Hamropalika menu advertisement

साईनो गास्दै सिक्किम र फाकफोकथुम

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
साईनो गास्दै सिक्किम र फाकफोकथुम

पशुपतिनगर : इलामको फाकफोकथुम गाँउपालिकाको धार्मिक पर्यटनको प्रचार गर्न गाँउपालिकाको टोली भारतको सिक्किम प्रस्थान गरेको छ । पश्चिम सिक्किमको गेलिङमा गुरु ज्ञानदिल धाम समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गाँउपालिका अध्यक्ष दिपेन्द्र खनाल, वडा न ३ का अध्यक्ष दिपेन्द्र लिम्बु सहित ९ जनाको टोली सिक्किम गएको हो ।
गुरु ज्ञानदिल दासको समाधी स्थलमा साउन २५ देखि आयोजना गरिएको तिन दिने कार्यक्रममा गुरु ज्ञानदिल दासको जन्म भुमी फाकफोकथुमको धार्मिक पर्यटनको सम्भावना बिषयमा छलफल गरिने पालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।
खनालले भारतमा गुरु ज्ञानदिल दासको धेरै चर्चा रहेको भएपनि गुरुको जन्म भुमि आमचोक भने गुमनाम जस्तै रहेकाले यसैको प्रचार गर्ने मुख्य उदेश पालिकाको रहेकोे बताए । उनले यहि कार्यक्रम मार्फत सिक्किम र फाकफोकथुमलाई धार्मिक पर्यटनमा जोड्न पहल समेत गरिने बताएका छन् ।

को हुन गुरु ज्ञानदिल दास ?

ज्ञानदिल दास जोसमनी धार्मिक–आध्यात्मिक जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा नेपालको इलाम जिल्लाको आमचोक जोरधार ९हाल फाकफोकथुम–३० भन्ने ठाउँमा लामिछाने उपाध्याय ब्राह्मण परिवारमा भएको हो । उनको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो । श्रीकृष्णको प्रारम्भिक शिक्षादीक्षा घरमा नै गुरुकुलीन पद्धतिबाट भएको थियो, जव उनी पाँचथर नांगीनस्थित जरिङ्गे गाउँमा जोसमनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित भए तब उनको नाम ज्ञानदिल दास भयो । उनलाई यो नाम गुरु श्यामदिल दासले दिएका थिए । गुरु श्यामदिल दास जोसमनी सन्त–साहित्यका प्रकाण्ड विद्धान थिए ।

जोसमनी धर्मका प्रचारक !

ज्ञानदिल दास जोसमनी सन्त परम्पराको प्रचार–प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूर्वाद्ध नेपालमा र उत्तराद्र्ध दार्जिलिङ र सिक्किममा बिताएका थिए । इलाम जिल्लाको साविक ९आमचोक ५ जोरधार टोल० हाल फाकफोकथुम गाउँपालिका वडा–३ मा जन्मिएका पश्चिम सिक्किमको गेलिङ जहाँ सन्तकवि ज्ञानदिल दास बसेर धर्म प्रचार गरेका थिए आज तीर्थस्थल बनेको छ र त्यो गेलिङधामले प्रसिद्ध छ । यिनले पूर्वी नेपाल तथा भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेको पाइन्छ । उनले रुम्जाटारलाई केही समय मुख्यथलोको रूपमा लिएर धर्म प्रचार समेत गरे । उनले सिक्किम र दार्जिलिङका विभिन्न स्थानमा जोसमनी मत प्रचारको क्रममा धेरैवटा सन्तमठ वा धामको स्थापना गरेका थिए । दृष्टान्तको रूपमा गेलिङधाम, रमीधाम, रङबुलधाम आदि मठ वा धामको सगर्व नामोल्लेख गर्न सकिन्छ ।

TOP