फिक्कल:
इलामको चुलाचुली गाउँपालिका वडा एक कमलका भुवनसिंह इवाको परिवारले करिव १८ कठ्ठा जमिनमा सिमल तरुल खेती गरेको छ । इवाजस्ता धेरै किसानले चुलाचुलीमा परम्परागत रुपमा सिमल तरुल फलाउछन् । सिमल तरुल कच्चा पदार्थकै रुपमा नै विक्रि गरेर किसानले आम्दानी लिइरहेका छन् । ‘झापाको पाडाजुगि, दमक तिर लगेर सिमल तरुल बेच्ने गरेको छु ,बार्षिक करिव दुइ देखि अढाइ लाख सम्मको आम्दानीहुने गरेको छ ।’ इवाले भन्नु भयो ।
चुलाचुलीका सवै वडामा सिमल तरुल व्यापक मात्रामा उत्पादन हुदै आएको छ । सिमल तरुलको परम्परागत रुपमा घरेलु मदिरा बनाउन, खाजा खान, र पीठो बनाएर उपभोग गर्ने गरिएको छ ।
गाउँमै उत्पादन प्रशस्त भएपनि नेपालमा भने सिमल तरुलबाट बनेका विभिन्न खाद्यपदार्थ आयात भइरहेको पाइन्छ । वार्षिक एक अर्व ६० करोड बढी सीमल तरुलबाट बनेका खाद्य पदार्थ नेपाल भित्रिएको पाइएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिनु भयो । ‘सीमल तरुलबाट सावुदाना, आइसक्रिम, चिप्स र सावुन जस्ता बस्तुको उत्पादन गर्न सकिन्छ , यसलाई मुल्य अभिवृद्धि गर्न हामीले पहल थालेका छौ ।’अध्यक्ष केरुङले भन्नु भयो ।
सिमल तरुलको ब्राण्डीङमा गाउँपालिका लागेको छ ं । यसका लागि किसानको संलग्नतामा गाउँपालिकाले कम्पनी खोलेर सावुदाना उत्पादन गर्ने तयारी थालेको । अध्यक्ष केरुङले बताउनु भयो । सीमलतरुलको उत्पादन बृद्धिका लागि चुलाचुली गाउँपालिकाले किसानलाई गत आर्थिक बर्षमै नअनुदान उपलव्ध गराएको छ । ६ वटा विभिन्न कृषि फार्म सहित सिमल तरुल उत्पादन गर्ने किसानलाई २२ लाख १० हजार रुपियाँ अनुदान उपलव्ध गराइएको गाउँपालिकाले जनाएको छ ।
आर्थिक वर्षको अन्त्यमा संघीय सरकारबाट ताजा तरकारी र फलफूल शिर्षकमा बजेट आएकोले सवै खर्च गर्न नसकेको अध्यक्ष केरुङले बताउनु भयो । कोशी प्रदेश सरकारबाट समेत सहयोग उपलव्ध भएकाले वडा नं. तीन मा सिमल तरुल प्रशोधन उद्योग संचालन गर्न पहल गरिएको छ । एक विगाहा जमिन निशुल्क उपलव्ध भएकोले यसलाई प्रयोग गरि सिमल तरुल ब्राण्डीङका लागि उद्योग स्थापना गर्ने जनाईएको छ ।
भारत लगायतका देशमा रहेका विभिन्न प्रकारका मेशीनरीको अध्ययन भइरहेको र प्रक्रिया पुरा गरेर मात्र उद्योग स्थापना गरिने भएको छ ।
सिमल तरुलमा अनुदान दिएको विषयमा गैर किसानलाई अनुदान दिएको भनेर चर्चा भएको थियो । तर, किसानले भने सिमल तरुल रोप्ने सिजन भएकाले अनुदान आउदा उम्रनै नपाइकन अनावश्यक हल्ला फिजाइएको बताएका छन् । वडा नं. ५ का किसान दिलमाया राईले गाउँमा वास्तविकता नबुझि अनुदानको विषयमा केरकार गरेर किसानलाई हतोत्साहित बनाएको बताउनु भयो । गाउँपालिकाले सीमलतरुलमा लगानी गरेर स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको उहाको भनाई छ ।
गाउँपालिकाले किसानकै संलग्नतामा कम्पनी दर्ता गरी सिमल तरुल प्रशोधन उद्योग खोल्न पहल गरेको छ । सिमल तरुलबाट सावुदाना, पीठो र विभिन्न प्रकारका चिप्स उत्पादन गरी बजार सम्म पुर्याउने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले उद्योग व्यवस्थापनका लागि थप बजेट विनियोजन गर्ने जानकारी दिएको छ ।
अन्यबालीको तुलनामा कम पानी र कम मेहनतमा उत्पादन लिन सकिने सिमल तरुलको मुल्य अभिबृद्धि हुँदा गाउँपालिका क्षेत्रमा मात्र नभएर अन्य पालिकाको उत्पादनले समेत मुल्य पाउने देखिन्छ । परम्परागत रुपमा पाइने सीमलतरुलको तुलनामा पातको डाँठ रातो भएको चीनियाँ जातको सिमल तरुलमा किसानको आकर्षण भएको पाइएको छ । प्रतिबोट बढिमा ६ किलो ग्राम सम्म फल्ने सीमल तरुल चुलाचुलीका बासीन्दाको मुख्यबाली नै सावित भएको छ । अहिले गाउँपालिकाको अधिकांश जमिनमा सिमल तरुलको खेती गरिएको छ ।