Hamropalika menu advertisement

इलामको माइपोखरीमा त्रि-धार्मिक महोत्सव

  • प्रकाशित मितिः August 30, 2026
  • हाम्रो पालिका
इलामको माइपोखरीमा त्रि-धार्मिक महोत्सव

फिक्कल:
इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रिधार्मिक महोत्सव सुरु भएको छ । विश्वशान्तिको कामनासहित आगामी मङ्सिर ८ गते महोत्सव आयोजना गरिने भएको हो । महोत्सवमा सनातन, बौद्ध र किराँत धर्मावलम्बीले संयुक्त रुपमा पूजा अर्चना गरिनेछ।

रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा जैविक विविधताका रुपले महत्वपूर्ण मानिने माइपोखरीमा त्रि–धार्मिक महोत्सवमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिएको आयोजक समितिका संयोजक प्रेम नाछिरिङ राईले बताउनुभयो । यसैगरी बौद्ध परम्पराअनुसार लामा गुरुहरुले यहाँ रहेको बौद्ध गुम्बामा पाठ तथा पूजा अर्चना र प्रवचन गर्नेछन् । माइपोखरीमा बनाइएको साकेला थानमा किराँत धर्मगुरुबाट साकेला पूजा र प्रवचन आठ दिनसम्म चल्ने संयोजक राईले जानकारी दिनुभयो ।

महोत्सवका लागि आज कलशयात्रा निकालिएको छ । माइपोखरीलाई पर्यटकीय–धार्मिक केन्द्रका रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयामिक अनुसन्धान स्थलका रूपमा विकास गर्ने उद्देश्यले महाउत्सव आयोजना गरिएको जनाइएको छ ।

रामसार क्षेत्रमा सूचीकृत भएपछि देशमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा माइपोखरी क्षेत्र महत्वपूर्ण छ । यसको महत्वलाई विश्वभर प्रचार गराउन महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका प्रचार संयोजक श्यामकुमार राईले बताउनुभयो । महोत्सवमा माइपोखरी दर्शन–अवलोकन, माइपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्धगुम्बा, तीनचुलो, युमाथान अवलोकन र दर्शन, हरेक साँझ गुरुहरूबाट माइपोखरी महाआरती, सांस्कृतिक झाँकी प्रदर्शन, सनातन, बौद्ध र किराँत गुरुबाट प्रवचन यसका मुख्य आकर्षण रहने महोत्सव आयोजक समितिका प्रचार समिति संयोजक राईले बताउनुभयो । माइपोखरीमा पूजाआजा गर्दा विभिन्न भाकल र मनोकांक्षा पूरा हुने विश्वास गरिंदै आएको छ ।

TOP