Hamropalika menu advertisement

सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट

  • प्रकाशित मितिः June 27, 2026
  • हाम्रो पालिका
सन्दकपुर गाउँपालिकामा ४५ करोड ५४ लाखको बजेट

इलाम :  इलामको सन्दकपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३र०८४ का लागि ४५ करोड ५४ लाख ७९ हजार ५७१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष हरिबहादुर लुङ्गेलीले गाउँसभामा बजेट प्रस्तुत गर्दै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताए ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष लुङ्गेलीले सीमित स्रोतसाधनका बाबजुद उत्पादन वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय सेवा प्रवाह र दिगो विकासलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताए । गत वर्षको अविरल वर्षाका कारण भएको विपद्बाट प्रभावित नागरिकको पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणलाई समेत बजेटले विशेष प्राथमिकता दिएको उनले उल्लेख गरे ।

संघीय अनुदानमा बढी निर्भर बजेट

गाउँपालिकाको कुल आयमध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ८ करोड ५८ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ८ करोड १२ लाख ७६ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ १९ करोड ३ लाख रुपैयाँ, समपूरक तथा विशेष अनुदान गरी १ करोड ८४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश सरकारबाट समानीकरण, सशर्त, समपूरक तथा राजस्व बाँडफाँड गरी ४ करोड ७१ लाख ८२ हजार २९३ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। आन्तरिक आयबाट १ करोड ७४ लाख १२ हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँडबाट ११ लाख रुपैयाँ, जनसहभागिताबाट १ करोड रुपैयाँ तथा बैंक मौज्दातबाट ४० लाख ९ हजार २७८ रुपैयाँ समेटिएको छ ।

सामाजिक विकासमा सबैभन्दा बढी बजेट

क्षेत्रगत रूपमा सामाजिक विकासलाई सबैभन्दा बढी २१ करोड २ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ। त्यसपछि सुशासन तथा संस्थागत विकासतर्फ १२ करोड ४ लाख ५७ हजार रुपैयाँ, पूर्वाधार विकासमा ६ करोड ९ लाख रुपैयाँ, आर्थिक विकासमा ५ करोड ५४ लाख ८० हजार ५७१ रुपैयाँ तथा वन, वातावरण तथा विपद् व्यवस्थापनमा ८४ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

कृषि र पर्यटनमा विशेष जोड

गाउँपालिकाले कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्यसहित ‘एक वडा–एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ छुट्याएको छ ।

फलफूल तथा तरकारीको ब्रान्डिङ र प्याकेजिङ, किसानसँग लागत साझेदारीका कार्यक्रम, खोरेत तथा लम्पी रोग नियन्त्रण, छुर्पी र चौँरीरयाक प्रवर्द्धनलाई निरन्तरता दिइएको छ ।

पर्यटनतर्फ निर्माणाधीन फाल्गुनन्द पदमार्ग सम्पन्न गर्न २ करोड ५६ लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ। सोही पदमार्गमा फाल्गुनन्द ट्रेल रेस र सांस्कृतिक महोत्सव आयोजना गरिनेछ। नेपाल पर्यटन बोर्ड, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रेडपाण्डा महोत्सवलाई निरन्तरता दिइएको छ ।

स्थानीय स्वाद घर सञ्चालन तथा पर्यटन प्रवर्द्धनका अन्य कार्यक्रमका लागि ११ लाख रुपैयाँ तथा गाउँपालिकामा पाइने चराको अध्ययन तथा अनुसन्धानका लागि २ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

शिक्षा र स्वास्थ्यमा नयाँ कार्यक्रम

शिक्षा क्षेत्रमा शिक्षक, प्रधानाध्यापक तथा बालविकास सहजकर्ताको क्षमता विकासका लागि ७ लाख रुपैयाँ विनियोजन गरिएको छ। उत्कृष्ट विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालयलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रदेश सरकारसँगको साझेदारीमा माध्यमिक विद्यालयमा आवासीय छात्रावास सञ्चालनका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा एम्बुलेन्स खरिद तथा सञ्चालन, २४ घण्टे प्रसूति केन्द्रका स्वास्थ्यकर्मी र स्वयंसेविकालाई प्रोत्साहन, महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ तथा वडा नम्बर ३ लाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्न १ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आयुर्वेद सेवा अन्तर्गत नागरिक आरोग्य कार्यक्रमका लागि औषधि खरिद गर्न ८ लाख २० हजार रुपैयाँ छुट्याइएको छ ।

खानेपानी र पूर्वाधारमा उल्लेख्य लगानी

सन्दकपुर(३ को दीर्घकालीन खानेपानी समस्या समाधान गर्न मलातेनी(सन्दकपुर(सुलुवुङ खानेपानी आयोजनाका लागि ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पूर्वाधारतर्फ नेपाल सरकारसँगको लागत साझेदारीमा निर्माणाधीन चाँपगैरी–छाँगे–आलुवारी–विखेभञ्ज्याङ सडकका लागि १ करोड ५० लाख रुपैयाँ तथा प्रदेश सरकारसँगको साझेदारीमा कृष्णभिर(जमुना(जौबारी र देउराली(माइपाताल(जितपाले सडकका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

जमुना स्वास्थ्य चौकी भवन निर्माणका लागि २० लाख रुपैयाँ, माइपोखरी(देउराली सडकका लागि २० लाख रुपैयाँ, सडक गुरुयोजना निर्माण, विपद्बाट क्षतिग्रस्त सडक मर्मत तथा इन्टरनेट सेवा विस्तारका कार्यक्रम पनि बजेटमा समावेश छन् ।

विपद् व्यवस्थापन र सुशासनमा प्राथमिकता

विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ राखिएको छ। आवास बीमा कार्यक्रम सञ्चालनका लागि २ लाख रुपैयाँ तथा विपद् प्रभावित परिवारलाई जग्गा व्यवस्थापन गर्न ७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सुशासनतर्फ जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास, बजार अनुगमन, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, डिजिटल वडापत्र प्रणाली, एकीकृत घुम्ती सेवा तथा मेलमिलापकर्ताको क्षमता विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।

उपाध्यक्ष लुङ्गेलीले प्रस्तुत बजेट प्रभावकारी, पारदर्शी र नतिजामुखी ढंगले कार्यान्वयन गरिने बताउँदै संघ, प्रदेश, विकास साझेदार, निजी क्षेत्र, सञ्चार जगत र स्थानीयवासीको सहयोगबाट गाउँपालिकाको समृद्धि र नागरिकको जीवनस्तरमा गुणात्मक सुधार आउने विश्वास व्यक्त गरेका छन् ।

TOP