममा सम्पन्न जिल्ला समन्वय समितिको सभाले निसान पदमार्गलाई पहिचान भएको रुटलाई अन्तिम रुप दिएर उद्घाटन गर्ने निर्णय गरेको थियो । सोहि अनुसार पदमागले छोएका सूर्योदय नगरपालिका , माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाले आफनो तयारी थालेका हुँन ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले उक्त पदमार्गले इतिहासको खोजी संगै पर्यटन पर्वधनमा सामुहिक प्रयासको थालनी भएको बताउनु भयो ।
माईजोगमाई गाउँपालिकाले आफनो क्षेत्रमा पर्ने पदमार्गको मर्मत संभारको काम गरीरहेको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । गाउँपालिकाले वडाको समन्वयमा अहिले श्रमदानमा पदमार्गको मर्मत संभार गरीरहेको छ । इलाम नगरपालिकाले माइबेनी देखि तिल्केनी सम्मको पदमार्ग मर्मतको काम गरीरहेको नगर प्रमुख केदार थापाले जानकारी दिनु भयो ।
नेपाल–अग्रेज युद्धपछि बिक्रम संवत १८७२ फागुन २० गते भएको सुगौली सन्धि पश्चात तत्कालिन नेपाली सेनाले इलाम सदरमुकाममा निसान ल्याउन प्रयोग गरीएको मार्गलाई नेपाली सेनाको समन्वयमा स्थानीय पालिकाले पहिचान गरी कार्यान्वयन गर्न लागेका हुँन । इलामको गडिथुम्कामा रहेको रणसार्दुल गणको पहलमा सूर्योदय नगरपालिका, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाले नेपाल भारत सीमाना जोडीएको मेची नदिको मुहान देखि इलामको निशान स्थापना गरीएको माईस्थान मन्दिर सम्मको ४१ किलोमिटर पदमार्गको पहिचान गरी कार्यान्वयन गर्न लागिएको निशान पदमार्ग पहिचान कार्यदलका सदस्य सचिव खेमराज राईले जानकारी दिनु भयो ।
कार्यदलले पहिचान गरेको पदमार्गलाई केहि परिवर्तन गरी पालिकाहरुले अनुमोदन गरेका थिए । कार्यदलका संयोजक टीकाराम सुब्बा लाप्चाको संयोजकत्वमा गठन भएको कार्यदलले भारतको नागरीगडी देखि, नेपाल भारत सीमा क्षेत्र सात माइल(मेची मुहान), सिद्धिखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईवेनी, तिल्केनी हुँदै माइस्थान मन्दिर सम्मको जीआईएस नक्सा तयार गरी सार्वजनिक गरेको थियो ।
पदमार्गले सबैभन्दा बढी क्षेत्र सूर्योदय नगरपालिकामा ओगटेको छ । प्रतिवेदन अनुसार सूर्योदय नगरपालिकामा २६ दशमलब १३ किलोमिटर, माईजोगमाई गाउँपालिकामा १० दशमलब, ७८ किलोमिटर, र इलाम नगरपालिकामा चार दशमलब १९ किलोमिगर क्षेत्र ओगटेको छ । भारतको नागरीगडी देखि मेची मुहान सम्मको दुरी १६ दशमलब पाँच किलोमिटर रहेको छ । नागरीगडीमा अझै पनि गडी मन्दिर लगायत एतिहासिक बस्तु रहेको अध्ययन टोलीले जनाएको छ ।
रणसार्दुल गण इलामका गणपति प्रलाद घलेले पदमार्ग पहिचामा स्थानीय पालिकाले उल्लेखीय भूमीका खेल्दा समयमै उद्घाटन गर्ने अवस्थामा पुगेको बताउनु भयो तत्कालिन माओवादी द्धन्दकालमा काठमाण्डौ लगिएको निशान केहि बर्ष अघि नेपाली सेनाको पहलमा इलामको माइस्थान मन्दिरमा ल्याएर राखिएको छ ।
तत्कालीन नेपाल–अंग्रेज युद्धपछि १८७२ फागुन २० मा भएको सुगौली सन्धिले पूर्वमा मेची नदीलाई नेपाल–भारत सीमा कायम भयो । त्यसपछि मिरिकस्थित नागरी गढीमा रहेको श्रीनाथ पल्टन अहिलेको सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा आएर बसेको इतिहास छ ।मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम पूर्णेडाँडा ल्याउनु भएको इतिहास छ । पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अंग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माइजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ पल्टन इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर १८८० सालमा स्थापना भएको अनुमान छ । हाल निशान उक्त मन्दिरमा संरक्षण गरी राखिएको छ ।