इलाम: इलामको रोङ गाउँपालिकामा ‘गुरु किसान’ कार्यक्रमको घोषणा गरिएको छ । गाउँपालिकाले बुधबार एक समारोहका बिच ‘गुरु किसान’ घोषणा गरिएको हो ।गाउँपालिका भित्रका करिव पाँच हजार किसानहरुबाट अगुवा किसान छनौट गरिएको छ । छनौट भएका किसानलाई ‘गुरु किसान’ घोषणा गरिएको हो ।
गाउँपालिका ५ इरौटारमा स्थापना भएको कृषि प्रशोधन उद्योगको उद्घाटन सँगै छनौट भएका एक सय २१ गुरु किसानलाई गाउँपालिकाले मागमा आधारित कार्यक्रममा समावेस गर्ने गरी ‘गुरु किसान’ घोषणा गरिएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले जानकारी दिनु भयो ।
गाउँपालिका भित्र रहेका करिब चार हजार पाँच सय किसान मध्ये पहिलो चरणमा एक सय २१ किसान छनौट गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
कृषि तथा पशुपंछी बिकास मन्त्री रामनाथ अधिकारी तथा कोशी प्रदेश उद्योग कृषि तथा सहकारी बिकास मन्त्री खगेन सिंग लिम्बू र गाउँपालिका अध्यक्ष स्याङबोले गुरु किसान घोषणा तथा कृषि प्रशोधन उद्योगको उद्घाटन गर्नु भएको छ ।
कृषि पेशालाई सम्मानित पेशाका रुपमा विकास गर्न र उत्पादनमा प्रतिस्पर्धा गराउन गुरु किसान छनौट गरीएको पालिकाले जनाएको छ । यस अघि गुरु किसान परिचय पत्र वितरण समेत गरिएको थियो । थोरै क्षेत्रफलमा धेरै उत्पादन गर्ने किसानलाई गुरु किसानका रुपमा छनौट गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्रका ६ वटै वडाका किसान छनौट गरेर वडास्तरीय अभिमुखीकरण समेत प्रदान गरिएको छ । पालिका छनौट भएका ‘गुरु किसान’ ले गाउँमा आइपरेका कृषिका समस्या समाधान गर्न समेत भुमिका खेल्ने अध्यक्ष स्याङबोले जानकारी दिनु भयो । उहाले तीन तहका सरकार बिच समन्वयको खाचो भएको बताउनु भयो । समन्वय भए मात्र किसानको पक्षमा काम गर्न सकिने बताउनु भयो । उत्पादन , प्रसोधन र बजारीकरण गरेर गाउँपालिकाले १० बर्षे कृषि रणनीति बनाएको छ ।
पहिलो चरणमा एक सय २१ जना किसानलाई गुरु किसान छनौट गरिएको छ । क्रमश गुरु कृषक थप गर्दै लैजाने गाउँपालिकाको लक्ष रहेको गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले जानकारी दिनुभयो । उहाँका अनुसार गुरु किसान ब्यवस्थापन कार्यविधि २०८० जारी भएको छ । सोही अनुरुप कार्यक्रम अगाडी बढाइएको छ । गाउँपालिकाका कम्तीमा तीन सय गुरु किसान प्रवद्र्धन गर्ने लक्ष रहेको पालिकाले जनाइएको छ ।
‘उत्पादन, प्रशोधन गरी बजारीकरण सम्मको जिम्मा गाउँपालिकाले लिएको छ ।’ गाउँपालिका अध्यक्ष स्याङ्बोले भन्नुभयो । प्रशोधनमा निजि क्षेत्रलाई प्रवद्धन गर्ने लक्ष लिइएको उहाले जानकारी दिनु भयो ।
संघीय सरकार अन्तर्गत योजना आयोगको पाँच करोड रुपियाँ बिशेष अनुदानबाट तीनवटा उद्योग स्थापना गर्न लागिएको छ । सबैभन्दा पहिला स्थापना भएको कृषि प्रशोधन उद्योगको उद्घाटन गरिएको छ । अन्य दुईवटा उद्योग निर्माणाधिन अवस्थामा रहेका छन् ।
संघीय सरकारको अनुदानबाट करिव ७० लाख रुयियाँको लागतमा कृषि प्रशोधन उद्योगको भवन निर्माण गरिएको छ । त्यस्तै करिव ४० लाख लागतमा औजार खरिद गरिएको छ । कृषि पेसाबाट किसान पलायन हुन नदिन उक्त कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा बिशेष गरेर अलैँची, चिया, कफी, अदुवा, सुपारी, बेसार, सुन्तला उत्पादन हुन्छ । गाउँपालिकाले रोङ गुन्द्रुक, रोङ मह, रोङ बेसार, रोङ तिते करेला ब्राण्डिङ गरेर बजारीकरण गरिरहेको छ । त्यस्तै गाउँपालिकाले सिस्नोको चिया समेत उत्पादन र बजारीकरण गर्दै आएको छ ।
गाउँपालिका उपाध्यक्ष खवासले संघीय र प्रदेश सरकारले स्थानीय सरकारलाई बजेट कम दिने गरेका कारण किसानको क्षेत्रमा काम गर्न पालिकालाई समस्या भएको बताउनु भयो । कार्यक्रममा बिभिन्न कृषि सामग्री समेत किसानलाई वितरण गरीएको छ ।