Hamropalika menu advertisement

सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण

  • प्रकाशित मितिः July 30, 2026
  • हाम्रो पालिका
सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण

प्रेम अधिकारी
पशुपतिनगर(इलाम)

इलामको सूर्योदय नगरपालिकामा एक सय २० मिटर लामो अत्याधुनिक सिसाको पुल निर्माण भएको छ ।सूर्योदय नगरपालिका ८ मानेडाडाँमा संघीय सरकार र सूर्योदय नगरपालिकाको संयुक्त लागनीमा एक सय २० मिटर लम्बाइ र डेढ फुट चौडाई भएको सिसाको पुल निर्माण भएको हो ।
२०७९ सालमा बिएटी निर्माण कम्पनीले सात करोड ६१ साल ७८ हजार तीन सय ७१ रुपियाँमा ठेक्का लिएको उक्त सिसाको पुलको करिव ९५ प्रतिशत काम सम्पन्न भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आषिश सुवेदीले जानकारी दिनु भयो । पुलमा सिसा लगाउने काम समेत सम्पन्न भैसकेको इन्जिनियर सुवेदीले जानकारी दिनु भयो । उक्त सिसाको पुलको उचाई ६० मिटर रहेको छ । रमणीय पर्यटकीय स्थलमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको सिसाको पुलको आगामी असोज महिनामा बिश्व पर्यटन दिवसलाई लक्षित गरी उद्द्धाटन गरिने नगरपालिकाले जनाएको छ ।
उक्त स्थानमा अव बाहिरी सौदर्यकरणको काम मात्र वाँकी रहेको छ । सौदर्यकरण , बिद्युत जडान , टायल्स लगाउने , भ्यू प्वाइट निर्माण जस्ता काम सकेपछि उक्त पुलको औपचारिक उद्घाटन गरिने छ ।
सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गाकुमार बरालले निर्माण कम्पनीले पुरा काम सकेर हस्तान्तरण गरेपछि उक्त पुल संचालनमा आउने जानकारी दिनु भयो । उहाले उक्त पुल संचालनमा आएपछि सूर्योदयको मात्र नभई इलाम जिल्लाकै पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताउनु भयो । ‘पर्यटन क्षेत्रमा हामीले नयाँ आयाम थप्न खोजेका हौ, यसले स्वदेशी र बिदेशी पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा लिएका छौ’कार्यबहाक नगर प्रमुख बरालले भन्नु भयो ।
उक्त सिसाको पलमा हिड्दा अधिकांश ठाउँमा सिसा चर्कीने छ । यसले हिड्ने पर्यटकलाई कुनै असर गर्दैन । यहि प्रकृतिको सिसा जडान गरिएको इन्जिनियर सुवेदीले जानकारी दिनु भयो ।
धेरै जसो समय उक्त स्थान कुहिरोले ढाकी रहने भएकाले बर्षै भरी भने उक्त स्थान खुल्ला गर्न नसकिने नगरले जनाएको छ । उक्त स्थानबाट झापा सहितका तराईका फाँट, भारको दार्जिलिङ, मिरिक , सिलिगुडी सहित हिमालका दृश्य देख्न सकिन्छ ।
दैनिक सर्यौ पर्यटक आउने अपेक्षा राखेको नगरले उक्त सिसाको पुल आफै संचालन गर्ने भएको छ । सिसाको पलमा चढ्दा स्वदेशी पर्यटक र बिदेशी पर्यटकका लागि नगरले लाग्ने शुलकको फरक परक दररेट निर्धारण गरेको छ ।
कोशी प्रदेश सरकारले यस अघि पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिका बाह्ै महिना स्वदेशी र बिदेशी पर्यटकले खचाचख हुने गरेको छ । कन्याम, अन्तुमा बर्षै भरी पर्यटक आउने गरेका छन । सूर्योदयमा कन्याम, अन्तु सहित थुम्केडाँडा, चित्रेगुम्बा, बुद्धपार्क , स्वामीपार्क , फेन्सोङगुम्बा, जिमीराजा जिमीरानी, पशुपतिनगर बन वाटिका, तीनतले झरना, लगायतका पर्यटकीय स्थल रहेका छन । गोरखापत्र दैनिक

 

TOP