इलामको अनुपम सुन्दरता शब्द, संगीत र स्वरमा – Hamropalika
जीवनशैली इलामको आईतबारेमा आजदेखि आदिवासी जनजाति साँस्कृतिक तथा खाना महोत्सव हुदै पर्यटन रोङ उद्योग वाणिाज्य संघद्वारा आयोजित रोङ प्रथम पर्यटन महोत्सवको आयव्यय सार्वजनिक प्रदेश नेपाल महिला संघ इलाम क्षेत्र नं.१ को सपथ ग्रहण कार्यक्रम सम्पन्न Uncategorized नेपाल महिला संघ इलाम क्षेत्र नं.१ को सपथ ग्रहाण कार्यक्रम सम्पन्न जीवनशैली माइजोगमाइका अपाङ्गता भएका ब्यक्तिलाई घरमै स्वास्थ्य परीक्षण सहित परिचय पत्र हस्तान्तरण पर्यटन बिश्व वातावरण दिवसमा सूर्योदयमा सरसफाई पालिका विशेष रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु प्रदेश नेपालमा मनसुन भित्रिँदै अर्थ वाणिज्य इलामको पर्यटन प्रवर्धन गर्न पर्यटन कार्यालयको पहल जीवनशैली सूर्योदय नगर वाल सञ्जालको पुर्नगठन
Hamropalika menu advertisement

इलामको अनुपम सुन्दरता शब्द, संगीत र स्वरमा

  • प्रकाशित मितिः June 14, 2024
  • hamro_palika

अतीत योङहाङ:

‘इलामे सहर चियाबारी राम्रो त्यहीँ पर्यो घर हाम्रो’‘ कुनै समय रेडियो नेपालमा खुबै गुन्जियो यो गीत । गंगाराज मुकारुङको शब्द रहेको उक्त गीतमा त्यस बेलाका चर्चित गायक तथा सङ्गीतकार बुलु मुकारुङ र कुन्ती मोक्तानको स्वर छ ।

गीत हिट भयो । सबैको मुखमा झुन्डियो । र, गुनगुनाउन थाले । गीतले पूर्वको पर्यटकीय जिल्ला इलामलाई थप चर्चामा ल्यायो । इलाम चिनाउने गीतहरूमध्ये सबैभन्दा चर्चित र पुरानो गीत हो यो । त्यसयता इलाम चिनाउने थुप्रै गीत आए । र, आइरहेका छन् ।

त्यसो त इलाम भन्ने सुन्ने बित्तिकै धेरैको मुखबाट प्वाक्क निस्कन्छ– आहा १ झुल्के घाम । चियाबारीको राजधानी । नागबेली बाटो । बादलुको घुम्टो । प्राकृतिक सुन्दरताको खानी । पहाडकी रानी । जति धेरै उपनाम दिए पनि अपुग लाग्ने १

 

इलाम हरित कृषिको जिल्ला पनि हो । मनमोहक सुन्दरताले भरिपूर्ण इलाम सबैको रोजाइमा पर्छ । नेपालको मुख्य पर्यटकीय गन्तव्यमध्ये एक ।

विभिन्न जातजातिको बसोबास । सांस्कृतिक धरोहरको धनी । प्राचीन मठमन्दिर र गुम्बा । अनेक प्रजातिका चरा । किसिम किसिमका पुतली । दुर्लभ रेड पान्डा । माई पोखरी, हाँस पोखरी । यी सबैले सबैलाई लोभ्याउँछन् ।

इलाम, लोपोन्मुख लेप्चा जातिको बसोबास रहेको एक मात्र जिल्ला पनि हो । साथै, इलाम ‘आठ अ’ले समेत प्रसिद्ध छ । अलैँची, अदुवा, अर्थोडक्स चिया, अकबरे खोर्सानी, ओलन ९दूध०, अम्लिसो, आलु र अतिथि सत्कार ।

सायद त्यसैले होला भूपी शेरचनले कविता लेखेका थिए– ‘हरियो भरियो इलामलाई देख्दा, नेपालभरि अलिअलि इलम छर्न मन लाग्यो ।’

इलामलाई सबैले आआफ्नै तरिकाले व्याख्या गरेका छन् । इतिहासविद् युद्धप्रसाद वैद्य भन्छन्– ‘नकुदिएको हीरा, यसलाई कुद्न बाँकी छ ।’ प्रसिद्ध लेखक कर्ण शाक्य भने ‘अल्छी लागे इलाम घुम्न जानु’ भन्छन् ।

इलामबारे लेख्ने लेखक, इलामको चर्चा गर्ने नेता र इलामेली गीत गाउने गायक धेरै छन् । यहाँ चर्चा गरौँ गीतको । इलामलाई चिनाउने थुप्रै गीत छन् । तीमध्ये यस पटक ८१ गीतको चर्चा(

१। इलामे सहर
गीत–संगीत प्रेमीले धेरै गुनगुनाउने पुरानो र चर्चित गीत हो यो । यो गीत नगुनगुनाउने सायदै होलान् । गीत नेपाली सेनाका पूर्व महासेनानी गंगाराज मुकारुङले लेखेका हुन् । गीतमा कुन्ती मोक्तान र बुलु मुकारुङको स्वर छ ।

यसको रिमिक्स भर्सन पनि छ । जसमा राजु लामा र सिन्धु मल्लको स्वर रहेको छ । पछिल्लो पटक सुनिता थेगिम र अशोक मुकारुङले यो गीतलाई रिमेक गरेका छन् । जसले गाए पनि यो गीतलाई उत्तिकै मन पराइएका छ ।

२। बादलुको घुम्टोले
बुद्धवीर लामाको शब्द, दिनेश सुब्बाको संगीत र यम बरालको स्वर रहेको यो गीत पनि चर्चित छ । यही गीतले आफूलाई चिनाएको गायक बराल बताउँछन् । गीतमा इलामको मौसमको बखान गरिएको छ । छिनछिनमा बदलिरहने मौसम, परिवेश र चियाबारी गीतको मुख्य विषय बनेको छ ।

३। रेसमैको पछ्यौरी
रोशन गुरुङ र भीमराज राईको स्वर रहेको यो लोकप्रिय गीत हो । जहाँ झुल्के घाम हेर्न अन्तु डाँडा जान आह्वान गरिएको छ । गीतमा चियाबारी, माइबेनी, पञ्चमी, माइपोखरी र नयाँ बजारको वर्णन छ । भीमराजको शब्द र गणेश गुरुङको सङ्गीत रहेको यो गीतलाई सुमन थेबेले रिमेक गरेका छन् ।

४। इलामले सम्झायो माया
लेखनाथ पोखरेलको शब्द, गणेश गुरुङको संगीत र रोशन गुरुङको स्वर रहेको यो गीतले पनि इलामलाई चिनाएको छ । यसमा श्रीअन्तु, माई पोखरी, गजुरमुखी, सन्दकपुर, पाथीभरा, माईखोला, इलाम बजार, चिया, अलैँचीका साथै अम्लिसोको वर्णन गरिएको छ ।

५। इलामैको न्यानो बस्ती
टेक सुब्बाको शब्द, वरिष्ठ गायक तथा सङ्गीतकार बलराम समालको संगीत र स्वर रहेको यो कर्णप्रिय गीत हो । यस गीतले परदेशमा रहँदा इलामलाई सम्झाउने गर्छ ।

६। इलामको बसाइँमा
तारा ढुरकापानीको शब्द, डेनी निरौलाको संगीत र जगदीश समालको स्वर रहेको यो गीतले इलामकै वर्णन गरेको छ । यस गीतमा इलामको स्वच्छ हावापानीको व्याख्या गरिएको छ ।

७। इलाम हाम्रो गौरव
कोमल निरौलाको शब्द र डेनी निरौलाको संगीत रहेको यो गीतले इलामको ऐतिहासिक पर्यटकीय गन्तव्यको वर्णन गरेको छ । गीतमा झुमा निरौला, जुना प्रसाईँ, शर्मिला आचार्य, टिका प्रसाईँ, कमल श्रेष्ठ, कृष्ण भट्टराई र डेनी निरौलाको स्वर रहेको छ ।

८। मेरो प्यारो इलाम जन्म गाउँ
अञ्जु पन्तले गाएको यो गीत निकै लोकप्रिय छ । मेल भर्सनमा सुन्दर योङहाङले गाएका छन् । गीतमा इलाम घुम्न आउने र सबैले चियाबारीको गीत गाउने गरेको दर्साइएको छ ।

९। मंगलबारे डाँडामा
वरिष्ठ लोकगायक देवी गौतमद्वारा संकलित यो गीतमा उनैको स्वर रहेको छ । गीतले इलामका गाउँबेंसीमा घन्काइने लोक भाकाको प्रतिनिधित्व गर्छ । गीतमा मंगलबारे, श्रीअन्तु, नवमीडाँडालगायतका व्याख्या गरिएको छ ।

१०। हाम्रो यो ग्रिन इलाम
दीपक लिम्बू र सहिमा श्रेष्ठको स्वर रहेको यो गीतले युवा पुस्तालाई इलाम तान्ने गर्छ । गीतले इलामे माया, अचार र सिलामको व्याख्या गरेको छ । साथै, इलाम घुम्न अनुरोध गरिएको छ । दीपेन दुलालको शब्द रहेको यस गीतमा उज्ज्वल लिम्बूको संगीत छ ।

११। इलाम राम्रो सलल
प्राज्ञ कोमल निरौलाको शब्द–संगीतमा रहेको यो गीत उनकै छोरी झुमा निरौलाले गाएका छन् । गीतले इलामको प्राकृतिक, पर्यटकीय र पुरातात्त्विक सुन्दरताबारे बखान गरेको छ ।

१२। बिर्सियौँ क्यारे
जगदीश समालको स्वर रहेको यो गीतले मायालुलाई इलाम घुम्न बोलाएको छ । गीतले दसैँ छेका इलामको मौसम राम्रो हुने र घुम्न उपयुक्त हुने भनेको छ । गीतमा माधव गुरुङको शब्द र समालको संगीत रहेको छ ।

१३। इलाम राम्रो चियाबारी
वसन्त थाम्सुहाङको शब्द, पारस मुकारुङको संगीत र भूपेन्द्र राईको स्वर रहेको यो गीत पनि लोकप्रिय छ । गीतमा इलाम र भोजपुरको साइनो जोडिएको छ । इलामको चियाबारी र भोजपुरको ट्याम्केमैयुमको वर्णन छ ।

१४। अन्तुबाट झुल्क्यो घाम
बालकेशर तामाङको शब्द, अशोक लोहोरुङको संगीत र मिलन नेवारको स्वर रहेको यो गीतले पनि इलाम चिनाएको छ । गीतमा श्रीअन्तु, इलाम बजार, सन्दकपुर, थामडाँडा लगायतको ठाउँ र रेड पान्डाको व्याख्या गरिएको छ ।

१५। आँगनको फूल
मिलन नेवारकै स्वर रहेको यो गीत पनि चर्चित छ । गीत इलाममा जन्मे–हुर्केर परदेशिएकाहरूको लागि बनाइएको हो । यसले पनि इलामकै वर्णन गरेको छ ।

१६। इलाम हाम्रो शान
यो गीत अहिलेका युवा पुस्तामाझ लोकप्रिय छ । मुकेश राईले लेखेको गीतमा मन थुलुङले संगीत भरेका छन् । सुनिता थेगिम र थुलुङले गाएको गीतमा इलामे माटोको चर्चा छ ।

१७। घुम्नलाई जाऊँ इलाम
टीका थेगिमको शब्द, उत्तमजंग लिम्बूको संगीत र अनु चौधरीको स्वर रहेको यो गीत पनि लोकप्रिय छ । गीतले इलामको सुन्दरता बयान गर्दै इलाम घुम्न आह्वान गरेको छ ।

१८। पहाडकी रानी
यो गीत मेल र फिमेल दुवै भर्सनमा छ । मेलमा प्रवीण श्रेष्ठ र फिमेलमा मेलिना राईको स्वर छ । प्रवीण श्रेष्ठको शब्द रहेको उक्त गीतमा डेनी निरौलाको संगीत छ । गीतले इलामको भालु ढुङ्गा, गजुरमुखी लगायतको बखान गरेको छ ।

१९। जाऊँ घुम्न इलामतिर
मेलिना राईकै स्वर रहेको यो गीतले पनि इलामकै सुन्दरता बखान गरेको छ । साथै गीतमा लोपोन्मुख लेप्चा जातिको पनि चर्चा छ । गीत अनुजा लेप्चाले लेखेका हुन् भने रमेश सेन्चुरीको संगीत रहेको छ ।

२०। झुल्क्यो घाम
अहिलेका युवा पुस्ताले अत्यन्तै मन पराएको गीत हो, यो । गीतमा होमनाथ न्यौपानेको शब्द र भूगोल दहालको स्वर रहेको छ । गीतले अन्तुबाट घाम झुल्किने र घामसँगै इलामेलीहरू ब्युँझिने व्याख्या गरेको छ ।

२१। घुम्न जाउँला कन्याम
यो गीतमा रचना रिमाल र सुशील भट्टराईको स्वर छ । प्रेम चम्लागाईँले लेखेको उक्त गीतमा विनोद गहतराजले संगीत भरेका छन् । गीतले इलामको कन्याम घुम्न प्रेरित गर्छ ।

२२। पूर्वमा राम्रो इलाम
यसमा पनि रचना रिमालकै स्वर रहेको छ । साथै, केशव राईले उनलाई साथ दिएका छन् । गीतमा सन्देश तामाङको शब्द र दुर्गा साउदको संगीत रहेको छ ।

२३। कार्तिके मेला
राजेशपायल राई र सुनिता थेगिमको स्वर रहेको यो गीत निकै चर्चित छ । गीतमा हरिकृष्ण खनालको शब्द र डिआर अटुको संगीत रहेको छ । गीतले गजुरमुखीमा लाग्ने कात्तिके मेलाको वर्णन गरेको छ ।

२४। पानी मीठो इलाम बजारको
सञ्जीवनीको स्वर रहेको यो अति लोकप्रिय गीत हो । निलम आङबुहाङको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतले इलामको हावापानीको व्याख्या गरेको छ । साथै, मायाको मिठास कुरा पनि गरिएको छ ।

२५। चियाबारीमा माया मोहनी
उमाकान्त गुरुङको शब्द, छोक गुरुङको सङ्गीत र कुबेर राईको स्वर रहेको यो गीत निकै मार्मिक छ । गीतले इलाम घुम्न प्रेरित गर्छ ।

२६। इलामैको डाँडा पाखा
कुबेर राईकै स्वर रहेको यो पुरानो गीत हो । गीतले इलाम बजार, बिहीबारे हाट र माईखोलालगायतको व्याख्या गरेको छ ।

२७। इलामको शान माई भ्याली
नेपालको चर्चित फुटबल प्रतियोगितामध्ये माई भ्याली गोल्ड कप एक हो । यो गीत यसै गोल्ड कपमा आधारित छ । गीतले खेलाडी र दर्शकलाई उत्साहित बनाउँछ । वसन्त थाम्सुहाङको शब्द र पारस मुकारुङको सङ्गीत रहको छ । त्यस्तै भीषण मुकारुङ, सरला राई, मेलिना राई, सागर संसार राई, निश्चल राई र राजेश पुमा राईको स्वर रहेको छ ।

२८। चियाबारीको काखैमा इलाम
इन्द्र गुरुङले गाएको यो गीतले इलामका सुन्दर ठाउँहरूको बखान गरेको छ । साथै, गीतले इलाम घुम्न आग्रह गरेको छ ।

२९। इलामको डाँडा पाखा
तुलसी बस्नेतको शब्द, मीरा रानाको सङ्गीत र रोशन गुरुङको स्वर रहेको यो गीत विशेषगरी परदेशिएकाहरूको लागि बनाइएको हो । इलाममा जन्मेर परदेशिन खोज्नेहरूलाई इलामै बस्न गीतले आग्रह गरेको छ ।

३०। हाँसिरहूँ बोलिरहूँ लाग्यो
यो गीतमा महेन्द्र लिङदमको शब्द, निश्चल आचार्यको सङ्गीत र सत्यकला राईको स्वरमा रहेको छ । सत्यकलासँगै महेन्द्र लिङदम र निश्चल आचार्यको पनि स्वर छ । गीतमा इलाम बजार र माया पिरतीको कुरा गरिएको छ ।

३१। क्या राम्रो चियाबारी
पूर्वेली लोकभाकामै रहेको गीत इन्द्र गुरुङ र रूपा गुरुङले गाएका छन् । प्रदेश जाने वा लाहुरेहरू छुट्टीमा आउँदा गाउँघरमा नाच्दै गाइने यो गीत निक्कै लोकप्रिय छ ।

३२। माईजोगमाई हाम्रो शान
यो गीत माईजोगमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितबहादुर राईले रचेका हुन् । गीतमा माईजोगमाई गाउँपालिका परिधि समेटिएको छ । गीतमा इन्द्र गुरुङ, सञ्जय तुम्रोक, सुनिता थेगिम र रूपा गुरुङको स्वर छ । अशोक लोहोरुङको सङ्गीत रहेको गीतले जातजातिको कला संस्कृति र पर्यटकीय स्थानहरूको वर्णन गरेको छ ।

३३। सूर्योदय नगर गान
इलामको सूर्योदय नगरपालिकाले पाँचौँ नगर सभाबाट पारित यो गीत इलामेली गीत मात्र नभएर नगरगान पनि हो । गीतमा नगरपालिका भित्रका सबै क्षेत्रको व्याख्या छ । गीतले सूर्योदय नगरपालिका घुम्न प्रेरित गराउँछ ।

३४। मेरो गाउँ चुलाचुली
इलामको चुलाचुलीलाई इलामले नदेखेको झापाले हेपेको ठाउँ भन्ने गरिन्थ्यो । यो, ठाउँ इलामका अन्य ठाउँभन्दा भिन्न छ । गतीले चुलाचुलीको बखान गरेको छ । गीतमा दीपक राईको शब्द, महेन्द्र राईको सङ्गीत र विजय साङपाङको स्वर रहेको छ ।

३५। ढाप पोखरीले खुलेको छ
सन्तोषभक्त राजलवटले लेखेको यो गीतमा बलराम समालको स्वर र सङ्गीत रहेको छ । यसले जमुनामा रहेको ढाप पोखरीसँगै सन्दकपुर, भालुढुंगा, पानीटार लगायतका पर्यटकीय गन्तव्यहरूको वर्णन गरेको छ ।

३६। माईपोखरी
सन्तोषभक्त राजवलटकै शब्द रहेको यो गीतमा पनि बलराम समालकै सङ्गीत र भूपेन्द्र राईको स्वर छ । गीतले माइपोखरीलगायत पर्यटकीय क्षेत्रलाई केन्द्रित गरी माया पिरतीबारे व्याख्या गरेको छ ।

३७। सुकिलुम्बा एयरपोर्टमै
यो गीत पनि सन्तोषभक्त राजवलटकै हो । गीतमा झुमा निरौलाको स्वर र डेनी निरौलाको सङ्गीत रहेको छ । गीतले इलामको एकमात्र एयरपोर्ट ‘सुकिलुम्बा’को वर्णन गरेको छ ।

३८। निष्ठुरीले छाडेर
पूर्वेली लोक भाकामा रहेको यो पुरानो गीत हो । उषा किरण अधिकारी र विनोद गहतराजको स्वर रहेको यस गीतमा शिशिर काफ्लेको शब्द–सङ्गीत रहेको छ । वियोगान्त र लभस्टोरीलाई समेट्ने गीतले इलामको गाथा बोकेको छ ।

३९। सिरिरि हावाले उडाई लगेछ
सिरिरि हावाले उडाई लगेछ पछ्यौरी तिम्रो चियाको बोटैमा, मेरो मन चोरी लग्यो घुम्न जाँदा इलामै बजारमा बोलको यो गीतलाई द–ब्रोजले प्रस्तुत गरेका छन् । यसले पनि इलामको गुणगान गरेको छ ।

४०। यो हाम्रो माङमालुङ
राजेश पायल राईको स्वर रहेको यो गीत निकै मार्मिक छ । यसमा बटुवाको कथा छ । शरण छिनामको सङ्गीत रहको गीतले इलामको माङसेबुङ गाउँपालिकास्थित माङमालुङलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्नुपर्ने सन्देश दिएको छ । माङमालुङ पर्यटन महोत्सवलाई सफल बनाउन सुदीप राईले रचेको यो गीत लोकप्रिय छ ।

४१। घुम्न आउनु हाम्रो इलाम
रुपन राईको शब्द र बलराम समालको सङ्गीत रहेको यो गीतले इलाम घुम्न आउन अनुरोध गरेको छ । गीतमा संगीतकार समालसँगै सपनी राईको स्वर रहेको छ ।

४२। माईखोला दोभान
बलराम समाल र सपनी राईकै स्वर रहेको यस गीतमा शब्द र सङ्गीत पनि समालकै छ । लोक भाकामा रहेको गीतले इलामको पर्यटकीय क्षेत्रको वर्णन गरेको छ ।

४३। घुमाउन लैजाउँकी पूर्वको कन्याम
विष्णुमाया मगरको शब्द रहेको यो गीतले कन्यामको व्याख्या गरेको छ । गीतमा सपनी राईसँगै इन्द्र गुरुङको स्वर रहेको छ ।

४४। इलाम बजार सानो गाउँ
दार्जिलिङका गायक दीपेश सुब्बाको शब्द, सङ्गीत र स्वरमा सजिएको यो गीतले इलामको विभिन्न ठाउँको व्याख्या गरेको छ । यस गीतले पनि इलाम घुम्न प्रेरित गर्छ ।

४५। इलामको चियाबारी बुट्टामा
यो गीत सुन्ने र नाच्ने उत्तिकै छन् । प्रेम चौलागाईँको शब्द, राजनराज सिवाकोटीको सङ्गीत र मिलन नेवारको स्वर छ । मिलनलाई रमेश प्रसाईँले साथ दिएका छन् । इलामको चियाबारी, लारुम्बा लगायतका ठाउँको व्याख्या गरिएको छ ।

४६। इलाममा नपुगी मीठो चिया भेटिन्न
यो गीतले इलामको चियाको बखान गरेको छ । गीतमा रामबाबु सुवेदीको शब्द, रामेश श्रेष्ठ र रत्न शोभा महर्जनको स्वर रहेको छ । गीतले इलामको चियासामु अरू चिया फिक्का बताएको छ । गीतमा रामेशकै सङ्गीत छ ।

४७। इलाम सम्झे
यो गीत शाखा अधिकृत अशोक बान्तवा राईले लेखेका हुन् । उनी, इलाममै जन्मेका हुन् । तत्कालीन इलामका ४८ वटै गा।वि।सा घुमेपछि उनले यो गीत लेखेका हुन् । गीतमा राजेश चाम्लिङको स्वर र सुमन दियालीको सङ्गीत रहेको छ । गीतमा इलामको चर्चा छ ।

४८। मुटुभरि माया साक्षी भेट्न आउनु
राजेश चाम्लिङको स्वर रहेको यो गीतमा शब्द–सङ्गीत पनि उनकै छ । यो गीतले मायालुसँग इलाम घुम्न आउन निम्तो दिन्छ ।

४९। इलामैको पानीटार
यो गीत इलाम देउमाईस्थित पानीटार केन्द्रित छ । अवि योङहाङको शब्द, मीना ताम्लिङको सङ्गीत र गोमा योङहाङको स्वर रहेको गीतले पानीटारसँगै इलामका विभिन्न ठाउँको वर्णन गरेको छ ।

५०। इभाङैको डाँडामा
यो गीतमा जनम खम्बु र विमला राईको स्वर रहेको छ । गीतले इलामको माईबगर, देउमाई किनारा, माङमालुङ र इलामको वर्णन गरेको छ । राज चाम्लिङको सङ्गीत रहेको गीतमा जीवनका भोगाइ समेटिएको छ ।

५१। इलामैको गावैं रमाइलो
गणेश पराजुलीको शब्द–संगीतमा र यशोदा पराजुलीको स्वरमा रहेको यो गीतले गाउँहरूको वर्णन गरेको छ । साथै इलामको रमाइलो परिवेश पनि समेटिएको छ ।

५२। इलामे मायाले
यो, गीतलाई अहिलेको पुस्ताले एकदमै रुचाएको छ । अर्जुन सिगु इलामेलीको शब्द रहेको यो गीतमा विक्रम थापाको सङ्गीत र स्वर छ । गीतले इलामको प्राकृतिक सुन्दरताको वर्णन गरेको छ ।

५३। देउमाईको दोभान
यो पुरानो लोकदोहोरी हो । युवराज पोर्तेल र मधुमालतीको स्वर रहेको गीतमा इलामको भाव छ । गीतमा रुक्मिना पोख्रेलको शब्द–सङ्गीत रहेको छ । गीतले देउमाई दोभान र इलामको वर्णन गरेको छ ।

५४। इलाम हाम्रो चियाबारी
पूर्व प्रधानमन्त्री झलनाथ खनालको परिकल्पना रहेको यो गीतमा इलामको प्रकृति र विकास समेटिएको छ । मिलन तिम्सिनाको र यम बरालको स्वर रहेको गीतको उद्देश्य पर्यटक भित्र्याउने हो ।

५५। इलाम बजार घुमौँला
यो गीतमा अनिल बिरानीको शब्द, कृष्णप्रसाद गौतमको सङ्गीत र अनिल बिरानीका साथै माण्डवी त्रिपाठीको स्वर रहेको छ । गीतले इलाम चिनाउने प्रयास गरेको छ ।

५६। इलाम बजार आउनु है
यो लोक गीतले इलाम घुम्न आउन निम्तो दिन्छ । यसले पनि इलामकै वर्णन गरेको छ । देवी घर्ती मगर र टंकमणि भट्टराईको स्वर रहेका गीतमा भट्टराईकै शब्द–सङ्गीत रहेको छ ।

५७। इलाम घुम्न जाँदा
चूडामणि पौडेलको शब्द–सङ्गीत र उदास शंकरको स्वर रहेको यो अर्को इलामेली गीत हो । यसमा पनि इलामको वर्णनसँगै माया पिरतीको प्रसङ्ग उठाइएको छ ।

५८। इलाम बजार, माया नमार
योगेन राईको शब्द र शान्तिराम राईको सङ्गीत रहेको यो पुरानो इलामेली गीत हो । राजेश पायल राई र पार्वती राईको स्वर रहेको गीत पूर्वेली लोक भाकामा छ । यसले इलामको वर्णन गरेको छ ।

५९। चियाबारीको छेउछेउमा
देवी गौतमको शब्द–सङ्गीत रहेको यो पूर्वेली लोक गीतले पनि इलामकै वर्णन गरेको छ । गीतमा देवी गौतम, उषा किरण अधिकारी र कोपिला गौतमको स्वर रहेको छ । गीतमा इलामको गजुरमुखीमा लाग्ने कात्तिके मेलाको बयान छ ।

६०। माथि है पर्यो देउराली डाँडा
देवी गौतमको शब्द–संगीतमा रहेको इलामको वर्णन गर्ने यो अर्को गीत हो । गीतमा गौतमसँगै उषा किरण अधिकारीको स्वर रहेको छ । यो गीतले इलामको समाज र किसानको व्याख्या गरेको छ ।

६१। घुम्न आउनु देउमाई इलाम
यो, गीत देउमाई नगरको पर्यटन विकासका लागि बनाइएको हो । यो गीतले देउमाई इलाम घुम्ने निम्तो दिएको छ । गीतमा विमल गौतमको शब्द–सङ्गीत रहेको छ ।

६२। स्वर्गसरि इलाम
यो गीतमा ‘स्वर्ग भन्ने ठाउँ कतै छ भने त्यो इलाम हो’ भन्ने बखान गरिएको छ । गौतम डंगोल ‘सन्देश’को शब्द रहेको यो गीतलाई झुमा निरौला र भीषण निरौलाले गाएका हुन् । सङ्गीत पनि झुमा र भीषणले नै गरेका छन् ।

६३। इलाम फिक्कल
मायालु र कन्यामको चियाबारीको गुणगान गर्ने यो गीतले युवा पुस्ताको मन जितेको छ । गीतमा मुस्कानमोहन तिम्सिनाको शब्द, शान्तिराम राईको सङ्गीत र सचिन राईको स्वर रहेको छ ।

६४। सरर हावा चल्या
पूर्वेली लोकलयमा रहेको यो गीतले इलामको बखानसँगै सामाजिक जनजीवनको वर्णन गरेको छ । गीतमा रोवार्ड सिप्थुङखा राईको शब्द, सुनिल राईको सङ्गीत र राज लिम्बूको स्वर रहेको छ ।

६५। माङ्सेबुङको डाँडामा
इलाम चिनाउने यो अर्को गीत हो । यसमा लालक्षितिजको शब्द रहेको छ भने ब्रविन शेर्माको सङ्गीत छ । गीत शेर्माले नै गाएका हुन् । गीतले माङ्सेबुङको किरात धर्म र लारुम्बाको महत्त्वलाई उजागर गरेको छ ।

६६। सुतेकालाई उठाउने फाल्गुनन्द
यो गीतमा १६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको बखान गरिएको छ । गीतले लिङदेनले दिएका ज्ञानलाई आत्मसाथ गर्ने प्रेरित गर्छ । गीतमा लाल क्षितिज लिम्बूको शब्द–संगीत रहेको छ । गीत श्रेयासी चेम्जोङ र ब्रविन शेर्माले गाएका छन् ।

६७। लाम्दाक सेवारो
यो गीत लिम्बू भाषाको हो । गीतले विशेष गरी माङ्सेबुङको लारुम्बामा आउने पर्यटक तथा भक्तजनलाई स्वागत गर्छ । शब्द–संगीत डिल्ली शेर्माको रहेको छ भने स्वर ब्रविन शेर्माको छ ।

६८। इलाम बजार घुम्न आउनु
इलाम घुम्न निम्तो दिने यो अर्को गीत हो । पूर्वेली लोक भाकामा रहेको गीत नयाँ पुस्तामाझ निक्कै चर्चित छ । यो गीतमा वाइवाको शब्द र जिविहाङ राईको संगीत रहेको छ । जिविहाङसँगै अमृता सम्बाहाङफेले गाएका छन् ।

६९। पुवाखोला, माईखोला
रोशन हाङखिमको शब्द–संगीत रहेको यो गीत सुनिता थेगिम र रोशन हाङखिमले गाएका छन् । गीतले माया पिरतीको कुरासँगै इलाम घुम्न प्रेरित गर्छ ।

७०। इलाममै घुम्न जाऊँ डाँडापारि
यो पनि इलाममा घुम्न प्रेरित गर्ने अर्को गीत हो । यसले इलामको विभिन्न पाटोको वर्णन गरेको छ । रमेश राईले गाएको यो गीतमा सुरेन्द्र भट्टराईले संगीत भरेका छन् ।

७१। इलाम चमैता हेर्नलाई जाऊँ आजै
२०५९ सालतिर रेकर्ड भएको यो गीतमा इलामको पर्यटन प्रवर्द्धन गर्ने प्रयास गरिएको छ । प्रकाश बस्नेतको शब्द–संगीत रहेको गीतमा झुमा निरौलाको स्वर छ ।

७२। आमचोकमाथि रवि बजार
राजेश पायल राई र सुनिता थेगिमको स्वर यो अर्को इलामेली गीत हो । हर्कबहादुर योङहाङको शब्द र राजन मगरको संगीत रहेको गीत पूर्वेली भाकामा छ । गीतले इलामको एकतप्पा, आमचोक र पश्चिम इलामको वर्णन गरेको छ ।

७३। इलामै गाउँ एकतप्पा
हर्कबहादुर योङहाङकै शब्दमा रहेको यो अर्को इलामेली गीत हो । पुष्कर सुनुवारको संगीत रहेको उक्त गीत विनिषा पौडेल र नितिज गजुरेलले गाएका छन् । यसमा पनि इलामको वर्णन गरिएको छ ।

७४। स्वर्गै लाग्यो तिम्रो इलाम
इलामलाई मायालुसँग तुलना गरिएको यो गीत प्रकाश थुलुङले लेखेका हुन् । गीतमा मन थुलुङको संगीत र अपसन लिम्बूको स्वर रहेको छ । यसमा इलामका रमाइला गन्तव्यहरूको चर्चा गरिएको छ ।

७५। घुम्न आको इलाम सहर
यो चाहिँ इलाम घुम्न गएकाहरूको प्रतिनिधित्व गरेर लेखिएको गीत हो । विवश माबोहाङको शब्द, राजु आङदेम्बेको संगीत रहेको उक्त गीतमा चोत्लुङहाङ केदेम लिम्बू र थोक्फेला लिम्बूको स्वर रहेको छ ।

७६। इलाम हो मेरो गाउँ
यो इलामेली गीत स्वस्तिका लिम्बू र राजशुक्र लिम्बूले गाएका छन् । गीतको संगीत पनि राजशुक्रले नै भरेका छन् । यसमा पनि इलामकै वर्णन छ ।

७७। माथि है पर्यो लुम्दे सिरान
खोल्से जेठाको शब्द, सुच्चा राईको संगीत रहेको यो गीतमा गंगा फियाक र मदन लिम्बूको स्वर रहेको छ । यसले इलामको फाकफोकथुम लगायतका स्थानहरूको वर्णन गरेको छ ।

७८। इलामैको माईपोखरी
माईपोखरीको वर्णन गर्ने यो अर्को गीत हो । गीत माण्डवी त्रिपाठी र टेकवीर योङहाङ लिम्बूले गाएका छन् । गीतमा टेकवीरकै शब्द–संगीत रहेको छ ।

७९। इलाम छाडी काठमाडौं सारुँला
यो पनि इलामेली गीत नै हो । पूर्वेली भाकामा रहेको यो गीतमा इन्द्र योङहाङको शब्द–संगीत रहेको छ । स्वर पनि उनकै रहेको छ । गीतले माया पिरतीसँगै सामाजिक जनजीवनको वर्णन गरेको छ ।

८०। बेली चमेली चिया इलामको
यो, पुरानो इलामेली लोकदोहोरी हो । गीतमा कुबेर राई, पूजन प्रधान, मनु राई र गोमा प्रधानको स्वर रहेको छ । मुनाकै शब्द–संगीत रहेको यो गीतले इलामको चियाको विषय उठान गरेको छ ।

८१। सुन्तला जुनार धनकुटाको, चिया इलामको
अरू जिल्लासँग साइनो गाँसिएको यो अर्को इलामेली गीत हो । यस गीतमा पनि कुबेर राई, पूजन प्रधान, मनु राई र गोमा प्रधानको स्वर रहेको छ । यसमा पूजन प्रधानको शब्द–संगीत रहेको छ ।

९इलामबारे लेखिएका–गाइएका गीतहरूको खोजी तथा सङ्कलन जारी रहनेछ । कुनै गीत छुटेमा समेट्दै जानेछौँ । छुटेका गीतहरू भए उपलब्ध गराउनु हुनेछ भन्ने अपेक्षा गरिएको छ ।

दृष्टी न्यूजबाट साभार

TOP