सूर्योदय नगरपालिकाको बजेट १ अरब २६ करोड (पूर्ण बिवरण सहित)
-
प्रकाशित मितिः
September 24, 2026
- हाम्रो पालिका
इलामको सूर्योदय नगरपालिकाले आर्थिक बर्ष २०८०÷८१ का लागि १ अरब २६ करोडको बजेट सार्वजनिक गरेको छ ।
सूर्योदय नगरपालिकाको नगर सभाको तेह्रौ अधिवेशनमा उप–प्रमुख श्री दुर्गा कुमार बरालले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०८०/०८१ को बजेट वक्तव्य
सभा अध्यक्षज्यू,
- पूर्वी नेपालको सुन्दर पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको नगरसभाको यस अधिवेशनमा स्थानीय तहको दोस्रो कार्यकालको निर्वाचन पश्चात् पहिलो वर्ष पुरा गरी दोस्रो वर्षको लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यहाँ उपस्थित भएको छु । नेपालको संविधानको धारा २३० बमोजिम यस सभा समक्ष आर्थिक वर्ष २०८०।०८१ को लागि नगरपालिकाको राजस्व र व्ययको अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
- यस घडीमा लोकतन्त्र प्राप्ति र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाको लागि बिभिन्न कालखण्डमा भएका आन्दोलन लगायत राजनीतिक क्रान्ति एवम् सङ्घर्षका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
- नेपालको संविधान बमोजिम राज्यको शासकीय संरचना तीन तहको सरकारबाट संरचित छ, जसमध्ये स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । संविधानत: स्थानीय सरकारलाई प्राप्त विधायीकी, कार्यकारिणी र न्यायिक अधिकारको प्रयोग गर्दै उपलब्ध सीमित स्रोत र साधनको उच्चतम परिचालन मार्फत प्राथमिकताको आधारमा नगरपालिकाबाट हुने सेवा प्रवाहको प्रभावकारी कार्यान्वयन गरी नगरवासीलाई परिवर्तनको अनुभूति गराउने उद्देश्य प्राप्तिका लागि नगरपालिका क्रियाशिल रहेको छ ।
- नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतमा गरेका प्रतिबद्धता, नेपाल सरकारले लिएको सुखी र समृद्ध नेपालीको आकांक्षा एवम् प्रदेश सरकारले लिएको प्रादेशिक लक्ष्य प्राप्तिलाई टेवा पुर्याउदै नगरपालिकाको दीर्घकालिन सोच अनुरुपका लक्ष्य हासिल गर्न नगरपालिकाले उद्देश्य निर्धारण गरेको छ । तीउद्देश्यहरू प्राप्तिका लागि स्थानीय शासनलाई जवाफदेही, पारदर्शी र नतिजामुखी तुल्याउदै विगतका वर्षहरूबाट हुँदै आएका असल अभ्यासहरूलाई संस्थागत गरी नवीनतम् क्रियाकलापहरूमा विषेश जोड दिई नगरवासीको दीर्घकालीन समुन्नतीमा यो बजेट केन्द्रित भएको कुरामा म विश्वास दिलाउन चाहन्छु ।
- सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट लोकतन्त्रका आधारभूत मूल्य, मान्यताको सम्मान गर्दै”समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाङ्क्षा, कोशी प्रदेशको प्रादेशिक सोच “स्वच्छ, सुखी तथा समुन्नत प्रदेश” एवम् सूर्योदय नगरपालिकाको दीर्घकालीन सोच “सूर्योदय नगरपालिकाको समृद्धता: प्राङ्गारिक कृषि, पर्या-पर्यटन र आर्थिक समानता” अनुरूपका उपलब्धिहरू हासिल गर्ने दिशामा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम लक्षित रहेको छ ।
- स्थानीय तहको क्षेत्राधिकार अनुरूप वित्तीय सङ्घीयतालाई प्रभावकारी र दिगो बनाउन राजस्वको दायरामा विस्तार गरी स्रोतको परिचालनमा विनियोजन दक्षता, कार्यान्वयन कुशलता र वित्तीयअनुशासनको मूल मन्त्रलाई आत्मसाथ गर्दै नगरको विकास र नगरवासीको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न उपलब्ध स्रोत र साधनलाई केन्द्रित गरिएको छ ।
- सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न एउटा बलियो आधारको रूपमा रहेको स्थानीय सरकारलाई प्राप्त अधिकारलाई अवसरको रूपमा प्रयोग गर्दै दिगो विकासका लक्ष्य, सङ्घीय तथा प्रदेश सरकारबाट योजना तर्जुमाका सम्बन्धमा प्राप्त मार्गदर्शन, नगरपालिकाको आवधिक योजनाका साथै मध्यमकालीन खर्च संरचना, नगर सभाबाट स्वीकृत भएका नीति तथा कार्यक्रम, आवधिक योजनाको मध्यावधि समीक्षाबाट प्राप्त सुझावहरू, स्थानीय आर्थिक सर्वेक्षणबाट देखिएको नगरपालिकाको वर्तमान अवस्था, योजना तर्जुमाका सिलसिलामा टोल तथा बस्ती स्तरबाट आवश्यकता र प्राथमिकताका आधारमा प्राप्त माग र सो सँग सम्बन्धित विषयगत समितिहरूमा भएको छलफल, प्राप्त सुझावसाथै विकास साझेदार, नागरिक समाज एवम् सरोकारवालाबाट प्राप्त पृष्ठपोषण समेतका आधारमा आन्तरिक राजस्व, वित्तीय हस्तान्तरण मार्फत सङ्घीय एवं प्रदेश सरकारबाट प्राप्त हुने रकम तथा विकास साझेदार संस्थाहरूसँग हुने साझेदारी समेतलाई समावेश गरी नेपालको संविधानले निर्दिष्ट गरेका स्थानीय तहका अधिकारक्षेत्र भित्रका दायित्वहरू र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेका स्थानीय तहका काम कर्तव्य र अधिकारहरूका आधारमा प्राथमिकता प्राप्त योजना तथा कार्यक्रमहरूलाई समावेश गरी बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
- सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न लोकतन्त्रका लाभहरूको समानुपातिक, समावेशी र न्यायोचित वितरण गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरूप समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्दै जाने विषयलाई मध्यनजर गरी विकास निर्माणका क्रियाकलापहरु निर्धारण गरिएका छन् । यस सिलसिलामा नगरवासीको इच्छा, चाहना र आधारभूत आवश्यकतालाई दृष्टिगत गर्दा, प्राप्त हुन सक्ने स्रोतसँग तालमेल गर्न चुनौतिपूर्ण भए तापनि प्राथमिकताको आधारमा प्राप्त स्रोतलाई दिगो विकास तर्फ लगानी गर्ने प्रयास गरिएको छ।
सभा अध्यक्षज्यू,
अब म चालु आर्थिक वर्षको आर्थिक गतिविधि तथा बजेट कार्यान्वयनको समीक्षा प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
- एकातर्फ कोभिड-१९ महामारी, रुस र युक्रेनबीचको युद्धबाट प्रभावित आपूर्ति श्रृङ्खला, विश्वव्यापी अर्थतन्त्रको शिथिलता र उच्च व्याजदरबाट लगानीमा परेको प्रभावका कारण समष्टीगत राष्ट्रिय अर्थतन्त्रमा समेत आर्थिक असहजता महशुस गरिएको छ भने अर्कोतर्फ चालु आर्थिक वर्षको लागि प्रक्षेपण गरिएको राजश्व र अनुदान प्राप्तिमा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन ।
- चालु आर्थिक वर्षमा कुल रु. ९५ करोड ६ लाख ६० हजारराजश्व तथा अनुदान प्राप्त हुने अनुमान गरिएकोमा जेठ मसान्तसम्म आन्तरिक स्रोत तर्फ ७८ दशमलव ३ प्रतिशत, बाँडफाँडबाट प्राप्त हुने राजश्व ५९ दशमलव ७९ प्रतिशत तथा संघीय र प्रादेशिक सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ८७ दशमलव ५ प्रतिशत मात्र प्राप्त भएको छ । जसले गर्दा, चालु आर्थिक वर्षको प्रक्षेपित आयको तुलनामा जेठ मसान्त सम्मको आय १७ दशमलव ९५ प्रतिशतले कम रहेको छ । जेष्ठ मसान्तसम्म राजश्व तर्फ रु४० करोड १० लाख ८ हजार र अनुदान प्राप्ति तर्फ रु . ७१ करोड ५१ लाख ६६ हजारमात्र प्राप्त भएको आधारमा चालु आर्थिक वर्षको कुल राजश्व तथा अनुदान प्राप्ति प्रक्षेपणको तुलनामा कम हुने देखिन्छ ।
- चालु आर्थिक वर्षको कुल विनियोजन मध्ये जेठ मसान्तसम्म चालु खर्च तर्फ रु. ४५ करोड ६६ लाख २ हजार अर्थात विनियोजनको ६० दशमलव ७५प्रतिशत र पुँजीगत खर्च तर्फ रु. २९ करोड ९ लाख ६६ हजार अर्थात विनियोजनको ४७ दशमलव ०३ प्रतिशत खर्च भएको छ । राजश्व तथा अनुदान प्राप्तिमा हुने कमीका कारण आर्थिक वर्षको अन्त्य सम्ममा हुने कुल सरकारी खर्च समेतमा कमी हुने अनुमान गर्न सकिन्छ ।
सभाध्यक्ष महोदय,
अब म चालु आर्थिक वर्षको बजेट कार्यान्वयनबाट हाल सम्म प्राप्त क्षेत्रगत उपलब्धि सारांशमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
आर्थिक विकास क्षेत्र
- कृषि तथा खाद्य सुरक्षा: चियाकोबजारीकरण र गुणस्तर प्रवर्द्धनका लागि प्रदेश सरकारको सहयोगमा निर्माणाधीन चिया परीक्षण, अनुसन्धान तथा प्रवर्द्धन केन्द्र (Tea Testing, Research and Promotion Center)को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विभिन्न स्थानमा तरकारी संकलन केन्द्र सञ्चालनका लागि आवश्यक पूर्वाधारहरु निर्माण गरिएको छ ।५० प्रतिशत लागत साझेदारीमा कृषकहरूलाईविभिन्न कृषि औजार तथा उपकरण र बीऊउपलब्ध गराइएको
छ । विगत वर्षदेखि सञ्चालनमा रहेका पकेट विकास कार्यक्रमहरुलाई निरन्तरता दिई वडा नं ९ र १४ मा नयाँ तरकारी बालि पकेट विकास कार्यक्रम सञ्चालन गरिएको छ । तरकारी कृषकहरूलाई आवश्यक पर्ने कीटनाशक औषधी र तरकारी बिऊ-किट निशुल्क उपलब्ध गराइएको छ । किसान सूचीकरण कार्यक्रम अन्तरगत हालसम्म ४ हजार कृषकहरुको सूचीकरण गरिएको छ । - सिंचाई: साना सिंचाई परियोजना अन्तरगत ४ वटा सिंचाई आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ भने १ वटा आयोजना यसै आर्थिक वर्ष भित्र सम्पन्न हुनेछ ।यसबाट थप ११८ दशमलव ७ हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार भइ हाल सम्म जम्मा ३ सय ४० दशमलव ५ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलव्ध छ । जुन नगरको कूल खेतीयोग्य जमिनको ३ दशमलव ५५ प्रतिशत हो । यस वर्ष निर्माण कार्य प्रारम्भ भएका २ वटा सिंचाई आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न हुने
छन् । सम्भाव्यता अध्ययन गरिएका जम्मा ६१ वटा सिंचाई आयोजनाहरु मध्ये हाल सम्म २० वटा सिंचाइ आयोजना संचालनमा आइ ९१२ घरधुरी लाभान्वित भएका
छन् । जल उपभोक्ता संस्थालाई नगरपालिकामा दर्ता गरी वैधानिक बनाइएको छ भने जल उपभोक्ता संस्थाका पदाधिकारीलाई आयोजनाको नियमित मर्मत संभारका लागि आवश्यक पर्ने औजार र तालिम उपलव्ध गराइएको छ । - पशुपन्छी विकास: पशुपालनक्षेत्रलाई नगर वासीको दिगो आम्दानीको स्रोत बनाउन विभिन्न कार्यक्रमहरू सञ्चालनगरिएका छन्।नगर क्षेत्रबाट दैनिक २ लाख लिटर दुध उत्पादन गर्ने लक्ष्य पुरा गर्ने उद्देश्यका साथ नश्ल सुधार कार्यक्रम अन्तरगत ४ सय १८ उन्नत नश्लको सेक्सड सिमेन, १ सय ५० अमेरिकन सिमेन र ५ हजार ४ सय ७३ नेपालमा संकलन गरी प्याकिङ गरिएको सिमेन सहित कुल ६ हजार ४१ डोज सिमेनबाट नगर क्षेत्रका गाईमा कृत्रिम गर्भाधान गरिएको छ । त्यसैगरी ५० प्रतिशत अनुदानमा ५६ सेट मोटर सहितको च्यापकटर र १ सय ५० वटा काउम्याट वितरण गरिएको छ भने १० वटा गोठ सुधार गरिएको छ । गाई पकेट विकास कार्यक्रम अन्तरगत २३ वटा गाई खरिद, १० वटा गोठ सुधार, १९ वटा मोटर सहितको च्यापकटर, ८८ वटा काउम्याट, २ वटा मिल्क एनालाईजर र १३ वटा मिल्क क्यान खरिदमा अनुदान उपलब्ध गराइएको छ ।
- हालसम्म प्राप्त भएको विवरण अनुसार महामारीको रूपमा फैलिएको लम्पि स्किन डिजिजको सङ्क्रमण भएका १ सय ७० माउ गाई, ३९ कोरली, १११ बाछाबाछी र २८ गोरु गरी ३ सय ४८ पशुधनको नोक्सान भएबाट सिङ्गो नगरलाई दुखी तुल्याएको
छ । सङ्क्रमण रोकथामका लागि प्रत्येक वडामा कम्तिमा १ जना पशुसेवा प्राविधिक परिचालन गरी ६ हजार ६ सय ३८ पशुधनको उपचार गरिएको छ भने महामारी नियन्त्रणको लागि खरिद गरिएको ४ हजार लम्पि स्किन डिजिज विरुद्धको खोप मध्ये २ हजार ८ सय पशुहरुमा खोप लगाईएको छ । - पशुपंक्षी खोप सेवा अन्तरगत खोरेत रोग विरुद्ध ७ हजार, पि पि आर रोग विरुद्ध ६ हजार, स्वाइन फिवर रोग विरुद्ध ५ सय र रेविज रोग विरुद्ध ४ सय १७ खोप लगाईएको छ । छुर्पी प्रवर्द्धन कार्यक्रम अन्तरगत ७ वटा मझौला डेरी उद्योगको प्रवर्द्धनका लागि सामग्री खरिदमा अनुदान उपलब्ध गराइएको छ भने २८ जना व्यवसायीहरूलाई स्वच्छ तथा सफा दुध उत्पादन तालिम उपलब्ध गराइएको छ ।
- मत्स्य मिसन कार्यक्रम अन्तगरत ५ जना व्यवसायीहरू तथा एउटा समूहलाई पोखरी निर्माण तथा मर्मत सुधारको लागि अनुदान, २१ जनालाई ३ दिने मत्स्यपालन तालिम तथा ५० प्रतिशत अनुदानमा १ लाख ८६ हजार फ्राई साइजको कमन र ग्रास कार्पको भुरा उपलब्ध गराइएको छ ।
- उद्योग तथा व्यापार:नगर क्षेत्रभित्र उत्पादन र प्रशोधन हुने चियाको गुणस्तर वृद्धि गर्नका लागि नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा चिया दिवसको अवसरमा प्रशोधित चियाको मिनि-अक्सन बजार(Mini-Auction Market)को नमुना बिक्री कक्षको अभ्यास भएको छ साथै नगर क्षेत्र भित्र १ सय ५० वटा भकारो सुधार भएका छन् । सूर्योदय नगर उद्योग वाणिज्य संघसँगको सहकार्यमा नगर क्षेत्रभित्रका उद्यमीहरुको तथ्याङ्क संकलन गरिएको छ साथै उद्यमी र व्यवसायीहरूको समस्या समाधानका लगि व्यवसाय संवाद कार्यक्रम सञ्चालन गरिएको छ ।
- पर्यटन तथा संस्कृति:नगर क्षेत्रमा आउने पर्यटकहरुको सुविधाका लागि पशुपतिनगर नाकामा पर्यटन सूचना केन्द्रको भवन निर्माण सम्पन्न भई सञ्चालनको क्रममा रहेको छ । विश्व पर्यटन दिवसको अवसरमा सूर्योदय फोटो कन्टेस्ट साथै पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन गरिएको छ । कन्याम पर्यटकीय क्षेत्रमा रङरोगन र थप पूर्वाधार निर्माण गरी सौन्दर्यकरण गरिएको छ । नवप्रवर्तन साझेदारी कोष अन्तरगत कन्याम डुडेगैरा साइक्लिङ ट्रयाक र Suspension Bridge with glass deck को निर्माण कार्य सञ्चालन भई रहेको छ भने विभिन्न तालिम सञ्चालन तथा लाप्चा सङ्ग्राहलयको व्यवस्थापन गर्ने कार्य गरिएको छ । वडा नं १० स्थित ऐतिहासिक फेन्सोङ गुम्बा पार्कको सौन्दर्यकरणको कार्य अघि बढिरहेको छ । वडा नं ३ स्थित बुद्धपार्कमा मुर्तिको ठि मा बुट्टा कुँद्ने कार्य तथा Retaining wall र Ticket counter निर्माण कार्य सम्पन्न भएको छ । फिक्कल बजारमा सौन्दर्यकरण र पदमार्ग निर्माणको कार्य गरिएको छ ।
- प्रदेश सरकारसँगको सहकार्यमा कन्याम पर्यटकीय पूर्वाधार निर्माण अन्तरगत ५ सय ६० मिटर लामो Walking Trail को निर्माण कार्य सम्पन्न भएको छ । तिनतले झरना, रानीवन वाटीका, स्वामी पार्क, जरायो टार, साँस्कृतिक महत्व बोकेका विभिन्न मन्दिर तथा गुम्बाहरु लगायतका साना पर्यटकीय पूर्वाधारहरुको स्तरोन्नती र सौन्दर्यकरण गरिएको छ ।एकीकृत सघन शहरी पूर्वाधार विकास कार्यक्रम अन्तरगत वडा नं ५ मा नमूना पर्यटन गाँउको विकास, अन्तु पोखरी रजोर पोखरी संरक्षण र सौन्दर्यकरण रकन्याम पार्क निर्माणको कार्य अघी बढी रहेको छ ।
- भूमि व्यवस्था, सहकारी तथा वित्तीय व्यवस्था:नगर क्षेत्र भित्रका सहकारीहरुको क्षमता विकासका लागि ६ वटा वडाहरूमा क्षमता अभिवृद्धि तथा व्यवस्थापन तालिम, ५० वटा सहकारीहरूलाई आधारभूत लेखा तालिम, ६० वटा सहकारीलाई कोपोमिस (COPOMIS)तालिम दिइएको छ । नगरपालिकाको नियमन क्षेत्रभित्र पर्ने सबैसहकारी संस्थाहरूलाई सहकारी तथा गरिबी सम्बन्धी एकीकृत सूचना प्रणाली (COPOMIS) मा आबद्ध गरिएको छ । खास गरि विभिन्न बचत तथा ऋण सहकारीहरूको व्यवस्थापनमा देखिएको कमजोरीहरूलाई मध्यनजर गरीसहकारी संस्थाहरूको अनुगमनलाई थप प्रभावकारी बनाइएको छ ।
- नेपाल सरकारबाट जारी भएको भू-उपयोग ऐन र नियमावलीलाई आधार बनाइ नगरपालिकाबाट भू-उपयोग कार्यविधि जारी गरी नगर क्षेत्रभित्रका सबै जग्गाहरूको वर्गीकरण गर्ने कार्य सम्पन्न भएको छ । गत वर्ष लगत संकलन कार्य सम्पन्न भएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासीर अव्यवस्थित वसोवासीहरू मध्ये वडा नं. ९ मा जग्गा नापी र नक्साङ्कन गर्ने कार्य सम्पन्न गरिएको छ भने वडा नं ११ मा अन्तिम चरणमा पुगेको छ ।
- श्रम तथा रोजगारी: नगरपालिका क्षेत्रभित्रका १४ वटा माध्यमिक विद्यालयमा वृत्ति मार्गनिर्देशन परामर्श तालिम तथा रोजगारदाता र सीप हासिल गरेका दक्ष बेरोजगार नगरवासीबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ रोजगार मेला आयोजना गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तर्गत ९ वटा आयोजनाहरू सञ्चालन गरिएको छ भने आगामी आर्थिक वर्षको लागि ६ सय ३० जना बेरोजगार व्यक्तिहरु सूचिकृत गरिएको छ। वैदेशिक रोजगारमा निहित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले वित्तीय साक्षरता, मनोसामाजिक परामर्श र रोजगार प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गरिएका
छन् ।आप्रवासी नागरिकहरू सदस्य रहने गरी एक सहकारीको स्थापना गरिएको
छ । - गरिबी निवारण: गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत २ वटा वडास्तरीय अभिमुखीकरण, ६ वटा सहभागितामूलक ग्रामीण लेखाजोखा, १ सय ४० वटा उद्यमी पहिचान सर्वेक्षण गरिएको छ भनेविपन्न परिवारका ८० जना उद्यमीलाई उद्यमशीलता विकास तालिम र १ सय २२ जना लाई सीपमूलक तालिम उपलब्ध गराइएको छ । गरिब घर परिवार पहिचान कार्यक्रम अन्तरगत नगरपालिकाका सबै घरधुरीको तथ्याङ्क संकलनको कार्य सम्पन्न गरिएको छ । गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरगत वडा नं ३ र ५ का विपन्न नागरिकहरूलाई समूहका माध्यमबाट परिचालन गरि आर्थिक अवस्थामा सुधार गर्ने क्रियाकलापहरू संचालन गरिएका छन् ।
सामाजिक क्षेत्र
- शिक्षा, भाषा, कला तथा साहित्य : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत गत वर्ष निर्माण प्रारम्भ भएका ७ वटा विद्यालय भवनहरुको निर्माण कार्य सम्पन्न गरिएको छ भने ५ वटा विद्यालय भवनहरु निर्माणको अन्तिम चरणमा रहेको छन् । १७ वटा सामुदायिक विद्यालयहरुका विद्यालय भवन र शौचालयको मर्मत सम्भार, १५ वटा सामुदायिक विद्यालयहरुलाई मागको आधारमा जस्ता पाता उपलब्ध गराइएको छ भने २ वटा सामुदायिक विद्यालयहरूमा गणित तथा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । नगर क्षेत्रका सबै सामुदायिक विद्यालयहरूमा इन्टरनेटको पहुँच र कम्प्युटर र प्रिन्टरको उपलब्धता सुनिश्चितता गरिएको छ । करफोक माध्यमिक विद्यालयमा निर्माणाधिन संरचनाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नमुना विद्यालयको रूपमा फिक्कल माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यहरूगरिएको छ ।
- सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको बचत बानीको विकास गर्ने साथै भविष्यमा आर्थिक टेवा पुर्याउने उद्देश्यका साथ हालसम्म १ हजार ५ सय ६४ बालबालिकाको बाल बचत खाता खोलिएको छ । सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई प्रविधिमैत्री शिक्षणमा सहयोग पुर्याउने उद्देश्यले १ सय जना शिक्षकहरुलाई आधारभूत कम्प्युटर तालिम उपलब्ध गराइएको छ । बाह्र महिना बाह्र कार्यक्रम अन्तरगत विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापहरुलाई प्रतियोगितामा आधारित बनाई विद्यार्थीको चौतर्फी क्षमता अभिवृद्धिमा सहयोग पुर्याइएको छ । सूर्योदय नगरपालिकाकोकक्षा १-८ को स्थानीय पाठ्यक्रम तयार भएकोमा कक्षा १-५ को लागिहाम्रो सूर्योदय नामक स्थानीय पाठ्यपुस्तक सबै विद्यालयहरुमापठनपाठन शुरु गरिएको छ भने कक्षा ६-८ को पाठ्यपुस्तकको सम्पादन अन्तिम चरणमा पुगेको छ।
- नगरपालिकाको एकमात्र सामुदायिक क्याम्पस करफोक विद्यामन्दिर बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत १ सय ५३ जना छोरीबुहारीलाईछात्रवृत्ति उपलब्ध गराइएको छ भने मेयर शिक्षा सुधार कोष मार्फत प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ ।
- सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको पारिश्रमिक मासिक रूपमा विद्युतीय माध्यमबाट सोझै व्यक्तिगत खातामा भुक्तानी हुने व्यवस्था गरी विद्यालयको प्रशासनिक बोझको न्यूनीकरण गरिएको छ । सामुदायिक विद्यालयहरुको यथार्थ अवस्थाको जानकारी लिने उद्देश्यले तेस्रो पक्षबाट अनुगमन गराइएको छ । भाषा, कला, सँस्कृति संरक्षण तथा सम्वर्द्धन सम्बन्धी क्रियाकलापहरू संचालन गरिएका छन् ।
- आधारभूत स्वास्थ्य तथा पोषण: प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा सञ्चालनमा रहेको फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत मापदण्ड पुरा गरी नगर अस्पतालको रूपमा सञ्चालनमा ल्याइएको छ ।निर्माणाधिननगर अस्पतालको भौतिक संरचना निर्माणकोकार्य द्रुत गतिमा अघि बढिरहेको छ । सबै वडाहरुमा कम्तिमा आधारभूत स्वास्थ्य सेवाको पँहुच सुनिश्चित गरिएको छ । जापानी दुतावासको सहयोगमा निर्माण सम्पन्न भएको मातृ तथा बाल क्लिनिक, गोगनेमा सेवा सुचारु गरिएको छ ।वडा नं ११ को स्वास्थ्य चौकी भवनको निर्माण कार्य सम्पन्न गरी सेवा सूचारु गर्न योग्य तुल्याईएको छ । ग्रामिण अल्ट्रासाउन्ड र ANC to PNC सेवालाई प्रभावकारी बनाइएको छ । नियमित खोप सेवालाई थप प्रभावकारी बनाई पूर्ण खोप दिगोपना सुनिश्चित गरिएको छ । नगरलाई पोषणमैत्री स्थानीय तह घोषणा गर्नको लागि २ वटा वडाको स्वास्थ्य तथा पोषण प्रोफाइल तयार गरिएको छ । सबै सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्थाको तह अनुसारको न्यूनतम मापदण्ड पालनाको अवस्थाको निगरानी गरिएको छ । नगरक्षेत्रका सबै टोल बस्तीहरुमा एम्बुलेन्स सेवाको पँहुच सुनिश्चित गर्न “ख” वर्गको एक थान एम्बुलेन्स खरिद गरिएको छ भने नगरपालिकाले प्राप्त गरेको एक थान एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराइएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी दृष्टी परीक्षण कार्यक्रमतथा सबै वडाहरुमा मोतियाविन्दुको स्क्रिनिङ गरी शल्यक्रिया शिविर सञ्चालन गरिएको
छ । सबै स्वास्थ्य संस्थाहरुमा औषधी तथा उपकरणहरुको अभिलेखलाई डिजिटल माध्यममा परिणत गरिएको छ । कोभिड १९ खोपको विद्युतीय प्रमाणीकरण प्रणाली र जटिल रोगको उपचारका लागि उपलब्ध गराइने सहायता सिफारिस कार्यलाई सहज बनाइएको छ । - खानेपानी तथा सरसफाई: विभिन्न १६ वटा साना खानेपानी आयोजनाको मर्मत सम्भार मार्फत मुहान संरक्षण गरी बस्ती स्तरमा शुद्ध पिउने पानीको व्यवस्थापन गरिएको छ । फिक्कल पन्चकन्या खानेपानी आयोजना र अन्तु खानेपानी आयोजना सञ्चालनमा आवश्यक समन्वय गरिएको छ । नगर क्षेत्र भित्र सञ्चालनमा रहेका वृहत तथा साना खानेपानी आयोजनाहरुको नियमन र व्यवस्थापनका लागि कानुनी पूर्वाधार तयार गरिएको छ । सरसफाई सचेतना, डस्टविन वितर तथा विभिन्न अवसर पारेर नगरका प्रमुख पर्यटकीय स्थल र बजार क्षेत्रमा सरसफाइ अभियान मार्फत सचेतना अभिवृद्धि गरिएको छ ।
- महिला, बालबालिका तथा सामाजिक समावेशीकरण: महिला, दलित वर्ग र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी आयआर्जन, सीपमूलक तथा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्रीका साथै अपाङ्गता भएका महिलाहरुलाई स्यानीटरी प्याड वितरण गरिएको छ ।
- सबै वडाका निर्वाचित महिला सदस्यहरुलाई १ दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । ३ सय ३ जना अपाङ्गता भएका व्यक्तिहरु, ८० जना विपन्न दलित परिवारका सदस्यहरु, १ सय ७३ जना पचास वर्ष मुनीका अविवाहित एकल महिला, ८५ जना पचास देखि ६० वर्ष उमेर समुहका अविवाहित एक महिलाको स्वास्थ्य बीमाको प्रिमियम भुक्तानीमा सहयोग गरिएको छ ।विभिन्न स्थानमा सञ्चालन भएका स्वास्थ्य शिविरबाट जम्मा ९ सय ५७ नगरवासीहरूले आफ्नो स्वास्थ्य परीक्षण गरी रोग निदान तथा उपचार सम्बन्धी सेवा प्राप्त गर्नुभएको छ ।
- बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाका लागि आवश्यक शर्तहरु पूरा गरी सूर्योदय नगरपालिका नेपालको १० औं र प्रदेशको तेस्रो बालमैत्री स्थानीय शासनयुक्त र बालश्रम मुक्त नगरपालिका घोषणा भएको छ । बालमैत्री स्थानीय शासनयुक्त पालिकाको दिगोपनाका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन भईरहेका छन् । यस वर्ष २ जना सडक बालबालिकार २ जना वेवारीसे महिलाहरुलाई उद्धार गरी पुनर्स्थापना गरिएको छ । संरक्षक नभएका असाहाय बालबालिकालाई आवश्यक पर्ने जीवनयापनका अनिवार्य आवश्यकता साथै शैक्षिक सामग्रीउपलब्ध गराइएको छ ।
- युवा तथा खेलकुद:युवाहरुलाई खेलप्रतिको आकर्षण वृद्धि गरी शारीरिक रूपमा तन्दुरुस्त र अनुशासित नागरिकको रूपमा विकास गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुको उत्पादन गर्नको लागि नगरपालिकाद्वारा खेल क्षेत्रमा विभिन्न क्रियाकलापहरु सञ्चालन भएका छन् । संविधान दिवसको अवसरमा म्याराथन, अन्तर मा वि छात्रा छात्र फुटवल तथा भलिवल प्रतियोगिता सञ्चालन गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस नगरपालिकालाईकराँतेको ४, तेक्वान्दोको १, रिले दौडको १ गरी जम्मा ६ वटा स्वर्ण सहित २३वटा पदक हासिल गरी जिल्लाको तेस्रो स्थान हासिल भएको छ । विभिन्न विद्यालयमा उस्सु, रग्वी र बास्केटवलको समेत प्रशिक्षण आरम्भ गरिएको छ ।युवाहरुलाई लक्षित गरी कम्प्युटर तालिम, लोकसेवा आयोग र शिक्षा सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको छ । युवाहरुको नेतृत्व विकासको लागि नमुना युवा संसद अभ्यास कार्यक्रम सञ्चालन गरिएको छ ।
- सामाजिक सुरक्षा तथा पञ्जीकरण: घटना दर्ता सप्ताह अन्तरगत नगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक माध्यमिक विद्यालयहरुका शिक्षक र विद्यार्थीहरुलाई घटना दर्तासँग सम्बन्धित कानुनी प्रावधानहरुको बारेमा अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । सामाजिक सुरक्षा भत्ता पाउने सम्पूर्ण लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता त्रैमासिक रूपमा बैंक खातामा जम्मा हुने गरी आवश्यक व्यवस्थापन गरिएको छ । जेष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्रलाई विद्यूतीय माध्यमबाट जारी गर्ने प्रबन्ध गरिएको छ ।
पूर्वाधार क्षेत्र
- आवास, भवन तथा बस्ती विकास: सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत सम्झौता भएका ४ सय ८४ लाभग्राही मध्ये २ सय ४६ लाभग्राहीलाई पहिलो किस्ता भुक्तानी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सार्वजनिक प्रयोजनका लागि विभिन्न दाताहरुबाट जग्गा प्राप्ति भएको छ । फिक्कल र पशुपतिनगरमा जग्गा लिजमा लिई पार्किङ व्यवस्थापन गरिएको छ ।
- सडक, पुल तथा यातायात: नगरको गौरवको योजनाको रुपमा रहेका बाह्रमासे सडक (All Weather Road) कोनिर्माणलाई सबै वडामा निरन्तरता दिइएको छ । बरबोटे-कट्टेबुङ-छिरुवा सडक, तकपट-अम्बिटार सडक, फिक्कल-मलिम-जुरेभन्ज्याङ्ग सडक, पाल्टाङे-सिद्धिखोलासडक, बरबोटे-पान्दाम-जिल सडक, फिक्कल अस्पतालदेखि छिपिटार सडक जस्ता नगरका प्रमुख सडकहरुलाई प्राथमिकतामा राखि कालोपत्रे गर्ने लक्ष्यका साथ स्तरोन्नतिको कार्य निरन्तर भइरहेको छ ।
- संघीय सरकारको लगानीमा भालुखोप-खुदुनाबारी सडकको कालोपत्रे, ऋषिमोड-गोर्खे-मानेभन्ज्याङ्ग सडक खण्डमा ७ सय ५० मिटर ढलान कार्य, हुरहुरे भन्ज्याङ-चालिसे टार सडकको निर्माणको कार्य सञ्चालनमा रहेका छन् ।
- प्रदेश सरकारको लगानीमा बरबोटे-गुप्ति-नयाँबजार सडकको कालोपत्रे गर्ने कार्य, रुङसुङचोक-मेहेलबोटे सडक, कालापानी-माघे-सुन्तले सडकको स्तरोन्नती कार्य अघी बढिरहेको छ ।
- नगरपालिका क्षेत्रभित्रको सडक सञ्जाललाई ६७ कि मि कालोपत्रे सडक र १ सय ३३ कि मि ग्राभेल सडकमा पुर्याइएको छ भने कच्चि सडकको जम्मा लम्बाइ ५ सय ८१ कि मि मा झारिएको छ । सडक बोर्ड नेपालको सहयोगमा ५ वटा सडकहरुको मर्मत सम्भार सम्पन्न गरी ६ वटा सडकहरूको मर्मत सम्भार कार्य सुचारु रहेको छ । यसवर्ष विभिन्न सडकहरुको ३ सय ४८ कि मि नियमित मर्मत सम्भार कार्य सम्पन्न गरिएको छ ।
- निर्माणाधिन धोद्रे खोला झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने थप २ वटा झोलुङ्गे पुल निर्माणका लागि सर्भे, डिजाइन र लागत अनुमान तयारी कार्य सम्पन्न भएको छ ।
- जलस्रोत, जलविद्युत तथा स्वच्छ उर्जा:नगर क्षेत्र भित्रका पानीका स्रोतहरूको संरक्षण गर्ने कार्य गरिएको छ । नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा काठका पोलहरूको प्रतिस्थापन गर्ने र विद्युत लाइन विस्तार गर्ने कार्य भएको छ । उर्जा खपतलाई वृद्धि गर्न विद्युतीय चुल्होको वितरण गरिएको छ । नगर क्षेत्रमा सौर्य उर्जा र वायो ग्यासको प्रवर्द्धन गर्न नविकरणीय उर्जा प्रवर्द्धन केन्द्रसँग आवश्यक समन्वय गरिएको छ ।
- सूचना सञ्चार तथा प्रविधि:नेपाल दुरसंचार प्राधिकरणको सहकार्यमा नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा इन्टरनेटको पँहुच विस्तार गरिएको छ । नेपाल टेलिकमले प्रदान गर्ने FTTHसेवालाई नगरक्षेत्र भित्र विस्तार गर्ने कार्य अघि बढिरहेको छ भने अन्य विभिन्न इन्टरनेट सेवा प्रदायकहरूको समन्वयमा ग्रामीण क्षेत्रमा इन्टरनेट सेवाको पँहुचमा वृद्धि हुँदै गएको छ । कार्यालयको आन्तरिक कार्यसम्पादन र सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाइएको छ । नगरपलिकाको मोवाइल एप निर्माण सम्पन्न गरी मोबाइल एप र वेवसाइटबाट सरोकारावालासम्म सूचना तथा जानकारी प्रवाह गर्ने कार्यलाई प्रभावकारी तुल्याइएको छ । नगरपालिकामा हुने सम्पूर्ण बैठकहरूलाई व्यवस्थित गर्न र कागज रहित बनाउनको लागि प्रविधि विकास गरी कार्यान्वयनमा ल्याइएको छ । डिजिटल हस्ताक्षर कार्यान्वयनका लागि आवश्यक पूर्वाधार विकास गरिएको छ ।
वातावरण तथा विपद् व्यवस्थापन क्षेत्र
- वन, हरियाली, भू संरक्षण तथा जैविक विविधता:नगर क्षेत्रभित्र वनतथा हरियाली क्षेत्रको संरक्षण र विस्तार गर्नुका साथै भू-संरक्षण तथा जैविक विविधता कायम गरी वातावरण स्वच्छ राख्ने उद्देश्यले विगत वर्षदेखि सञ्चालित वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै यो वर्ष विभिन्न जातका १ लाख ५८ हजार ७ सय ६० वृक्षारोपण गरिएको छ ।
- वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन :Sustainable Tourism Livelihood Recovery Project मार्फत १२ वटा Waste Collection Pit को निर्माण सम्पन्न भएको छ । नगरका विभिन्न क्षेत्रहरुमा ३८ वटा डस्टविन राखिएको छ ।एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको स्थापनाका लागि नेपाल सरकारबाट जग्गा खरिदको सहमति प्राप्त भएको छ । नगर क्षेत्रमा उत्सर्जन हुने फोहोरको संकलन र व्यवस्थापनको कार्यलाई प्रभावकारी रूपमा अघि बढाइएको छ ।
- विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन: विपद् प्रतिकार्य योजनाको तर्जुमा गरी विपद् व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ । Making Cities Resilient -2030 (MCR-2030) मा सूर्योदय नगरपालिकाको औपचारिक सहभागिताबाट सन् २०३० सम्म नगरलाई विपद् उत्थानशील नगरको रूपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ । विपद् जोखिममा आपत्कालिन सहायताको लागि आपत्कालिन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको छ । विपद् जोखिम न्यूनीकरणको लागि विभिन्न स्थानमा ६२ वटा Fire Extinguisher र विभिन्न १३ किसिमका उद्धार सामग्री खरिद गरी वितरण गरिएको छ । सम्भावित विपद्बाट प्रभावित नगरवासीहरूलाई जस्ता पाता, त्रिपाल, खानेपानी पाइप, कपडा, भाडाकुँडा जस्ता राहत सामग्रीहरू उपलब्ध गराई विपद् व्यवस्थापनमा आवश्यक कार्यगरिएको छ ।
संस्थागत विकास र सुशासन क्षेत्र
- नीति, कानुन, न्याय तथा सुशासन: सबै वडाहरुमा कानुनी साक्षरता तथा मेलमिलापकर्तासँग विवाद निरुपणका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । ३५ जना मेलमिलापकर्ताहरुलाई ४८ घण्टे आधारभूत तालिम प्रदान गरिएको छ । मेलमिलाप केन्द्र र न्यायिक समितिको प्रयासबाट यस वर्ष १ सय ४ वटा विवादको मेलमिलापको माध्यमबाट निरूपण गरिएको छ । नगरपालिका क्षेत्रभित्र रहेका व्यवसायहरूको अनुगमनका लागि संयुक्त अनुगमन टोली मार्फत मुख्य-मुख्य बजारहरूको अनुगमन गरी देखिएको कैफियतलाई सुधार गर्ननिर्देशन दिइएको छ । नगरपालिकाका विविध कामकारबाही र गतिविधिहरूलाई नियमन र व्यवस्थापन गर्नका लागि यस वर्ष समेत थप कानुन तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ । स्थानीय सरकारलाई पारदर्शी र जवाफदेही तुल्याउन सार्वजनिक सुनुवाइ, गुनासो चौतारी, सेवाग्राही सन्तुष्टी सर्वेक्षण लगायतका विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको छ । नियन्त्रणको वातावरणलाई स्थिर राख्दै जोखिम पहिचान, जोखिम व्यवस्थापन र अनुगमन कार्यलाई व्यवस्थित बनाइ आन्तरिक नियन्त्रणका उपायहरुलाई प्रभावकारी रुपमा अवलम्बन गरिएको छ ।
- सङ्गठन तथा क्षमता विकास, जनशक्ति व्यवस्थापन र सेवा प्रवाह:नगरपालिका र अन्तरगतका कार्यालयले नियमित रूपमा सम्पादन गर्ने कार्यलाई चुस्त र दुरुस्त तुल्याउन विशेष ध्यान दिइएको छ । कर्मचारी, पदाधिकारी, विभिन्न संघ संस्था र सहकारी, उपभोक्ता समिति लगायत समग्र नगरपालिकाको संस्थागत क्षमता अभिवृद्धिका लागि क्षमता विकास योजनाको कार्यान्वयनलाई प्राथमिकता दिइएको छ । प्रविधिमा आधारित सेवा मार्फत नगर कार्यपालिकाको कार्यालय र अन्तरगतका कार्यालयहरुबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी तुल्याईएको
छ । - राजश्व तथा स्रोत परिचालन:सूर्योदय नगरपालिकाको आर्थिक ऐनमा भएका व्यवस्थाका बारेमा सबै वडाहरुमा सचेतना तथा अन्तरक्रिया साथै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।राजश्व सुधार योजना निर्माण गरी कार्यान्वयनमा ल्याईएको छ । विभिन्न वडाहरुमा कार्यालय मार्फत राजश्व असुली शिविर सञ्चालन गरिएको छ । घर बहाल कर संकलनलाई व्यवस्थित गर्नको लागिवहालमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुको तथ्याङ्क संकलन गरिएको छ ।
- तथ्याङ्क प्रणाली, योजना र विकास व्यवस्थापन : नगरको वास्तविक अवस्था र आवश्यकताको पहिचान, सरोकारवालाहरुको लागि जानकारी एवं नीति, योजना तथा कार्यक्रम तर्जुमा र निर्णय प्रक्रियामा उपयोग गर्ने प्रयोजनका लागि नगरपालिकाको जनसङ्ख्या, आर्थिक अवस्था, भू-उपयोग, पूर्वाधार, सार्वजनिक सेवाको अवस्था जस्ता महत्वपूर्ण विषयहरुको तथ्याङ्क संकलन र विश्लेषण पश्चात् विषयक्षेत्रगत सूचना तथा जानकारी समावेश गरिएको वस्तुगत विवरण अध्यावधिक एवं प्रमाणीकरण गरी वेवसाइट र अन्य माध्यमबाटसरोकारवालाको पहुँच स्थापित गरिएको छ ।नगरपालिकाको योजना तर्जुमा तथा बजेट विनियोजनलाई नगरको वस्तुगत विवरण र भरपर्दो तथ्याङ्कको आधारमा निर्धारण गरिएको विषयक्षेत्रगत नतिजा सूचकलाई आधार बनाई योजना तथा कार्यक्रम तर्जुमा गर्ने प्रक्रियाको थालनी गरिएको छ । नगरपालिकाको उद्देश्य प्राप्तिका लागि निर्धारण गरिएका परिमाणात्मक लक्ष्य र वार्षिक योजनामा समावेश हुने क्रियाकलापहरूलाई नगरको यथार्थ आर्थिक अवस्था र आवश्यकतासँग तादम्यता कायम गर्न योजना तर्जुमा गर्नु पूर्व स्थानीय आर्थिक सर्वेक्षण गर्ने पद्धतिलाई यसै वर्षदेखि शुरुवात गरिएको छ ।
सभाध्यक्ष महोदय,
- चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा आ-आफ्नो क्षेत्रबाट योगदान पुर्याएर बजेटका उपलब्धी हासिल गर्नको लागि सहयोग गर्नुहुने सम्पूर्णनगरवासी, जनप्रतिनिधिज्यूहरु, कर्मचारी साथै सम्पूर्ण सरोकारवालाहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।
- आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा स्थानीय सरकारको रुपमा नगरपालिकालाई प्राप्त भएका अवसरहरुको उच्चतम सदुपयोग गर्दै जनसंख्या वृद्धि र बढ्दो सहरीकरणका कारण स्रोत, सेवा र रोजगारीका अवसरहरूको मागमा भएको वृद्धि लगायतका चुनौतीहरूलाई सम्बोधन गर्न र आर्थिक वृद्धिको सम्भावनाको सदुपयोग गर्न उत्पादन, उत्पादकत्व र रोजगारी सृजनालाई प्राथमिकतामा राख्दै सरकारी, निजी क्षेत्र र सहकारी संस्थाको लगानीलाई प्रोत्साहन गरी व्यवसायको विकास, रोजगारी सिर्जना र आर्थिक समृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ ।
- विद्यमान सामाजिक तथा आर्थिक असमानतालाई सम्बोधन गर्दै समावेशी न्याय र सामाजिक एकतालाई सुदृढ बनाउन स्रोत, अवसर र लाभमा समाजका सबै वर्गको पहुँच सुनिश्चित गरी उपलब्ध स्रोत र साधनको न्यायोचित वितरणको प्रभावकारितालाई ध्यानमा राखी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका उद्देश्य र प्राथमिकताहरू तर्जुमा गरिएको छ । बजेटले प्रभावकारी रूपमा उपलब्ध भएका स्रोतको बाँडफाँड गर्नको लागि विस्तृत रूपरेखा प्रदान गरी दिगो विकासलाई प्रवर्द्धन गर्न र वर्ग असमानतालाई कम गर्दै आर्थिक वृद्धि, सामाजिक विकास र समन्यायिक वितरणबीच सन्तुलन कायम गर्नेछ भन्ने कुरामा विश्वास दिलाउँदै आगामी वर्षको बजेट तथा कार्यक्रमका उद्देश्य प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
- आर्थिक वृद्धि र विकासको प्रवर्द्धन:यो बजेट आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने, लगानी आकर्षित गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने पहलहरूमा केन्द्रित हुनेछ। यसले दिगो र लचिलो स्थानीय अर्थतन्त्रलाई बढावा दिँदै विकास, नवप्रवर्तन र रोजगारी सिर्जनाको उच्च सम्भावना भएका क्षेत्रहरूलाई प्राथमिकता दिनेछ।
- वित्तीय दिगोपनको सुनिश्चितता:नगरपालिकाको दीर्घकालीन आर्थिक स्थायित्व सुनिश्चित गर्दै बजेट सन्तुलन कायम गर्नका लागियस बजेटले राजस्व परिचालनलाई सुदृढ गर्ने,लागत बचतका उपायहरू अवलम्बन गर्ने र कुशल स्रोत विनियोजनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।
- पूर्वाधार विकास: बजेटले नगरभित्रको आवागमन सुदृढ गर्नयातायात सञ्जालको सुधार र दिगो सहरी विकासलाई प्रवर्द्धन गर्दै सडक, पुल, खानेपानी, फोहोरमैला व्यवस्थापन, सहरी पूर्वाधार, सिँचाई र पर्यटन प्रवर्द्धनका अति आवश्यक पूर्वाधार आयोजनाहरूको निर्माण र मर्मत सम्भार गर्ने उद्देश्य राखेको छ ।
- सामाजिक कल्याण र समावेशीताको अभिवृद्धि: बजेटले जोखिममा परेका समूहहरूलाई सहयोग गर्न, सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न र असमानतालाई सम्बोधन गर्न स्रोतहरूको समन्यायीक विनियोजन गर्नेछ। नागरिकहरूको सामाजिक-आर्थिक पृष्ठभूमिमा विद्यमान विविधताका बाबजुत उनीहरूको कल्याण र सशक्तीकरण सुनिश्चित गर्न बजेटले सामाजिक सुरक्षा कार्यक्रम, स्वास्थ्य सेवा र शिक्षाका अवसरहरूलाई सुदृढ पार्ने लक्ष्य राखेको छ ।
- गुणस्तरीय सेवा प्रवाहमा अभिवृद्धि: स्वास्थ्य, शिक्षा, पूर्वाधार र सामाजिक कल्याण कार्यक्रम लगायतस्थानीय सरकारले उपलब्ध गराउनु पर्ने अत्यावश्यक सेवाहरूमा नागरिकको पहुँच सुनिश्चित गर्दै सार्वजनिक सेवाहरूको सुधार र विस्तार गर्न पर्याप्त स्रोतहरू विनियोजन गर्ने बजेटको लक्ष्य रहेको छ।
- सुशासन र जवाफदेहिताको सुदृढीकरण: यो बजेटले सार्वजनिक कोषको व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र सुशासनको अभ्यासलाई प्रवर्द्धन गर्दै वित्तीय पर्यवेक्षणलाई अभिवृद्धि गर्ने, सार्वजनिक खरिद प्रक्रियामा सुधार गर्ने र स्रोतको प्रभावकारी र समुचित उपयोग सुनिश्चित गर्न आन्तरिकनियन्त्रण संयन्त्रलाई सुदृढ गर्ने लक्ष्य राखेको छ