Hamropalika menu advertisement

कोशी प्रदेश खारेजीको माग गर्दै माङसेबुङ गाउँपालिकामा तालाबन्दी

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
कोशी प्रदेश खारेजीको माग गर्दै माङसेबुङ गाउँपालिकामा तालाबन्दी

इलाम : प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा सुरु भएको आन्दोलन स्थानीय स्तरमा केन्द्रित हुन थालेको छ ।‘कोशी’ प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोलन स्थानीय स्तरमा केन्द्रित हुन थालेको हो ।

‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिलाई ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’मा रुपान्तरण गर्दै आन्दोलनकारीहरुले स्थानीय तह केन्द्रित आन्दोलन सुरु गरेको हो ।आन्दोलनकारीहरुले स्थानीय तह र वडा कार्यालयमा तालाबन्दी गरी ‘कोशी’ प्रदेश नाम खारेज गर्न र पहिचानको आधारमा पुनस्नामाकरण गर्न दवाव दिन थालेका छन् ।

यसै क्रममा आन्दोलनकारीले शुक्रबार इलामको माङसेबुङ गाउँपालिका कार्यालय र चारवटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आन्दोलनकारीले गाउँकार्यपालिकाको कार्यालयसँगै वडा नम्बर २, ३, ४ र ६ को वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । यसअघि आन्दोलनकारीहरुले माङसेबुङ गाउँपालिकाको वडा नम्बर ३ को शाखा कार्यालय भञ्ज्याङ र ५ को वडा कार्यालय, इलाम नगरपालिक ११ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

आन्दोलनकारीहले प्रदेशभर प्रदर्शन र कोणसभा गर्दै जनदवाद दिदैं आएका छन् । ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ गायत विभिन्न राजनीतिक दल र दल सम्बद्ध संगठनहरुले ‘कोशी’ प्रदेश नामाकरणविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
आन्दोलनकारीहरुले कोशी नामका बोर्डहरु हटाउने, कोशी नामका लेटरप्याडहरु जलाउने, कोशी प्रदेश नाममा मत हाल्ने सांसदहरुलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति विस्तार जारी राख्ने, पर्चा निर्माण र वितरण गर्ने, भित्ते लेखन गर्ने, राँके जुलुस गर्ने, आम हड्ताल र प्रदेश राजधानीमा प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

आन्दोलनकारीहरुले आइतबार प्रदेशव्यापी आम हड्ताल आह्वान गरेका छन् भने ५ चैतमा प्रदेश राजधानी विराटनगरमा विशाल जनप्रदर्शन गर्ने प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पहिचानलाई पाखा लगाएको भन्दै जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा ९माओवादी केन्द्र० सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चासहित नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् र प्रदेश समिति, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत घटकहरुले ‘कोशी’ प्रदेश खारेजीको माग गर्दै ‘लिम्बुवान किरात’ राख्न माग गरेका छन् । आन्दोलनमा नेकपा माओवादी केन्द्र, एमाले र कांग्रेस समर्थक आदिवासी जनजाति नेताहरुले ऐक्यबद्धता जनाएका छन् ।

TOP