फिक्कल: इलामको पशुपतिनगर भन्सार कार्यालयमा आर्थिक बर्ष २०८०÷०८१ मा लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ ।पूर्वी नेपालको सीमा क्षेत्रमा रहेको पशुपतिनगर भन्सार कार्यालयले आ.व.२०८०÷०८१ मा तीन करोड ६८ लाख १५ हजार राजस्व उठाउने लक्ष्य राखेकोमा उक्त अवधिमा दुई करोड ७२ लाख ७१ हजार छ सय २१ रुपियाँ मात्र राजस्व संकलन भएको हो ।
पशुपतिनगर भन्सार भएर नेपालमा उत्पादन भएको कृषिजन्य बस्तु भारत निकासी हुने गरेको छ । त्यस्तै भारतबाट खाद्यान्न लताकपडा लगायतका बस्तु उक्त नाकाबाट निर्यात हुने गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ मा आयात तर्फको भन्सार महसुल, आयात तर्फकै मुल्य अभिबृद्धि कर , अग्रिम आय कर लगायत गरी उक्त रकम जम्मा भएको कार्यालय प्रमुख प्रविण सुब्बा लिम्बुले जानकारी दिनु भयो । कार्यालय प्रमुख लिम्बुले नेपाल भारत सीमा क्षेत्रमा आईरहने उतारचढावका कारण भन्सार राजस्व असुलीको लक्ष्यमा पुग्न नसकेको जानकारी दिनु भयो । उहाका अनुसार नेपाल तर्फ भन्सार भए पनि भारत तर्फ इन्डियन कस्टम नभएका कारण बील जारी नहुँने हुँदा पशुपतिनगर भन्सारको राजस्व असुलीमा प्रभाव पर्ने गरेको जानकारी दिनु भयो । भारतले अहिले सुकियामा इन्डियन कष्टम राख्ने बताउदै आए पनि अहिले सम्म कार्यालय स्थापना गरेको छैन ।
सूर्योदय उद्योण बाणिज्य संघका अध्यक्ष प्रमोद राईले भारत तर्फ कष्टम नहुँदा निकासी पैठारीमा सधै समस्या आउने गरेको बताउनु भयो । उहाले भन्नु भयो‘भारत तर्फ इन्डियन कष्टम राख्न नेपाल सरकारले भारत सरकार संग पहल गर्नु पर्छ हामी यहाँ तल कराएर केहि हुँदैन।’
अघिल्लो आर्थिक बर्ष २०७९÷०८० मा दुई करोड ७१ लाख ८२ हजार ६५ रुपियाँ राजस्व जम्मा भएको थियो । आर्थिक बर्ष २०७९÷०८० को तुलनामा २०८०÷०८१ मा ८९ हजार पाँच सय ५६ रुपियाँ बढी राजस्व उठेको कार्यालयका नायव सुब्बा प्रकाश सुनुवारले जानकारी दिनु भयो । भन्सार कार्यालय पशुपतिनगरले आर्थिक बर्ष २०८१÷०८२ का लागि तीन करोड ५१ लाख ९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको नायव सुब्बा सुनुवारले जानकारी दिनु भयो ।
पशुपतिनगर भन्सार भएर नेपालबाट पशु चौपया समेत निर्यात हुने गरेको छ । सीमा क्षेत्रबाट हुँने तस्करी र राजस्व छलीका कारण समेत पशुपतिनगर भन्सारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।