पर्यटन इलामको माङसेबुङमा धार्मिक पर्यटकको घुँइचो जीवनशैली लाप्चा जातिले आज नमबन पर्व मनाउदै, सूर्योदय र रोङमा आज स्थानीय बिदा जीवनशैली झण्डी डाँडामा पर्यटन समिति गठन जीवनशैली सूर्योदयमा विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न पर्यटन नयाँबजारमा बालाचतुर्दशी मेला जीवनशैली सूर्योदयमा बिज्ञान तथा गणित प्रदर्शनी शुरु जीवनशैली जिर्मले र रम्भ्याङ स्वास्थ्य चौकीमा थेरापी सोवामा स्थानीयको आकर्षण जीवनशैली सूर्योदय ८ मा ‘प्रथम मालुम पर्यटन महोत्सव’ शुरु कला / मनोरञ्जन सूर्योदय ८ मा आज देखि ‘प्रथम मालुम पर्यटन महोत्सव’ शुरु हुदै पालिका विशेष रोङ गाउँपालिकामा ६५ जनाको आँखाको निःशुल्क शल्यक्रिया
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाको बजेट १ अरब २६ करोड (पूर्ण बिवरण सहित)

  • प्रकाशित मितिः December 6, 2024
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाको बजेट १ अरब २६ करोड (पूर्ण बिवरण सहित)

इलामको सूर्योदय नगरपालिकाले आर्थिक बर्ष २०८०÷८१ का लागि १ अरब २६ करोडको बजेट सार्वजनिक गरेको छ ।

सूर्योदय नगरपालिकाको नगर सभाको तेह्रौ अधिवेशनमा उपप्रमुख श्री दुर्गा कुमार बरालले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष ०८०/०८१ को बजेट वक्तव्य

सभा अध्यक्षज्यू,

  • पूर्वी नेपालको सुन्दर पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको नगरसभाको यस अधिवेशनमा स्थानीय तहको दोस्रो कार्यकालको निर्वाचन पश्चात् पहिलो वर्ष पुरा गरी दोस्रो वर्षको लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यहाँ उपस्थित भएको छु । नेपालको संविधानको धारा २३० बमोजिम यस सभा समक्ष आर्थिक वर्ष २०८०।०८१ को लागि नगरपालिकाको राजस्व र व्ययको अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
  • यस घडीमा लोकतन्त्र प्राप्ति र सङ्‍घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाको लागि बिभिन्‍न कालखण्डमा भएका आन्दोलन लगायत राजनीतिक क्रान्ति एवम् सङ्घर्षका क्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
  • नेपालको संविधान बमोजिम राज्यको शासकीय संरचना तीन तहको सरकारबाट संरचित छ, जसमध्ये स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । संविधानत: स्थानीय सरकारलाई प्राप्त विधायीकी, कार्यकारिणी र न्यायिक अधिकारको प्रयोग गर्दै उपलब्ध सीमित स्रोत र साधनको उच्चतम परिचालन मार्फत प्राथमिकताको आधारमा नगरपालिकाबाट हुने सेवा प्रवाहको प्रभावकारी कार्यान्वयन गरी नगरवासीलाई परिवर्तनको अनुभूति गराउने उद्देश्य प्राप्तिका लागि नगरपालिका क्रियाशिल रहेको छ ।
  • नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतमा गरेका प्रतिबद्धता, नेपाल सरकारले लिएको सुखी र समृद्ध नेपालीको आकांक्षा एवम् प्रदेश सरकारले लिएको प्रादेशिक लक्ष्य प्राप्तिलाई टेवा पुर्‍याउदै नगरपालिकाको दीर्घकालिन सोच अनुरुपका लक्ष्य हासिल गर्न नगरपालिकाले उद्देश्य निर्धारण गरेको छ । तीउद्देश्यहरू प्राप्तिका लागि स्थानीय शासनलाई जवाफदेही, पारदर्शी र नतिजामुखी तुल्याउदै विगतका वर्षहरूबाट हुँदै आएका असल अभ्यासहरूलाई संस्थागत गरी नवीनतम् क्रियाकलापहरूमा विषेश जोड दिई नगरवासीको दीर्घकालीन समुन्नतीमा यो बजेट केन्द्रित भएको कुरामा म विश्वास दिलाउन चाहन्छु ।
  • सङ्‍घीय लोकतान्त्रिक गणतन्‍त्रात्मक शासन व्यवस्थाको माध्यमबाट लोकतन्त्रका आधारभूत मूल्य, मान्यताको सम्मान गर्दै”समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकाङ्क्षा, कोशी प्रदेशको प्रादेशिक सोच “स्वच्छ, सुखी तथा समुन्नत प्रदेश” एवम् सूर्योदय नगरपालिकाको दीर्घकालीन सोच “सूर्योदय नगरपालिकाको समृद्धता: प्राङ्गारिक कृषि, पर्या-पर्यटन र आर्थिक समानता” अनुरूपका उपलब्धिहरू हासिल गर्ने दिशामा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम लक्षित रहेको छ ।
  • स्थानीय तहको क्षेत्राधिकार अनुरूप वित्तीय सङ्‍घीयतालाई प्रभावकारी र दिगो बनाउन राजस्वको दायरामा विस्तार गरी स्रोतको परिचालनमा विनियोजन दक्षता, कार्यान्वयन कुशलता र वित्तीयअनुशासनको मूल मन्त्रलाई आत्मसाथ गर्दै नगरको विकास र नगरवासीको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न उपलब्ध स्रोत र साधनलाई केन्द्रित गरिएको छ ।
  • सङ्‍घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न एउटा बलियो आधारको रूपमा रहेको स्थानीय सरकारलाई प्राप्त अधिकारलाई अवसरको रूपमा प्रयोग गर्दै दिगो विकासका लक्ष्य, सङ्‍घीय तथा प्रदेश सरकारबाट योजना तर्जुमाका सम्बन्धमा प्राप्त मार्गदर्शन, नगरपालिकाको आवधिक योजनाका साथै मध्यमकालीन खर्च संरचना, नगर सभाबाट स्वीकृत भएका नीति तथा कार्यक्रम, आवधिक योजनाको मध्यावधि समीक्षाबाट प्राप्त सुझावहरू, स्थानीय आर्थिक सर्वेक्षणबाट देखिएको नगरपालिकाको वर्तमान अवस्था, योजना तर्जुमाका सिलसिलामा टोल तथा बस्ती स्तरबाट आवश्यकता र प्राथमिकताका आधारमा प्राप्त माग र सो सँग सम्बन्धित विषयगत समितिहरूमा भएको छलफल, प्राप्त सुझावसाथै विकास साझेदार, नागरिक समाज एवम् सरोकारवालाबाट प्राप्त पृष्ठपोषण समेतका आधारमा आन्तरिक राजस्व, वित्तीय हस्तान्तरण मार्फत सङ्‍घीय एवं प्रदेश सरकारबाट प्राप्त हुने रकम तथा विकास साझेदार संस्थाहरूसँग हुने साझेदारी समेतलाई समावेश गरी नेपालको संविधानले निर्दिष्ट गरेका स्थानीय तहका अधिकारक्षेत्र भित्रका दायित्वहरू र  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेका स्थानीय तहका काम कर्तव्य र अधिकारहरूका आधारमा प्राथमिकता प्राप्त योजना तथा कार्यक्रमहरूलाई समावेश गरी बजेट तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
  • सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न लोकतन्त्रका लाभहरूको समानुपातिक, समावेशी र न्यायोचित वितरण गरी कानुनी राज्य र दिगो विकासको अवधारणा अनुरूप समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तहदेखि नै सुदृढीकरण गर्दै जाने विषयलाई मध्यनजर गरी विकास निर्माणका क्रियाकलापहरु निर्धारण गरिएका छन् । यस सिलसिलामा नगरवासीको इच्छा, चाहना र आधारभूत आवश्यकतालाई दृष्टिगत गर्दा, प्राप्त हुन सक्ने स्रोतसँग तालमेल गर्न चुनौतिपूर्ण भए तापनि प्राथमिकताको आधारमा प्राप्त स्रोतलाई दिगो विकास तर्फ लगानी गर्ने प्रयास गरिएको छ।

सभा अध्यक्षज्यू,

अब म चालु आर्थिक वर्षको आर्थिक गतिविधि तथा बजेट कार्यान्वयनको समीक्षा प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

  • एकातर्फ कोभिड-१९ महामारी, रुस र युक्रेनबीचको युद्धबाट प्रभावित आपूर्ति श्रृङ्खला, विश्वव्यापी अर्थतन्त्रको शिथिलता र उच्च व्याजदरबाट लगानीमा परेको प्रभावका कारण समष्टीगत राष्ट्रिय अर्थतन्त्रमा समेत आर्थिक असहजता महशुस गरिएको छ भने अर्कोतर्फ चालु आर्थिक वर्षको लागि प्रक्षेपण गरिएको राजश्व र अनुदान प्राप्तिमा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन ।
  • चालु आर्थिक वर्षमा कुल रु. ९५ करोड ६ लाख ६० हजारराजश्व तथा अनुदान प्राप्त हुने अनुमान गरिएकोमा जेठ मसान्तसम्म आन्तरिक स्रोत तर्फ ७८ दशमलव ३ प्रतिशत, बाँडफाँडबाट प्राप्त हुने राजश्व ५९ दशमलव ७९ प्रतिशत तथा संघीय र प्रादेशिक सरकारबाट प्राप्त हुने समानीकरण अनुदान ८७ दशमलव ५ प्रतिशत मात्र प्राप्त भएको छ । जसले गर्दा, चालु आर्थिक वर्षको प्रक्षेपित आयको तुलनामा जेठ मसान्त सम्मको  आय १७ दशमलव ९५ प्रतिशतले कम रहेको छ ।  जेष्ठ मसान्तसम्म राजश्व तर्फ रु४० करोड १० लाख ८ हजार र अनुदान प्राप्ति तर्फ रु .  ७१ करोड ५१ लाख ६६ हजारमात्र प्राप्त भएको आधारमा चालु आर्थिक वर्षको कुल राजश्व तथा अनुदान प्राप्ति प्रक्षेपणको तुलनामा कम हुने देखिन्छ ।
  • चालु आर्थिक वर्षको कुल विनियोजन मध्ये जेठ मसान्तसम्म चालु खर्च तर्फ रु.  ४५ करोड ६६ लाख २ हजार अर्थात विनियोजनको ६० दशमलव ७५प्रतिशत र पुँजीगत खर्च तर्फ रु. २९ करोड ९ लाख ६६ हजार अर्थात विनियोजनको ४७ दशमलव ०३ प्रतिशत खर्च भएको छ । राजश्व तथा अनुदान प्राप्तिमा हुने कमीका कारण आर्थिक वर्षको अन्त्य सम्ममा हुने कुल सरकारी खर्च समेतमा कमी हुने अनुमान गर्न सकिन्छ ।

सभाध्यक्ष महोदय,

अब म चालु आर्थिक वर्षको बजेट कार्यान्वयनबाट हाल सम्म प्राप्त क्षेत्रगत उपलब्धि सारांशमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आर्थिक विकास क्षेत्र

  • कृषि तथा खाद्य सुरक्षा: चियाकोबजारीकरण र गुणस्तर प्रवर्द्धनका लागि प्रदेश सरकारको सहयोगमा निर्माणाधीन चिया परीक्षण, अनुसन्धान तथा प्रवर्द्धन केन्द्र (Tea Testing, Research and Promotion Center)को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विभिन्न स्थानमा तरकारी संकलन केन्द्र सञ्चालनका लागि आवश्यक पूर्वाधारहरु निर्माण गरिएको छ ।५० प्रतिशत लागत साझेदारीमा कृषकहरूलाईविभिन्न कृषि औजार तथा उपकरण र बीऊउपलब्ध गराइएको
    छ । विगत वर्षदेखि सञ्चालनमा रहेका पकेट विकास कार्यक्रमहरुलाई निरन्तरता दिई वडा नं ९ र १४ मा नयाँ तरकारी बालि पकेट विकास कार्यक्रम सञ्चालन गरिएको छ । तरकारी  कृषकहरूलाई आवश्यक पर्ने कीटनाशक औषधी र तरकारी बिऊ-किट निशुल्क उपलब्ध गराइएको छ ।  किसान सूचीकरण कार्यक्रम अन्तरगत हालसम्म ४ हजार कृषकहरुको सूचीकरण गरिएको छ ।
  • सिंचाई: साना सिंचाई परियोजना अन्तरगत ४ वटा सिंचाई आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ भने १ वटा आयोजना यसै आर्थिक वर्ष भित्र सम्पन्न हुनेछ ।यसबाट थप ११८ दशमलव ७ हेक्टर जमिनमा सिंचाई सुविधा विस्तार भइ हाल सम्म जम्मा ३ सय ४० दशमलव ५ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलव्ध छ । जुन नगरको कूल खेतीयोग्य  जमिनको ३ दशमलव ५५ प्रतिशत हो । यस वर्ष निर्माण कार्य प्रारम्भ भएका २ वटा सिंचाई आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न हुने
    छन् । सम्भाव्यता अध्ययन गरिएका जम्मा ६१ वटा सिंचाई आयोजनाहरु मध्ये हाल सम्म २० वटा सिंचाइ आयोजना संचालनमा आइ ९१२ घरधुरी लाभान्वित भएका
    छन् । जल उपभोक्ता संस्थालाई नगरपालिकामा दर्ता गरी वैधानिक बनाइएको छ भने जल उपभोक्ता संस्थाका पदाधिकारीलाई आयोजनाको नियमित मर्मत संभारका लागि आवश्यक पर्ने औजार र तालिम उपलव्ध गराइएको छ ।
  • पशुपन्छी विकास: पशुपालनक्षेत्रलाई नगर वासीको दिगो आम्दानीको स्रोत बनाउन विभिन्न कार्यक्रमहरू सञ्‍चालनगरिएका छन्।नगर क्षेत्रबाट दैनिक २ लाख लिटर दुध उत्पादन गर्ने लक्ष्य पुरा गर्ने उद्देश्यका साथ नश्ल सुधार कार्यक्रम अन्तरगत ४ सय १८ उन्नत नश्लको सेक्सड सिमेन, १ सय ५० अमेरिकन सिमेन र ५ हजार ४ सय ७३ नेपालमा संकलन गरी प्याकिङ गरिएको सिमेन सहित कुल ६ हजार ४१ डोज सिमेनबाट नगर क्षेत्रका गाईमा कृत्रिम गर्भाधान गरिएको छ । त्यसैगरी ५० प्रतिशत अनुदानमा ५६ सेट मोटर सहितको च्यापकटर र १ सय ५० वटा काउम्याट वितरण गरिएको छ भने १० वटा गोठ सुधार गरिएको छ । गाई पकेट विकास कार्यक्रम अन्तरगत २३ वटा गाई खरिद, १० वटा गोठ सुधार, १९ वटा मोटर सहितको च्यापकटर, ८८ वटा काउम्याट, २ वटा मिल्क एनालाईजर र १३ वटा मिल्क क्यान खरिदमा अनुदान उपलब्ध गराइएको छ ।
  • हालसम्म प्राप्त भएको विवरण अनुसार महामारीको रूपमा फैलिएको लम्पि स्किन डिजिजको सङ्क्रमण भएका १ सय ७० माउ गाई, ३९  कोरली, १११ बाछाबाछी र २८ गोरु गरी ३ सय ४८ पशुधनको नोक्सान भएबाट सिङ्गो नगरलाई दुखी तुल्याएको
    छ । सङ्क्रमण रोकथामका लागि प्रत्येक वडामा कम्तिमा १ जना पशुसेवा प्राविधिक परिचालन गरी ६ हजार ६ सय ३८ पशुधनको उपचार गरिएको छ भने महामारी नियन्त्रणको लागि खरिद गरिएको ४ हजार लम्पि स्किन डिजिज विरुद्धको खोप मध्ये २ हजार ८ सय पशुहरुमा खोप लगाईएको छ ।
  • पशुपंक्षी खोप सेवा अन्तरगत खोरेत रोग विरुद्ध ७ हजार, पि पि आर रोग विरुद्ध ६ हजार, स्वाइन फिवर रोग विरुद्ध ५ सय र रेविज रोग विरुद्ध ४ सय १७ खोप लगाईएको छ ।  छुर्पी प्रवर्द्धन कार्यक्रम अन्तरगत ७ वटा मझौला डेरी उद्योगको प्रवर्द्धनका लागि सामग्री खरिदमा अनुदान उपलब्ध गराइएको छ भने २८ जना व्यवसायीहरूलाई स्वच्छ तथा सफा दुध उत्पादन तालिम उपलब्ध गराइएको छ ।
  • मत्स्य मिसन कार्यक्रम अन्तगरत ५ जना व्यवसायीहरू तथा एउटा समूहलाई पोखरी निर्माण तथा मर्मत सुधारको लागि अनुदान, २१ जनालाई ३ दिने मत्स्यपालन तालिम तथा ५० प्रतिशत अनुदानमा १ लाख ८६ हजार फ्राई साइजको कमन र ग्रास कार्पको भुरा उपलब्ध गराइएको छ ।
  • उद्योग तथा व्यापार:नगर क्षेत्रभित्र उत्पादन र प्रशोधन हुने चियाको गुणस्तर वृद्धि गर्नका लागि नियमन र व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा चिया दिवसको अवसरमा प्रशोधित चियाको मिनि-अक्सन बजार(Mini-Auction Market)को नमुना बिक्री कक्षको अभ्यास भएको छ साथै नगर क्षेत्र भित्र १ सय ५० वटा भकारो सुधार भएका छन् । सूर्योदय नगर उद्योग वाणिज्य संघसँगको सहकार्यमा नगर क्षेत्रभित्रका उद्यमीहरुको तथ्याङ्क संकलन गरिएको छ साथै उद्यमी र व्यवसायीहरूको समस्या समाधानका लगि व्यवसाय संवाद कार्यक्रम सञ्चालन गरिएको छ ।
  • पर्यटन तथा संस्कृति:नगर क्षेत्रमा आउने पर्यटकहरुको सुविधाका लागि पशुपतिनगर नाकामा पर्यटन सूचना केन्द्रको भवन निर्माण सम्पन्न भई सञ्चालनको क्रममा रहेको छ । विश्व पर्यटन दिवसको अवसरमा सूर्योदय फोटो कन्टेस्ट साथै पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाहरुसँग अन्तरक्रिया र छलफल कार्यक्रम सञ्चालन गरिएको छ । कन्याम पर्यटकीय क्षेत्रमा रङरोगन र थप पूर्वाधार निर्माण गरी सौन्दर्यकरण गरिएको छ ।  नवप्रवर्तन साझेदारी कोष अन्तरगत कन्याम डुडेगैरा साइक्लिङ ट्रयाक र Suspension Bridge with glass deck को निर्माण कार्य सञ्चालन भई  रहेको छ भने विभिन्न तालिम सञ्चालन तथा लाप्चा सङ्ग्राहलयको व्यवस्थापन गर्ने कार्य गरिएको छ । वडा नं १० स्थित ऐतिहासिक फेन्सोङ गुम्बा पार्कको सौन्दर्यकरणको कार्य अघि बढिरहेको छ । वडा नं ३ स्थित बुद्धपार्कमा मुर्तिको ठि मा बुट्टा कुँद्‍ने कार्य तथा Retaining wall र Ticket counter निर्माण कार्य सम्पन्न भएको छ । फिक्कल बजारमा सौन्दर्यकरण र पदमार्ग निर्माणको कार्य गरिएको छ ।
  • प्रदेश सरकारसँगको सहकार्यमा कन्याम पर्यटकीय पूर्वाधार निर्माण अन्तरगत ५ सय ६० मिटर लामो Walking Trail को निर्माण कार्य सम्पन्न भएको छ । तिनतले झरना, रानीवन वाटीका, स्वामी पार्क, जरायो टार, साँस्कृतिक महत्व बोकेका विभिन्न मन्दिर तथा गुम्बाहरु लगायतका साना पर्यटकीय पूर्वाधारहरुको स्तरोन्नती र सौन्दर्यकरण गरिएको छ ।एकीकृत सघन शहरी पूर्वाधार विकास कार्यक्रम अन्तरगत वडा नं ५ मा नमूना पर्यटन गाँउको विकास, अन्तु पोखरी रजोर पोखरी संरक्षण र सौन्दर्यकरण रकन्याम पार्क निर्माणको कार्य अघी बढी रहेको छ ।
  • भूमि व्यवस्था, सहकारी तथा वित्तीय व्यवस्था:नगर क्षेत्र भित्रका सहकारीहरुको क्षमता विकासका लागि ६ वटा वडाहरूमा क्षमता अभिवृद्धि तथा व्यवस्थापन तालिम, ५० वटा सहकारीहरूलाई आधारभूत लेखा तालिम, ६० वटा सहकारीलाई कोपोमिस (COPOMIS)तालिम दिइएको छ । नगरपालिकाको नियमन क्षेत्रभित्र पर्ने सबैसहकारी संस्थाहरूलाई सहकारी तथा गरिबी सम्बन्धी एकीकृत सूचना प्रणाली (COPOMIS) मा आबद्ध गरिएको छ । खास गरि विभिन्न बचत तथा ऋण सहकारीहरूको व्यवस्थापनमा देखिएको कमजोरीहरूलाई मध्यनजर गरीसहकारी संस्थाहरूको अनुगमनलाई थप प्रभावकारी बनाइएको छ ।
  • नेपाल सरकारबाट जारी भएको भू-उपयोग ऐन र नियमावलीलाई आधार बनाइ नगरपालिकाबाट भू-उपयोग कार्यविधि जारी गरी नगर क्षेत्रभित्रका सबै जग्गाहरूको वर्गीकरण गर्ने कार्य सम्पन्न भएको छ । गत वर्ष लगत संकलन कार्य सम्पन्न भएका भूमिहीन दलित, भूमिहीन सुकुम्वासीर अव्यवस्थित वसोवासीहरू मध्ये वडा नं. ९ मा जग्गा नापी र नक्साङ्कन गर्ने कार्य सम्पन्न गरिएको छ भने वडा नं ११ मा अन्तिम चरणमा पुगेको छ । 
  • श्रम तथा रोजगारी: नगरपालिका क्षेत्रभित्रका १४ वटा माध्यमिक विद्यालयमा वृत्ति मार्गनिर्देशन परामर्श तालिम तथा रोजगारदाता र सीप हासिल गरेका दक्ष बेरोजगार नगरवासीबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यका साथ रोजगार मेला आयोजना गरिएको छ ।  प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना अन्तर्गत ९ वटा आयोजनाहरू सञ्चालन गरिएको छ भने आगामी आर्थिक वर्षको लागि ६ सय ३० जना बेरोजगार व्यक्तिहरु सूचिकृत गरिएको छ। वैदेशिक रोजगारमा निहित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले वित्तीय साक्षरता, मनोसामाजिक परामर्श र रोजगार प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गरिएका
    छन् ।आप्रवासी नागरिकहरू सदस्य रहने गरी एक सहकारीको स्थापना गरिएको
    छ ।
  • गरिबी निवारण: गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत २ वटा वडास्तरीय अभिमुखीकरण, ६ वटा सहभागितामूलक ग्रामीण लेखाजोखा, १ सय ४० वटा उद्यमी पहिचान सर्वेक्षण गरिएको छ भनेविपन्न परिवारका ८० जना उद्यमीलाई उद्यमशीलता विकास तालिम र १ सय २२ जना लाई सीपमूलक तालिम उपलब्ध गराइएको छ । गरिब घर परिवार पहिचान कार्यक्रम अन्तरगत नगरपालिकाका सबै घरधुरीको तथ्याङ्क संकलनको कार्य सम्पन्न गरिएको छ । गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरगत वडा नं ३ र ५ का विपन्न नागरिकहरूलाई समूहका माध्यमबाट परिचालन गरि आर्थिक अवस्थामा सुधार गर्ने क्रियाकलापहरू संचालन गरिएका छन् ।

सामाजिक क्षेत्र

  •  शिक्षा, भाषा, कला तथा साहित्य : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत गत वर्ष निर्माण प्रारम्भ भएका ७ वटा विद्यालय भवनहरुको निर्माण कार्य सम्पन्न गरिएको छ भने ५ वटा विद्यालय भवनहरु निर्माणको अन्तिम चरणमा रहेको छन् । १७ वटा सामुदायिक विद्यालयहरुका विद्यालय भवन र शौचालयको मर्मत सम्भार, १५ वटा सामुदायिक विद्यालयहरुलाई मागको आधारमा जस्ता पाता उपलब्ध गराइएको छ भने २ वटा सामुदायिक विद्यालयहरूमा गणित तथा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । नगर क्षेत्रका सबै सामुदायिक विद्यालयहरूमा इन्टरनेटको पहुँच र कम्प्युटर र प्रिन्टरको उपलब्धता सुनिश्चितता गरिएको छ । करफोक माध्यमिक विद्यालयमा निर्माणाधिन संरचनाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नमुना विद्यालयको रूपमा फिक्कल माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यहरूगरिएको छ ।
  • सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुको बचत बानीको विकास गर्ने साथै भविष्यमा आर्थिक टेवा पुर्‍याउने उद्देश्यका साथ हालसम्म १ हजार ५ सय ६४ बालबालिकाको बाल बचत खाता खोलिएको छ । सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई प्रविधिमैत्री शिक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले १ सय जना शिक्षकहरुलाई आधारभूत कम्प्युटर तालिम उपलब्ध गराइएको छ । बाह्र महिना बाह्र कार्यक्रम अन्तरगत विद्यालयमा सञ्चालन हुने अतिरिक्त क्रियाकलापहरुलाई प्रतियोगितामा आधारित बनाई विद्यार्थीको चौतर्फी क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याइएको छ । सूर्योदय नगरपालिकाकोकक्षा १-८ को स्थानीय पाठ्यक्रम तयार भएकोमा कक्षा १-५ को लागिहाम्रो सूर्योदय नामक स्थानीय पाठ्यपुस्तक सबै विद्यालयहरुमापठनपाठन शुरु गरिएको छ भने कक्षा ६-८ को पाठ्यपुस्तकको सम्पादन अन्तिम चरणमा पुगेको छ।
  • नगरपालिकाको एकमात्र सामुदायिक क्याम्पस करफोक विद्यामन्दिर बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत १ सय ५३ जना छोरीबुहारीलाईछात्रवृत्ति उपलब्ध गराइएको छ भने मेयर शिक्षा सुधार कोष मार्फत प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएको छ ।
  • सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको पारिश्रमिक मासिक रूपमा विद्युतीय माध्यमबाट सोझै व्यक्तिगत खातामा भुक्तानी हुने व्यवस्था गरी विद्यालयको प्रशासनिक बोझको न्यूनीकरण गरिएको छ । सामुदायिक विद्यालयहरुको यथार्थ अवस्थाको जानकारी लिने उद्देश्यले तेस्रो पक्षबाट अनुगमन गराइएको छ । भाषा, कला, सँस्कृति संरक्षण तथा सम्वर्द्धन सम्बन्धी क्रियाकलापहरू संचालन गरिएका छन् ।
  • आधारभूत स्वास्थ्य तथा पोषण: प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा सञ्चालनमा रहेको फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई आधारभूत मापदण्ड पुरा गरी नगर अस्पतालको रूपमा सञ्चालनमा ल्याइएको छ ।निर्माणाधिननगर अस्पतालको भौतिक संरचना निर्माणकोकार्य द्रुत गतिमा अघि बढिरहेको छ । सबै वडाहरुमा कम्तिमा आधारभूत स्वास्थ्य सेवाको पँहुच सुनिश्चित गरिएको छ । जापानी दुतावासको सहयोगमा निर्माण सम्पन्न भएको मातृ तथा बाल क्लिनिक, गोगनेमा सेवा सुचारु गरिएको छ ।वडा नं ११ को स्वास्थ्य चौकी भवनको निर्माण कार्य सम्पन्न गरी सेवा सूचारु गर्न योग्य तुल्याईएको छ । ग्रामिण अल्ट्रासाउन्ड र ANC to PNC सेवालाई प्रभावकारी बनाइएको छ । नियमित खोप सेवालाई थप प्रभावकारी बनाई पूर्ण खोप दिगोपना सुनिश्चित गरिएको छ । नगरलाई पोषणमैत्री स्थानीय तह घोषणा गर्नको लागि २ वटा वडाको स्वास्थ्य तथा पोषण प्रोफाइल तयार गरिएको छ । सबै सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्थाको तह अनुसारको न्यूनतम मापदण्ड पालनाको अवस्थाको निगरानी गरिएको छ । नगरक्षेत्रका सबै टोल बस्तीहरुमा एम्बुलेन्स सेवाको पँहुच सुनिश्चित गर्न “ख” वर्गको एक थान एम्बुलेन्स खरिद गरिएको छ भने नगरपालिकाले प्राप्त गरेको एक थान एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराइएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी दृष्टी परीक्षण कार्यक्रमतथा सबै वडाहरुमा मोतियाविन्दुको स्क्रिनिङ गरी शल्यक्रिया शिविर सञ्चालन गरिएको
    छ । सबै स्वास्थ्य संस्थाहरुमा औषधी तथा उपकरणहरुको अभिलेखलाई डिजिटल माध्यममा परिणत गरिएको छ । कोभिड १९ खोपको विद्युतीय प्रमाणीकरण प्रणाली र जटिल रोगको उपचारका लागि उपलब्ध गराइने सहायता सिफारिस कार्यलाई सहज बनाइएको छ  ।
  • खानेपानी तथा सरसफाई: विभिन्न १६ वटा साना खानेपानी आयोजनाको मर्मत सम्भार मार्फत मुहान संरक्षण गरी बस्ती स्तरमा शुद्ध पिउने पानीको व्यवस्थापन गरिएको छ । फिक्कल पन्चकन्या खानेपानी आयोजना र अन्तु खानेपानी आयोजना सञ्चालनमा आवश्यक समन्वय गरिएको छ । नगर क्षेत्र भित्र सञ्चालनमा रहेका वृहत तथा साना खानेपानी आयोजनाहरुको नियमन र व्यवस्थापनका लागि कानुनी पूर्वाधार तयार गरिएको छ । सरसफाई सचेतना, डस्टविन वितर तथा विभिन्न अवसर पारेर नगरका प्रमुख पर्यटकीय स्थल र बजार क्षेत्रमा सरसफाइ अभियान मार्फत सचेतना अभिवृद्धि गरिएको छ ।
  • महिला, बालबालिका तथा सामाजिक समावेशीकरण: महिला, दलित वर्ग र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी आयआर्जन, सीपमूलक तथा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्रीका साथै अपाङ्गता भएका महिलाहरुलाई स्यानीटरी प्याड वितरण गरिएको छ ।
  • सबै वडाका निर्वाचित महिला सदस्यहरुलाई १ दिने कानुनी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । ३ सय ३ जना अपाङ्गता भएका व्यक्तिहरु, ८० जना विपन्न दलित परिवारका सदस्यहरु, १ सय ७३ जना पचास वर्ष मुनीका अविवाहित एकल महिला, ८५ जना पचास देखि ६० वर्ष उमेर समुहका अविवाहित एक महिलाको स्वास्थ्य बीमाको प्रिमियम भुक्तानीमा सहयोग गरिएको छ ।विभिन्न स्थानमा सञ्चालन भएका स्वास्थ्य शिविरबाट जम्मा ९ सय ५७ नगरवासीहरूले आफ्नो स्वास्थ्य परीक्षण गरी रोग निदान तथा उपचार सम्बन्धी सेवा प्राप्त गर्नुभएको छ ।
  • बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणाका लागि आवश्यक शर्तहरु पूरा गरी सूर्योदय नगरपालिका नेपालको १० औं र प्रदेशको तेस्रो बालमैत्री स्थानीय शासनयुक्त र बालश्रम मुक्त नगरपालिका घोषणा भएको छ । बालमैत्री स्थानीय शासनयुक्त पालिकाको दिगोपनाका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन भईरहेका छन् । यस वर्ष २ जना सडक बालबालिकार २ जना वेवारीसे महिलाहरुलाई उद्धार गरी पुनर्स्थापना गरिएको छ । संरक्षक नभएका असाहाय बालबालिकालाई आवश्यक पर्ने जीवनयापनका अनिवार्य आवश्यकता साथै शैक्षिक सामग्रीउपलब्ध गराइएको छ ।
  •  युवा तथा खेलकुद:युवाहरुलाई खेलप्रतिको आकर्षण वृद्धि गरी शारीरिक रूपमा तन्दुरुस्त र अनुशासित नागरिकको रूपमा विकास गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुको उत्पादन गर्नको लागि नगरपालिकाद्वारा खेल क्षेत्रमा विभिन्न क्रियाकलापहरु सञ्चालन भएका छन् । संविधान दिवसको अवसरमा म्याराथन, अन्तर मा वि छात्रा छात्र फुटवल तथा भलिवल प्रतियोगिता सञ्चालन गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस नगरपालिकालाईकराँतेको ४, तेक्वान्दोको १, रिले दौडको १ गरी जम्मा ६ वटा स्वर्ण सहित २३वटा पदक हासिल गरी जिल्लाको तेस्रो स्थान हासिल भएको छ । विभिन्न विद्यालयमा उस्सु, रग्वी र बास्केटवलको समेत प्रशिक्षण आरम्भ गरिएको छ ।युवाहरुलाई लक्षित गरी कम्प्युटर तालिम, लोकसेवा आयोग र शिक्षा सेवा आयोग तयारी कक्षा सञ्चालन गरिएको छ । युवाहरुको नेतृत्व विकासको लागि नमुना युवा संसद अभ्यास कार्यक्रम सञ्चालन गरिएको छ ।
  • सामाजिक सुरक्षा तथा पञ्जीकरण: घटना दर्ता सप्ताह अन्तरगत नगरपालिका क्षेत्रभित्र सञ्चालित सामुदायिक माध्यमिक विद्यालयहरुका शिक्षक र विद्यार्थीहरुलाई घटना दर्तासँग सम्बन्धित कानुनी प्रावधानहरुको बारेमा अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । सामाजिक सुरक्षा भत्ता पाउने सम्पूर्ण लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता त्रैमासिक रूपमा बैंक खातामा जम्मा हुने गरी आवश्यक व्यवस्थापन गरिएको छ । जेष्ठ नागरिक परिचयपत्र र अपाङ्गता परिचयपत्रलाई विद्यूतीय माध्यमबाट जारी गर्ने प्रबन्ध गरिएको छ ।

पूर्वाधार क्षेत्र

  • आवास, भवन तथा बस्ती विकास: सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत सम्झौता भएका ४ सय ८४ लाभग्राही मध्ये २ सय ४६ लाभग्राहीलाई पहिलो किस्ता भुक्तानी गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सार्वजनिक प्रयोजनका लागि विभिन्न दाताहरुबाट जग्गा प्राप्ति भएको छ । फिक्कल र पशुपतिनगरमा जग्गा लिजमा लिई पार्किङ व्यवस्थापन गरिएको छ ।
  •  सडक, पुल तथा यातायात: नगरको गौरवको योजनाको रुपमा रहेका बाह्रमासे सडक (All Weather Road) कोनिर्माणलाई सबै वडामा निरन्तरता दिइएको छ ।  बरबोटे-कट्टेबुङ-छिरुवा सडक, तकपट-अम्बिटार सडक, फिक्कल-मलिम-जुरेभन्ज्याङ्ग सडक, पाल्टाङे-सिद्धिखोलासडक, बरबोटे-पान्दाम-जिल सडक, फिक्कल अस्पतालदेखि छिपिटार सडक जस्ता नगरका प्रमुख सडकहरुलाई प्राथमिकतामा राखि कालोपत्रे गर्ने लक्ष्यका साथ स्तरोन्‍नतिको कार्य निरन्तर भइरहेको छ ।
  • संघीय सरकारको लगानीमा भालुखोप-खुदुनाबारी सडकको कालोपत्रे, ऋषिमोड-गोर्खे-मानेभन्ज्याङ्ग सडक खण्डमा ७ सय ५० मिटर ढलान कार्य, हुरहुरे भन्ज्याङ-चालिसे टार सडकको निर्माणको कार्य सञ्चालनमा रहेका छन् ।
  • प्रदेश सरकारको लगानीमा बरबोटे-गुप्ति-नयाँबजार सडकको कालोपत्रे गर्ने कार्य, रुङसुङचोक-मेहेलबोटे सडक, कालापानी-माघे-सुन्तले सडकको स्तरोन्‍नती कार्य अघी बढिरहेको छ ।
  • नगरपालिका क्षेत्रभित्रको सडक सञ्जाललाई ६७ कि मि कालोपत्रे सडक र १ सय ३३ कि मि ग्राभेल सडकमा पुर्‍याइएको छ भने कच्चि सडकको जम्मा लम्बाइ ५ सय ८१ कि मि मा झारिएको छ । सडक बोर्ड नेपालको सहयोगमा ५ वटा सडकहरुको मर्मत सम्भार सम्पन्न गरी ६ वटा सडकहरूको मर्मत सम्भार कार्य सुचारु रहेको छ । यसवर्ष विभिन्न सडकहरुको ३ सय ४८ कि मि नियमित मर्मत सम्भार कार्य सम्पन्न गरिएको छ ।
  • निर्माणाधिन धोद्रे खोला झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने थप २ वटा झोलुङ्गे पुल निर्माणका लागि सर्भे, डिजाइन र लागत अनुमान तयारी कार्य सम्पन्न भएको  छ ।
  • जलस्रोत, जलविद्युत तथा स्वच्छ उर्जा:नगर क्षेत्र भित्रका पानीका स्रोतहरूको संरक्षण गर्ने कार्य गरिएको छ । नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा काठका पोलहरूको प्रतिस्थापन गर्ने र विद्युत लाइन विस्तार गर्ने कार्य भएको छ । उर्जा खपतलाई वृद्धि गर्न विद्युतीय चुल्होको वितरण गरिएको छ । नगर क्षेत्रमा सौर्य उर्जा र वायो ग्यासको प्रवर्द्धन गर्न नविकरणीय उर्जा प्रवर्द्धन केन्द्रसँग आवश्यक समन्वय गरिएको छ ।
  •  सूचना सञ्चार तथा प्रविधि:नेपाल दुरसंचार प्राधिकरणको सहकार्यमा नगरक्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा इन्टरनेटको पँहुच विस्तार गरिएको छ । नेपाल टेलिकमले प्रदान गर्ने FTTHसेवालाई नगरक्षेत्र भित्र विस्तार गर्ने कार्य अघि बढिरहेको छ भने अन्य विभिन्न इन्टरनेट सेवा प्रदायकहरूको समन्वयमा ग्रामीण क्षेत्रमा इन्टरनेट सेवाको पँहुचमा वृद्धि हुँदै गएको छ । कार्यालयको आन्तरिक कार्यसम्पादन र सेवा प्रवाहलाई प्रविधिमा आधारित बनाइएको छ । नगरपलिकाको मोवाइल एप निर्माण सम्पन्न गरी मोबाइल एप र वेवसाइटबाट सरोकारावालासम्म सूचना तथा जानकारी प्रवाह गर्ने कार्यलाई  प्रभावकारी तुल्याइएको छ । नगरपालिकामा हुने सम्पूर्ण बैठकहरूलाई व्यवस्थित गर्न र कागज रहित बनाउनको लागि प्रविधि विकास गरी कार्यान्वयनमा ल्याइएको छ । डिजिटल हस्ताक्षर कार्यान्वयनका लागि आवश्यक पूर्वाधार विकास गरिएको छ ।

वातावरण तथा विपद् व्यवस्थापन क्षेत्र

  • वन, हरियाली, भू संरक्षण तथा जैविक विविधता:नगर क्षेत्रभित्र वनतथा हरियाली क्षेत्रको संरक्षण र विस्तार गर्नुका साथै भू-संरक्षण तथा जैविक विविधता कायम गरी वातावरण स्वच्छ राख्ने उद्देश्यले विगत वर्षदेखि सञ्चालित वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै यो वर्ष विभिन्न जातका १ लाख ५८ हजार ७ सय ६० वृक्षारोपण गरिएको छ ।
  •  वातावरण संरक्षण तथा फोहोरमैला व्यवस्थापन :Sustainable Tourism Livelihood Recovery Project मार्फत १२ वटा Waste Collection Pit को निर्माण सम्पन्न भएको छ । नगरका विभिन्न क्षेत्रहरुमा ३८ वटा डस्टविन राखिएको छ ।एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको स्थापनाका लागि नेपाल सरकारबाट जग्गा खरिदको सहमति प्राप्त भएको छ । नगर क्षेत्रमा उत्सर्जन हुने फोहोरको संकलन र व्यवस्थापनको कार्यलाई प्रभावकारी रूपमा अघि बढाइएको छ ।
  •  विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन: विपद् प्रतिकार्य योजनाको तर्जुमा गरी विपद् व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ । Making Cities Resilient -2030 (MCR-2030) मा सूर्योदय नगरपालिकाको औपचारिक सहभागिताबाट सन् २०३० सम्म नगरलाई विपद् उत्थानशील नगरको रूपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ । विपद् जोखिममा आपत्कालिन सहायताको लागि आपत्कालिन कार्यसञ्चालन केन्द्र स्थापना गरिएको छ । विपद् जोखिम न्यूनीकरणको लागि विभिन्न स्थानमा ६२ वटा Fire Extinguisher र विभिन्न १३ किसिमका उद्धार सामग्री खरिद गरी वितरण गरिएको छ । सम्भावित विपद्‍बाट प्रभावित नगरवासीहरूलाई जस्ता पाता, त्रिपाल, खानेपानी पाइप, कपडा, भाडाकुँडा जस्ता राहत सामग्रीहरू उपलब्ध गराई विपद् व्यवस्थापनमा आवश्यक कार्यगरिएको छ ।

संस्थागत विकास र सुशासन क्षेत्र

  • नीति, कानुन, न्याय तथा सुशासन: सबै वडाहरुमा कानुनी साक्षरता तथा मेलमिलापकर्तासँग विवाद निरुपणका सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । ३५ जना मेलमिलापकर्ताहरुलाई ४८ घण्टे आधारभूत तालिम प्रदान गरिएको छ । मेलमिलाप केन्द्र र न्यायिक समितिको प्रयासबाट यस वर्ष १ सय ४ वटा विवादको मेलमिलापको माध्यमबाट निरूपण गरिएको छ । नगरपालिका क्षेत्रभित्र रहेका व्यवसायहरूको अनुगमनका लागि संयुक्त अनुगमन टोली मार्फत मुख्य-मुख्य बजारहरूको अनुगमन गरी देखिएको कैफियतलाई सुधार गर्ननिर्देशन दिइएको छ । नगरपालिकाका विविध कामकारबाही र गतिविधिहरूलाई नियमन र व्यवस्थापन गर्नका लागि यस वर्ष समेत थप  कानुन तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ । स्थानीय सरकारलाई पारदर्शी र जवाफदेही तुल्याउन सार्वजनिक सुनुवाइ, गुनासो चौतारी, सेवाग्राही सन्तुष्टी सर्वेक्षण लगायतका विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको छ । नियन्त्रणको वातावरणलाई स्थिर राख्दै जोखिम पहिचान, जोखिम व्यवस्थापन र अनुगमन कार्यलाई व्यवस्थित बनाइ आन्तरिक नियन्त्रणका उपायहरुलाई प्रभावकारी रुपमा अवलम्बन गरिएको छ ।
  • सङ्गठन तथा क्षमता विकास, जनशक्ति व्यवस्थापन र सेवा प्रवाह:नगरपालिका र अन्तरगतका कार्यालयले नियमित रूपमा सम्पादन गर्ने कार्यलाई चुस्त र दुरुस्त तुल्याउन विशेष ध्यान दिइएको छ । कर्मचारी, पदाधिकारी, विभिन्न संघ संस्था र सहकारी, उपभोक्ता समिति लगायत समग्र नगरपालिकाको संस्थागत क्षमता अभिवृद्धिका लागि क्षमता विकास योजनाको कार्यान्वयनलाई प्राथमिकता दिइएको छ । प्रविधिमा आधारित सेवा मार्फत नगर कार्यपालिकाको कार्यालय र अन्तरगतका कार्यालयहरुबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी तुल्याईएको
    छ ।
  • राजश्व तथा स्रोत परिचालन:सूर्योदय नगरपालिकाको आर्थिक ऐनमा भएका व्यवस्थाका बारेमा सबै वडाहरुमा सचेतना तथा अन्तरक्रिया साथै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।राजश्व सुधार योजना निर्माण गरी कार्यान्वयनमा ल्याईएको छ । विभिन्न वडाहरुमा कार्यालय मार्फत राजश्व असुली शिविर सञ्चालन गरिएको  छ । घर बहाल कर संकलनलाई व्यवस्थित गर्नको लागिवहालमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुको तथ्याङ्क संकलन गरिएको छ ।
  • तथ्याङ्क प्रणाली, योजना र विकास व्यवस्थापन : नगरको वास्तविक अवस्था र आवश्यकताको पहिचान, सरोकारवालाहरुको लागि जानकारी एवं नीति, योजना तथा कार्यक्रम तर्जुमा र निर्णय प्रक्रियामा उपयोग गर्ने प्रयोजनका लागि नगरपालिकाको जनसङ्ख्या, आर्थिक अवस्था, भू-उपयोग, पूर्वाधार, सार्वजनिक सेवाको अवस्था जस्ता महत्वपूर्ण विषयहरुको तथ्याङ्क संकलन र विश्लेषण पश्चात् विषयक्षेत्रगत सूचना तथा जानकारी समावेश गरिएको वस्तुगत विवरण अध्यावधिक एवं प्रमाणीकरण गरी वेवसाइट र अन्य माध्यमबाटसरोकारवालाको पहुँच स्थापित गरिएको छ ।नगरपालिकाको योजना तर्जुमा तथा बजेट विनियोजनलाई नगरको वस्तुगत विवरण र भरपर्दो तथ्याङ्कको आधारमा निर्धारण गरिएको विषयक्षेत्रगत नतिजा सूचकलाई आधार बनाई योजना तथा कार्यक्रम तर्जुमा गर्ने प्रक्रियाको थालनी गरिएको छ । नगरपालिकाको उद्देश्य प्राप्तिका लागि निर्धारण गरिएका परिमाणात्मक लक्ष्य र वार्षिक योजनामा समावेश हुने क्रियाकलापहरूलाई नगरको यथार्थ आर्थिक अवस्था र आवश्यकतासँग तादम्यता कायम गर्न योजना तर्जुमा गर्नु पूर्व स्थानीय आर्थिक सर्वेक्षण गर्ने पद्धतिलाई यसै वर्षदेखि शुरुवात गरिएको छ ।

सभाध्यक्ष महोदय,

  • चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याएर बजेटका उपलब्धी हासिल गर्नको लागि सहयोग गर्नुहुने सम्पूर्णनगरवासी, जनप्रतिनिधिज्यूहरु, कर्मचारी साथै सम्पूर्ण सरोकारवालाहरुलाई विशेष धन्यवाद दिन चाहन्छु ।
  • आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा स्थानीय सरकारको रुपमा नगरपालिकालाई प्राप्त भएका अवसरहरुको उच्चतम सदुपयोग गर्दै जनसंख्या वृद्धि र बढ्दो सहरीकरणका कारण स्रोत, सेवा र रोजगारीका अवसरहरूको मागमा भएको वृद्धि लगायतका चुनौतीहरूलाई सम्बोधन गर्न र आर्थिक वृद्धिको सम्भावनाको सदुपयोग गर्न उत्पादन, उत्पादकत्व र रोजगारी सृजनालाई प्राथमिकतामा राख्दै सरकारी, निजी क्षेत्र र सहकारी संस्थाको लगानीलाई प्रोत्साहन गरी व्यवसायको विकास, रोजगारी सिर्जना र आर्थिक समृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ ।
  • विद्यमान सामाजिक तथा आर्थिक असमानतालाई सम्बोधन गर्दै समावेशी न्याय र सामाजिक एकतालाई सुदृढ बनाउन स्रोत, अवसर र लाभमा समाजका सबै वर्गको पहुँच सुनिश्चित गरी उपलब्ध स्रोत र साधनको न्यायोचित वितरणको प्रभावकारितालाई ध्यानमा राखी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका उद्देश्य र प्राथमिकताहरू तर्जुमा गरिएको छ । बजेटले प्रभावकारी रूपमा उपलब्ध भएका स्रोतको बाँडफाँड गर्नको लागि विस्तृत रूपरेखा प्रदान गरी दिगो विकासलाई प्रवर्द्धन गर्न र वर्ग असमानतालाई कम गर्दै आर्थिक वृद्धि, सामाजिक विकास र समन्यायिक वितरणबीच सन्तुलन कायम गर्नेछ भन्ने कुरामा विश्वास दिलाउँदै आगामी वर्षको बजेट तथा कार्यक्रमका उद्देश्य प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
    • आर्थिक वृद्धि र विकासको प्रवर्द्धन:यो बजेट आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने, लगानी आकर्षित गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने पहलहरूमा केन्द्रित हुनेछ। यसले दिगो र लचिलो स्थानीय अर्थतन्त्रलाई बढावा दिँदै विकास, नवप्रवर्तन र रोजगारी सिर्जनाको उच्च सम्भावना भएका क्षेत्रहरूलाई प्राथमिकता दिनेछ।
    • वित्तीय दिगोपनको सुनिश्चितता:नगरपालिकाको दीर्घकालीन आर्थिक स्थायित्व सुनिश्चित गर्दै बजेट सन्तुलन कायम गर्नका लागियस बजेटले राजस्व परिचालनलाई सुदृढ गर्ने,लागत बचतका उपायहरू अवलम्बन गर्ने र कुशल स्रोत विनियोजनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।
    • पूर्वाधार विकास: बजेटले नगरभित्रको आवागमन सुदृढ गर्नयातायात सञ्जालको सुधार र दिगो सहरी विकासलाई प्रवर्द्धन गर्दै सडक, पुल, खानेपानी, फोहोरमैला व्यवस्थापन, सहरी पूर्वाधार, सिँचाई र पर्यटन प्रवर्द्धनका अति आवश्यक पूर्वाधार आयोजनाहरूको निर्माण र मर्मत सम्भार गर्ने उद्देश्य राखेको छ ।
    • सामाजिक कल्याण र समावेशीताको अभिवृद्धि: बजेटले जोखिममा परेका समूहहरूलाई सहयोग गर्न, सामाजिक समावेशीकरण प्रवर्द्धन गर्न र असमानतालाई सम्बोधन गर्न स्रोतहरूको समन्यायीक विनियोजन गर्नेछ। नागरिकहरूको सामाजिक-आर्थिक पृष्ठभूमिमा विद्यमान विविधताका बाबजुत उनीहरूको कल्याण र सशक्तीकरण सुनिश्चित गर्न बजेटले सामाजिक सुरक्षा कार्यक्रम, स्वास्थ्य सेवा र शिक्षाका अवसरहरूलाई सुदृढ पार्ने लक्ष्य राखेको छ ।
    • गुणस्तरीय सेवा प्रवाहमा अभिवृद्धि: स्वास्थ्य, शिक्षा, पूर्वाधार र सामाजिक कल्याण कार्यक्रम लगायतस्थानीय सरकारले उपलब्ध गराउनु पर्ने अत्यावश्यक सेवाहरूमा नागरिकको पहुँच सुनिश्चित गर्दै सार्वजनिक सेवाहरूको सुधार र विस्तार गर्न पर्याप्त स्रोतहरू विनियोजन गर्ने बजेटको लक्ष्य रहेको छ।
    • सुशासन र जवाफदेहिताको सुदृढीकरण: यो बजेटले सार्वजनिक कोषको व्यवस्थापनमा पारदर्शिता, जवाफदेहिता र सुशासनको अभ्यासलाई प्रवर्द्धन गर्दै वित्तीय पर्यवेक्षणलाई अभिवृद्धि गर्ने, सार्वजनिक खरिद प्रक्रियामा सुधार गर्ने र स्रोतको प्रभावकारी र समुचित उपयोग सुनिश्चित गर्न आन्तरिकनियन्त्रण संयन्त्रलाई सुदृढ गर्ने लक्ष्य राखेको छ।
  • यी उद्देश्यहरूले दिगो विकास र समावेशी समुन्नतिको प्रवर्द्धनका माध्यमबाट नगरवासीको आवश्यकता र आकांक्षालाई सम्बोधन गर्ने प्रतिबद्धताका साथ वार्षिक बजेटको रणनीतिक निर्देशन र स्रोतको विनियोजनलाई मार्गदर्शन गर्नेछ भन्ने विश्वास लिएको छु ।

सभा अध्यक्षज्यू,

  • उल्लिखित उद्देश्यहरू प्राप्तिका लागि निर्धारण गरिएका बजेटका प्राथमिकताका क्षेत्रहरु बुँदागत रुपमा प्रस्तुत गर्न चाहन्छु ।
    • कृषि तथा पशुपंक्षी विकास: कृषिमा आधुनिकिरण र यान्त्रिकीकरण, सिचाईँ पूर्वाधार, बजार व्यवस्थापन, लागत साझेदारी, बिऊ वितरण, पशुजन्य रोग रोकथाम र नियन्त्रण, पशुजन्य उत्पादन, दुध र दुधजन्य उत्पादन र उत्पादकत्व प्रबर्द्धन ।
    • पूर्वाधार विकास: सडक, पुल, खानेपानी, फोहोरमैला व्यवस्थापन, सार्वजनिक यातायात, शहरी पूर्वाधार र वस्ति विकास ।
    • आर्थिक समृद्धि र रोजगारी सृजना: आर्थिक प्रोत्साहन, प्राविधिक सहयोग, उद्योग, व्यवसायलाई सहयोग, उद्यमशीलता र नवप्रवर्तन ।
    • स्वास्थ्य सेवा र जनस्वास्थ्य: स्वास्थ्य सेवा पूर्वाधारको सुदृढिकरण, गुणस्तरीय स्वास्थ्य सेवाहरूमा पहुँच सुधार,महामारी नियन्त्रण, रोगहरुको रोकथाम र नियन्त्रण ।
    • शिक्षा र सीप विकास:शैक्षिक पूर्वाधार विकास, शिक्षकहरुको क्षमता अभिवृद्धि, छात्रवृत्ति र सीप विकास ।
    • सामाजिक कल्याण र समावेशीकरण:महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, दलित वर्ग, आदिवासी जनजाति र सीमान्तकृत समुदायसँग सम्बन्धित सामाजिक कल्याण कार्यक्रम ।
    • विपद् जोखिम न्यूनीकरण र पर्यावरणीय दिगोपन: विपद् व्यवस्थापन, वृक्षारोपण र वातावरण संरक्षण, नवीकरणीय ऊर्जा, फोहोर व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन ।
    • सांस्कृतिक संरक्षण र पर्यटन : स्थानीय संस्कृति, सम्पदा स्थल र परम्पराको संरक्षण, पर्यटन पूर्वाधार विकास र प्रवर्द्धन ।
    • प्रविधि र डिजिटल रूपान्तरण: प्रविधि मैत्री स्थानीय सरकारको अवधारणा,  विद्युतीय सुशासन तथा प्रविधिमा आधारित कार्यसम्पादन र सेवा प्रवाह ।
    • क्षमता विकास र सुशासन:संस्थागत क्षमता अभिवृद्धि, सार्वजनिक कोषको प्रभावकारी उपयोग, जवाफदेहिता प्रवर्द्धन, सुदृढ वित्तीय व्यवस्थापन, पारदर्शिता, अनुगमन र सुशासनका अभ्यासहरु।
  • यी प्राथमिकता क्षेत्रहरूले प्रमुख चुनौतीहरूलाई सम्बोधन गर्न, नगरवासीको आवश्यकताहरू पूरा गर्न र समुदायको लागि दिगो र समृद्ध भविष्य सिर्जना गर्न नगरपालिकाको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।

सभा अध्यक्षज्यू,

अब म आर्थिक वर्ष ०८०/०८१ को बजेट तथा कार्यक्रममा समावेश गरिएका विषयहरुको क्षेत्रगत रूपमा विनियोजनको सारांश प्रस्तुत गर्न अनुमति चाहन्छु ।

आर्थिक विकास क्षेत्र

  • कृषि  तथा खाद्य सुरक्षा : नगरको समग्र कृषि क्षेत्रको विकासबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषिमा आधुनिकिकरण व्यावसायिकरण र साना यान्त्रिकीकरणमा विशेष ध्यान दिइएको छ । बजारीकरण, कृषि पूर्वाधारको विकास र प्राङ्गारिक कृषि प्रवर्द्धनको माध्यमबाट खाद्य सुरक्षा र आत्मनिर्भरता अभिवृद्धि गरिनेछ । बाली विविधिकरण, क्षमता विकास कार्यक्रम र दिगो कृषिका लागि एकीकृत कृषि गुरु योजना निर्माणलाई प्राथमिकता दिइनेछ । चियाको बजारीकरण गुणस्तर प्रवर्द्धन गर्नका साथै नगरबाटउत्पादित चियालाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले प्रदेश सरकारसँगकोसाझेदारीमा नगरपालिकामा ल्याब सहितको चिया परीक्षण, अनुसन्धान तथा प्रवर्द्धन केन्द्रको भवननिर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरीनेछ । आवश्यक उपकरणको व्यवस्थापनका लागि संघीय तथा प्रादेशिक सरकारसँग आवश्यक समन्वय गरिनेछ ।
  • कृषि यान्त्रिकीकरण तथा आधुनिकीकरण, खाद्य सुरक्षा, विऊ विजन उत्पादन र बाली प्रवर्द्धन, प्राङ्गारिक खेती प्रवर्द्धन, फलफूल प्रवर्द्धन कार्यक्रम साथैकृषिको बजारीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ । कृषि तथा खाद्य सुरक्षा क्षेत्रको समग्र विकासका लागि जम्मा २ करोड ६३ लाख ७४ हजार रकम विनियोजन गरिएको छ ।
  • सिंचाई : सानासिँचाइ कार्यक्रम अन्तरगत सङ्‍घीय सरकार, प्रदेश सरकार र नगरपालिकाको सहलगानीमाक्रमागत २ र थप ७ वटा नयाँ सिँचाई आयोजना सञ्‍चालन गर्न ४ करोड २८ लाख ५८ हजार बजेट व्यवस्थापन गरिएको छ।
  • पशुपन्छी विकास: पशुपालनको क्षेत्रमा आधुनिक अभ्यासको अनुसरण र पशुको आहारामा सुधार गर्ने तर्फ ध्यान केन्द्रित गरी पशुजन्य उत्पादन र सो मा आधारित उद्योग तथा व्यवसायलाई प्रोत्साहन गरिनेछ । पशुपंक्षीको स्वास्थ्यको रक्षा गर्दै लम्पि स्किन डिजिज लगायतका महामारी र अन्य रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गरिने छ । यान्त्रिकीकरण र कृतिम गर्भाधान जस्ता प्रविधिको विकासलाई बढावा दिँदै ग्रामीण विकासका लागि पशुपालनका माध्यमबाट जीविकोपार्जनलाई सहयोग पुर्‍याउने कार्यक्रमहरु सञ्चालन गरिनेछन् । दुध उत्पादन वृद्धिको लागि नश्ल सुधार, गोठ सुधार जस्ता कार्यक्रमलाई विशेष प्राथमिकता दिइनेछ ।
  • पशुपालनको क्षेत्रमा यान्त्रिकीकरण र आधुनिकीकरण, पशु स्वास्थ्य, पशु सेवा र आकस्मिक रोग नियन्त्रण, पशु नश्ल सुधारका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । माछा प्रवर्द्धन कार्यक्रमका लागि २० लाख ३७ हजार र छुर्पी प्रवर्द्धन कार्यक्रमका लागि १० लाख विनियोजन गरिएको छ । लम्पि स्किन डिजिजको नियन्त्रण, रोकथाम र प्रभावित कृषकहरुलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक बजेटको व्यवस्था गरिएको छ । पशुपंक्षी क्षेत्रको समग्र विकासका लागि जम्मा २ करोड ५० लाख ९ हजार बजेट विनियोजन गरिएको छ ।
  • उद्योग तथा व्यापार : व्यापार सुशासन र संरक्षणका लागि उद्योग वाणिज्य संघसँगको सहकार्य र समन्वयलाई प्राथमिकता दिइनेछ । साना तथा घरेलु उद्योगको प्रवर्द्धन गरी रोजगारी सृजना, सीप विकास र साना उद्यमको विकासका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ । चिया परीक्षण, अनुसन्धान र प्रवर्द्धन केन्द्रको सञ्चालनबाट चिया उद्योगको प्रवर्द्धन र बजारीकरणमा थप टेवा पुग्नेछ । उद्योग व्यापार र व्यवसायहरूको प्रवर्द्धन र लघु उद्यम विकास कार्यक्रम सञ्चालनका लागि उद्योग व्यापार र व्यवसाय क्षेत्रमा कुल ३३ लाख २० हजार विनियोजन गरिएको छ ।
  • पर्यटन तथा संस्कृति : नयाँ पर्यटकीय गन्तव्यको विकास, पूर्वाधारको सुधार र गुणस्तरीय पर्यटन अभ्यास प्रवर्द्धनका लागि वृहत पर्यटन गुरु योजना तयार
    गरिनेछ । साँस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, ग्रामीण पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रमा आर्थिक विकास र रोजगारीका अवसरहरुका लागि सरकारी र निजी क्षेत्रबीच समन्वय र सहकार्य गरिनेछ ।
  • निर्माणाधिन वुद्धपार्कको निरन्तरता, ऐतिहासिक फेन्सोङ गुम्बा पार्कको निर्माण, कन्याम-डुँडेगैरा-पूर्णेडाँडा साइक्लिङ ट्र्याकको निर्माण र विस्तारका लागि बजेटको व्यवस्था गरिएको छ । Suspension Glass Bridge निर्माण कार्य आगामी आर्थिक वर्षमा नै सम्पन्न गर्न ७ करोड ५४ लाख २७ हजार सहित विभिन्न पर्यटन पूर्वाधार विकासका लागि १२ करोड ५७ लाख ५ हजार, लेप्चा लगायतका जातजातिहरुको सांस्कृतिक महोत्सवका लागि १० लाख र पर्यटन प्रवर्द्धन सँग सम्बन्धित विभिन्न क्रियाकलापहरु सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ । पर्यटन तथा सँस्कृति क्षेत्रको समग्र विकासका लागि जम्मा १२ करोड ९८ लाख ९७ हजार बजेट विनियोजन गरिएको छ ।
  • भूमि व्यवस्था, सहकारी तथा वित्तीय व्यवस्था : सहकारी क्षेत्रको विकास, सहकारीमा सुशासन प्रवर्द्धन र प्रभावकारी नियमनका लागि एकीकृत अनुगमन प्रणालीलाई प्रभावकारी बनाइनेछ । भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोबासीहरुको समस्या समाधानका कार्यहरुलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य गरिनेछ ।

भूमि  सम्बन्धी समस्या समाधान कार्यको व्यवस्थापनका लागि २५ लाख र सहकारी तथा वित्तीय क्षेत्रको समग्र व्यवस्थापन, नियमन र क्षमता अभिवृद्धिका लागि २१ लाख समेत गरी यस क्षेत्रका लागि कुल ४६ लाख बजेट विनियोजन गरिएको छ ।

  • श्रम तथा रोजगारी : स्थानीय युवाका लागि रोजगारीका अवसरहरु विस्तार गर्नको लागि दिगो तथा समावेशी श्रम बजार सिर्जना गर्न पहल गरिनेछ । न्यूनतम ज्याला दर र पेशागत सुरक्षा मापदण्डको तर्जुमा गरी श्रम अधिकार र कल्याणको सुनिश्चिततामा विशेष ध्यान पुर्‍याइनेछ । स्वरोजगार उद्यमशीलताका लागि वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवालाई सहयोग उपलब्ध गराइ स्थानीय स्तरमा रोजगारको प्रवर्द्धन गरिनेछ । युवा रोजगारीका पहलहरुलाई टेवा पुर्‍याइ पूर्वाधार विकासका कार्यक्रमहरूमा रोजगारीलाई आबद्ध गरिनेछ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३४ लाख, युवा रोजगारीका लागि रूपान्तरण परियोजनाका लागि ३५ लाख, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको पुन: एकीकरण परियोजनाका लागि ४५ लाख र रोजगार प्रवर्द्धन कार्यक्रमका लागि २९ लाख समेत गरी श्रम तथा रोजगारीका क्षेत्रमा कुल १ करोड ५४ लाख बजेट विनियोजन गरिएको छ ।

  • गरिबी निवारण : गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यलाई आगामी वर्षमा सम्पन्न गरिनेछ । गरिब वर्गका लागि रोजगारी र स्वरोजगार सीप विकासका लागि क्षमता विकास कार्यक्रमका माध्यमबाट गरिबी न्यूनीकरण र सामाजिक पूँजी निर्माणमा जोड दिइएको छ । गरिबी निवारणका क्रियाकलाप सञ्चालन गर्न ७ लाख बजेट विनियोजन गरिएको छ ।

सभाध्यक्ष ज्यू,

  • आर्थिक विकासका क्षेत्रमा नगरले अवलम्बन गरेका नीतिहरुको कार्यान्वयनलाई प्रभावकारी बनाइकृषि, पशुपालन, सिँचाई, पर्यटन, रोजगारी, सहकारी लगायतका क्षेत्रको विकासका माध्यमबाट नगरवासीको जीवनस्तरमा सुधार गरी आर्थिक समृद्धि तर्फ उन्मुख गराउन आगामी आर्थिक वर्षको लागि आर्थिक विकासको क्षेत्रमा २४ करोड ८१ लाख ५८ हजार रकम अर्थात कुल विनियोजनको १९ दशमलम ६५ प्रतिशत विनियोजन गरिएको छ ।

अब म सामाजिक क्षेत्र तर्फ विनियोजित बजेटको सारंश प्रस्तुत गर्दछु ।

  • शिक्षा, भाषा, कला तथा साहित्य : सबै बालबालिकाका लागि शिक्षा सुनिश्चित, शिक्षकहरुको क्षमता विकास, विपन्न विद्यार्थीका लागि छात्रवृत्ति, अतिरिक्त क्रियाकलापमा सुधार, शिक्षाको गुणस्तर सुधार, नमुना विद्यालयको विकास, शैक्षिक पूर्वाधारको विकास, भाषा कला साहित्यको प्रवर्द्धन रसांस्कृतिक पूर्वाधारको विकास मार्फत नगरको समग्र शिक्षा र सांस्कृतिक पक्षहरूको सुधार गरिनेछ ।

विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनका लागि ६ करोड १ लाख, करफोक विद्यालयमा विभिन्न पूर्वाधार निर्माणका लागि १ करोड ५७ लाख, सूर्योदय इनोभेसन सेन्टर स्थापनका लागि ७० लाख, प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि ५४ लाख रआधारभूत तथा माध्यमिक शिक्षा तर्फ २४ करोड ७८ लाख समेत गरी वित्तीय हस्तान्तरणबाट ३३ करोड ५३ लाख विनियोजन गरिएको छ । त्यस्तै पाठ्यक्रम विकास र शैक्षिक स्रोत व्यवस्थापन, शैक्षिक पूर्वाधार विकास, विद्यार्थी सहयोग वृत्ति विकास र छात्रवृत्ति, क्षमता विकास मूल्याङ्कन तथा सामुदायिक सहभागिताका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । शिक्षा क्षेत्रमा वडा स्तरबाट सञ्चालन गरिने क्रियाकलापहरूको लागि २८ लाख ४८ हजार र भाषा, कला साहित्य तथा संस्कृति सम्बर्द्धन र प्रवर्द्धनका लागि ११ लाख विनियोजन गरिएको छ । नगरवासीलाई सरल र सहज ढंगबाट गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गर्न शिक्षा विज्ञान र प्रविधिको क्षेत्रमा कुल रु ३७ करोड ६५ लाख ७७ हजार बजेट विनियोजन गरिएको छ जुन कुल विनियोजनको २९ दशमलव ८२ प्रतिशत हुन
आउँछ ।

  • आधारभूत स्वास्थ्य तथा पोषण : नगरवासीको स्वास्थ्य सेवाको पहुँच प्रवर्द्धन गर्ने, स्वास्थ्य पूर्वाधारको सुधार गर्ने र समुदायमा स्वास्थ्य सँग सम्बन्धित विषयहरुमा सचेतना जगाउने लक्ष्यका साथ पँहुच योग्य र गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता, स्वास्थ्य पूर्वाधारको विकास, दक्ष स्वास्थ्य कर्मीको व्यवस्थापन, महामारी रोग नियन्त्रण, स्वास्थ्य सचेतना, सुरक्षित मातृत्व तथा नवजात शिशु सेवाको सुनिश्चितता जस्ता कार्यक्रमहरू सञ्चालन गरिनेछन् । सीमा क्षेत्रमा स्थापित हेल्थ डेस्कको व्यवस्थापन, स्वास्थ्य विमाको पँहुच वृद्धि, नगर अस्पताल सञ्चालनका लागि व्यवस्थापन सहयोग तथा पोषण मैत्री स्थानीय तह घोषणाको तयारी गरिनेछ ।

‌औषधी तथा उपकरणको खरिद र आपूर्ति, स्वास्थ्य कर्मीहरूको व्यवस्थापन र क्षमता विकास, नगर अस्पताल सञ्चालनका लागि सहयोग लगायतका स्वास्थ्य पूर्वाधार विकास, सामुदायिक स्वास्थ्य र पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा र सञ्चारका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । त्यसैगरी प्राथमिक स्वास्थ्य सेवा तर्फ ४ करोड ४५ लाख, परिवार कल्याण कार्यक्रमका लागि ४३ लाख, नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रमका लागि ३९ लाख, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका लागि २० लाख, उपचारात्मक सेवा कार्यक्रमका लागि १३ लाख सहित वित्तीय हस्तान्तरणबाट ५ करोड ७३ लाख विनियोजन गरिएको छ । सबै वर्ग क्षेत्र र समुदायका नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न स्वास्थ्य तथा पोषणका क्षेत्रमा कुल ८ करोड ४९ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । 

  • खानेपानी तथा सरसफाई : नगर वासीहरू शुद्ध खानेपानीको उपलब्धता सुनिश्चित गर्न, सरसफाइ सेवाहरूमा सुधार गर्न, समुदायमा पानीको जिम्मेवारपूर्ण उपयोगको प्रवर्द्धन गर्ने लक्ष्यका साथ खानेपानी तथा सरसफाइ सम्बन्धी क्रियाकलापहरू सञ्चालन गरिनेछ । सबै नगर वासीलाई खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउने उद्देश्यका साथ फिक्कल खानेपानी आयोजनाको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नगरपालिका मार्फत गर्ने गरि उक्त योजनाको मर्मत सुधार तथा विस्तारका लागि ४५ लाख, सञ्चालन तथा व्यवस्थापनका लागि ६३ लाख र ऋणको वार्षिक किस्ता भुक्तानीका लागि ७२ लाख समेत १ करोड ८० लाख विनियोजन गरिएको छ । नगरभित्रका विभिन्न खानेपानी योजनाहरूको मर्मत सम्भार, खानेपानी तथा सरसफाइ प्रवर्द्धन जस्ता कार्यक्रमहरु सञ्चालन गर्न खानेपानी तथा सरसफाइको क्षेत्रमा कुल २ करोड ३६ लाख विनियोजन गरिएको छ ।
  • महिला, बालबालिका तथा सामाजिक समावेशीकरण : नगरभित्रका महिलाहरूको स्वास्थ्यमा सुधार, आर्थिक अवसरको विस्तार, सामाजिक सुरक्षा, समावेशीताको सुनिश्चितता तथा लैङ्गिक हिंसा न्यूनीकरण तथा महिला अधिकार सम्बन्धी सचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिनेछ । एकल तथा विपन्न महिलाको स्वास्थ्य विमा कार्यक्रम, महिलाहरूको सशक्तिकरण, क्षमता विकास, सामाजिक सुरक्षा र समावेशीकरण तथा सचेतनाका क्षेत्रमा क्रियाकलापहरु सञ्चालन गर्न कुल ४२ लाख बजेट विनियोजन गरिएको छ । 
  • बालमैत्री स्थानीय शासनयुक्त नगरपालिकाको रूपमा दिगोपना कायम राख्न बालबालिकाको विकास, पोषण र शिक्षामा अभिवृद्धिका माध्यमबाट बालकल्याणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।  बालमैत्री स्थानीय शासनयुक्त र वालश्रम मुक्त नगरपालिकाको रूपमा अवलम्बन गरिएका नीतिहरु कार्यान्वयका लागि विभिन्न गतिविधिहरू मार्फत बालबालिकाको अधिकार संरक्षण, सहभागीता र विकास सुनिश्चित गर्ने र बालविकास योजनामा बालबालिकाहरूको सहभागीता अभिवृद्धि गर्ने क्रियाकलापहरू सञ्चालन गर्नका लागि  २३ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
  • जेष्ठ नागरिक : ज्येष्ठ नागरिकहरूले प्राप्त गरेको ज्ञान र सीपको उपयोग गरि सामाजिक, सांस्कृतिक र आर्थिक अवसरहरुको अभिवृद्धि गर्दै अन्तरपुस्ता ज्ञान आदान प्रदान गर्न, ज्येष्ठ नागरिकहरुको सम्मान गरि उनीहरुका लागि विशेष सुरक्षा र सेवा र सहयोग सम्बन्धी क्रियाकलाप सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
  • शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेलकुद, रोजगारी, सहकारी पहल र आय आर्जनमा केन्द्रित भई अपाङ्गता भएका व्यक्तिहरूलाई संरक्षण र सहयोग गर्ने कार्यक्रमहरू सञ्चालन गरिनेछ । सार्वजनिक पूर्वाधारहरूमा अपाङ्गताको पहुँच सुधार गर्ने, सबै अपाङ्गता भएका व्यक्तिहरूको लागि स्वास्थ्य वीमा सेवाको पहुँच सुनिश्चित गर्ने र अपाङ्गता भएका महिलाहरुको लागि नि:शुल्क सेनेटरी प्याड र डाइपर उपलब्ध गराईनेछ । अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि गठन भएका स्वावलम्बन समूहहरूलाई सहकारीमा रुपान्तरण र प्रभावकारी व्यवस्थापन लागायत यस क्षेत्रको लागि २८ लाख ९० हजार विनियोजन गरिएको छ ।
  • दलित बर्गको उत्थानको लागि अनुकुल कार्यक्रमहरु र उनीहरुको परम्परागत संरक्षणका लागि प्रयास गरिनेछ । आदिवासी समुदायहरूको सामाजिक र सांस्कृतिक विकासमा सहयोग पुर्‍याइने छ । सामाजिक समावेशीकरणको लागि १३ लाख बजेट विनियोजन गरिएको छ भने महिला वालवालिका तथा सामाजिक समावेशीकरणको क्षेत्रमा वडा स्तरबाट सञ्चालन हुने क्रियाकलापहरू समेतका लागि कुल १ करोड ९१ लाख ५४ हजार विनियोजन गरिएको छ ।
  • युवा तथा खेलकुद : पूर्वाधार मर्मत, सीप विकास, प्रतिस्पर्धा, प्रतिभा पहिचान, सामुदायिक संलग्नता र साझेदारी लगायतका युवा र खेलकुद विकासका कार्यक्रमहरूलाई प्राथमिकता दिइ यस क्षेत्रको दिगो र समावेशी वृद्धि गरिनेछ ।

खेलकुद कार्यक्रमहरू सञ्चालन गर्न, विभिन्न खेल प्रशिक्षण कार्यक्रम, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, युवा लक्षित कार्यक्रम सञ्चालनका लागि ४७ लाख, विभिन्न खेलमैदान स्तरोन्नती गर्नको लागि १६ लाख समेत गरी युवा तथा खेलकुदको क्षेत्रका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न कुल ८९ लाख ६४ हजार बजेट विनियोजन गरिएको छ ।

  • सामाजिक सुरक्षा तथा पञ्जीकरण: सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई सुदृढ बनाउन व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन गर्ने, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको अभिलेखलाई व्यवस्थित गर्ने साथै जनप्रतिनिधि-कर्मचारी-लाभग्राही अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ । यस क्षेत्रसँग सम्बन्धित क्रियाकलाप सञ्चालनका लागि १६ लाख ६५ हजार बजेट रकम विनियोजन गरिएको छ।

सभा अध्यक्ष ज्यू,

  • शिक्षा, स्वास्थ्य सेवा, सामाजिक कल्याण र सामुदायिक विकास जस्ता सामाजिक क्षेत्रमा गरिएको लगानीका माध्यमबाट नगरवासीको जीवनस्तरमा सुधार गर्न,समावेशी र समतामूलक समाजको विकास गर्न, सामाजिक कल्याण प्रवर्द्धन गर्न, नगरवासीको विविध आवश्यकतालाई सम्बोधन गरी आधारभूत शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा र समावेशीकरणका क्षेत्रमा सेवाको पहुँच र गुणस्तरीयता वृद्धि गर्न र सामाजिक सशक्तिकरण अभिवृद्धि गर्न सामाजिक क्षेत्रमा ५१ करोड ४९ लाख १० हजार अर्थात् कुल विनियोजनको ४० दशमलव ७८ प्रतिशत बजेट विनियोजन गरिएको छ ।  अब म पूर्वाधार विकास तर्फको क्षेत्रगत विनियोजनको सारंश प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
  • आवास, भवन तथा बस्ती विकास : भवन संहिता लागू गर्ने, भूकम्प प्रतिरोधी भवनको प्रवर्द्धन र स्थानीय सामग्रीको प्रयोग गर्ने कार्यलाई प्रोत्साहन गरी नगर क्षेत्रभित्र निर्माण हुने भौतिक संरचनाहरूको निर्माणको प्रक्रियामा सुरक्षित र दिगो अभ्यासहरू सुनिश्चित गरिएको छ । नगर क्षेत्रभित्रको ढल निकास गुरुयोजना र भु- जोखिम संवेदनशीलता सहितको भवन निर्माण मापदण्ड र योजना तर्जुमा गरिनेछ । वडा नं. १० को कार्यालय भवनको लागि ७० लाख, वडा नं. २ को कार्यालय भवन मर्मतको लागि १५ लाख, पार्किङ स्थल र वसपार्क व्यवस्थापनका लागि १५ लाख बजेटको व्यवस्था गरिएको छ । सुरक्षित आवास र सहरी पूर्वाधार विकासका लागि भवन, आवास, वस्ती तथा शहरी विकासको क्षेत्रमा कुल २ करोड २१ लाख बजेट विनियोजन गरिएको छ ।
  • सडक, पुल तथा यातायात : सडक सञ्जाल र पूर्वाधार विकास गर्ने, नियमित मर्मत सम्भार गरी आवागमनमा सहजता सुनिश्चित गर्ने, तीनै तहका सहकारहरूको लगानी साझेदारीमा नगर यातायात गुरु योजनामा आधारित भई सडक निर्माण र स्तरोन्नती गरिनेछ ।
  • बाह्रमासे सडकहरूको स्तरोन्नति र निर्माणको निरन्तरताका लागि  ९ करोड ६४ लाख, प्रदेश सरकारको समपुरक अनुदानबाट निर्माण हुने फिक्कल-गुम्बापथ-मलिम-जुरेभन्ज्याङ्ग सडकको लागि १ करोड ३० लाख र सिद्धि सल्लेरी-नर्सरी भन्ज्याङ्ग-मेचीबजार सडक आयोजनको लागि १ करोड ३० लाख, संघीय समपुरक अनुदान तर्फबरबोटे-कट्टेबुङ-छिरुवा सडक स्तरोन्नतिका लागि १ करोड बजेट व्यवस्थापन गरिएको छ भने सडक मर्मत सम्भार तर्फ सडक बोर्डसँगको साझेदारीका लागि १ करोड ३८ लाख ५८ हजार तथा नगर सडक सञ्जालको नियमित मर्मत सम्भारका लागि मर्मत सम्भार कोष मार्फत खर्च हुने गरी १ करोड २० लाख बजेट व्यवस्थापन गरिएको छ ।
  • नियमित मर्मत सम्भारका लागि खर्च हुने रकमको समानुपातिक विनियोजन, कुशल कार्यान्वयन र नियमित आवागमनको सुनिश्चितताका लागि ARMP(Annual Road Maintenance Plan) तर्जुमा गरि साउन महिना भित्रै नगर कार्यपालिकाबाट स्वीकृत गराउनु पर्नेछ ।
  •  नगरका प्रमुख सडक आयोजना र वडा स्तरीय सडक आयोजनाहरुको निर्माण तथा स्तरोन्नतीका लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।
  • निर्माणाधीन धोद्रे खोला झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरी थप २ झोलुङ्गे पुलको निर्माण आरम्भ गर्न २८ लाख विनियोजन गरिएको छ भने रोङ गाउँपालिकासँगको साझेदारीमा अम्बीखोला डाइभर्सन पुल निर्माणका लागि १५ लाख ६० हजार विनियोजन गरिएको छ ।
  • नगरको सबै भुभागलाई सडक सञ्जालसँग जोडि नगरवासीको पँहुचसम्म पुर्‍याउने उद्देश्यका साथ यातायात सञ्जाललाई सुदृढ बनाउन २६ करोड २ लाख १६ हजार बजेट विनियोजन गरिएको छ जुन कुल विनियोजनको २० दशमलव ६१ प्रतिशत
    हो ।
  • उर्जा : सौर्य उर्जा जस्ता वैकल्पिक उर्जा स्रोतहरूको प्रवर्द्धन गर्दै विद्युत लाइन व्यवस्थापनलाई थप प्रभावकारी बनाएर वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ । उर्जा क्षेत्रको प्रवर्द्धनको लागि १५ लाख २२ हजार बजेट व्यवस्थापन गरिएको छ । 
  • सूचना सञ्चार तथा प्रविधि : प्रविधिमैत्री नगरपालिकाको अवधारणा अनुरूप नगरपालिका र अन्तरगतका कार्यालयहरूबाट प्रवाह हुने सेवालाई प्रभावकारी, पारदर्शी, जवाफदेही बनाउनको लागि प्रविधिमा आधारित कार्यसम्पादनको अभ्यासलाई थप सुदृढ बनाइनेछ । इन्टरनेट सेवा प्रदायकहरूको समन्वयमा नगर क्षेत्रभित्र इन्टरनेट सेवाको पहुँच विस्तारमा जोड दिइनेछ । सञ्चालनमा रहेका विद्युतीय प्रणालीहरूलाई एकीकृत र सुदृढीकरण गर्दै विद्युतीय तथ्याङ्क संरक्षणको लागि आवश्यक पूर्वाधार तयार गरिनेछ । यस वर्षबाट शुरुवात भएको डिजिटल हस्ताक्षर प्रणालीको कार्यान्वयनलाई व्यवस्थित बनाइनेछ । प्रविधिमैत्री स्थानीय सरकारको हाम्रो अवधारणालाई साकार बनाउने उद्देश्यले सूचना सञ्चार तथा प्रविधिको क्षेत्रमा  जम्मा ४४ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

सभाध्यक्ष ज्यू,

  • नगर क्षेत्रभित्रको भौतिक पूर्वाधारको विकास, सेवाको पहुँच र गुणस्तरीयता वृद्धि गर्ने हाम्रो पूर्वाधार क्षेत्रको लक्ष्य प्राप्तिका लागि यस क्षेत्रमा २८ करोड ८२ लाख ८८ हजार अर्थात कुल बजेटको २२ दशमलव ८३ प्रतिशत विनियोजन गरिएको छ । अब म वातावरण तथा विपद् व्यवस्थापन तर्फको क्षेत्रगत विनियोजनको सारंश प्रस्तुत गर्दछु ।
  • वन, हरियाली, भू-संरक्षण तथा जैविक विविधता : वन तथा हरियाली प्रवर्द्धन, जलस्रोतको संरक्षण तथा विविधता संरक्षण र प्रवर्द्धनमा विषेश ध्यान दिइनेछ । वृक्षारोपण कार्यलाई अभियानका रूपमा सञ्चालन गर्नुका साथै रुख कटान कार्यको नियमनलाई प्रभावकारी बनाइनेछ । यस क्षेत्रमा सञ्चालन गरिने क्रियाकलापहरूका लागि १९ लाख ५० हजार बजेट व्यवस्था गरिएको छ ।
  • वातावरण तथा फोहोरमैला व्यवस्थापन :फोहोर संकलन केन्द्रको स्थापना र होम कम्पोस्टिङ प्रविधिको प्रवर्द्धन लगायत फोहोरको न्यूनीकरण, वर्गीकरण र रिसाइक्लिङको प्रवर्द्धन गरिनेछ । फोहोर व्यवस्थापन कार्यमा सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गरिनेछ । प्लाष्टिक तथा सिसा जन्य फोहोर व्यवस्थापनका लागि विशेष ध्यान दिइनेछ ।
  • नगरभित्रउत्सर्जन हुने फोहोरमैलाको दिगो व्यवस्थापनका लागि Solid Waste Management Program (SWMP) कार्यक्रमलाई आगामी आर्थिक वर्षदेखिसुरुवात गर्नका लागि ३० लाख बजेटको व्यवस्था गरिएको छ । फोहोरमैला व्यस्थापनका लागि ल्यान्ड फिल साइटको जग्गा प्राप्ति कार्यका लागि १५ लाख र नगरका विभिन्न स्थलमा सार्वजनिक शौचालय व्यवस्थापनका लागि ३० लाख समेत गरी यस क्षेत्रका क्रियाकलापहरु सञ्चालन गर्न १ करोड ९३ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
  • विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन : विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ। विपद् जोखिम प्रतिकार्य योजनालाई प्रभावकारी कार्यान्वयन गर्नुका साथै Making Cities Resilient -2030 मा नगरपालिकाले गरेको प्रतिवद्धता पूरा गर्नका लागिविभिन्न क्रियाकलापहरू सञ्चालन गरिनेछन् । विपद् उत्थानशिल योजना र स्थानीय अनुकुलन कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।  स्थानान्तरण र सुरक्षित आवास कार्यक्रममार्फतसंवेदनशील वासस्थानलाई व्यवस्थित गरिनेछ । विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकुलनको क्षेत्रका क्रियाकलापहरको कार्यान्वयका लागि ७३ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।

सभाध्यक्ष ज्यू,

  • जलवायु अनुकूलन र वातावरण मैत्री विकास प्रणालीको अवलम्बन गरी सफा र स्वच्छ र हरित वातावरण प्रवर्द्धन गर्न वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रमा जम्मा २ करोड ८६ लाख ५० हजार अर्थात कुल बजेटको २ दशमलव २७ प्रतिशत बजेट विनियोजन गरिएको छ । अब म संस्थागत विकास र सुशासन तर्फको क्षेत्रगत विनियोजनको सारंश प्रस्तुत गर्दछु । 
  • नीति, कानुन, न्याय तथा सुशासन : विवाद निरुपणका लागि मेलमिलाप केन्द्रहरूको सुधार गरी कानुनी साक्षरता र नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ। पारदर्शिता, जवाफदेहीता र नागरिक सहभागिताको अभिवृद्धि गर्ने साथै स्थानीय निकायको न्यायिक कार्यसम्पादन गर्ने न्यायिक समितिको संस्थागत विकास गरिनेछ । सुशासन र कार्यसम्पादनको लागि आवश्यक पर्ने नीति तथा स्थानीय कानुन निर्माण र समयसापेक्ष परिमार्जनमा जोड दिइनेछ । अनुगमन, नियमन, सचेतनाकार्यक्रम साथै खाद्य सुरक्षा र पेशागत सुरक्षा मापदण्डहरू सुनिश्चित गरी उपभोक्ता अधिकार र हितहरूको संरक्षण गरिनेछ। जिल्ला भित्रका १० वटै पालिकाहरूको न्यायिक समितिहरूको जिल्ला सम्मेलन आयोजना गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
  • न्याय सम्पादन सम्बन्धी कार्यको प्रभावकारी व्यवस्थापन, सुशासन प्रवर्द्धन सम्बन्धी क्रियाकलाप सञ्चालन, उपभोक्ता हित संरक्षण तर्फका क्रियाकलापहरु सञ्चालन गर्नको लागि नीति, कानुन, न्याय तथा सुशासन क्षेत्रमा कुल ५४ लाख ९ हजार बजेट व्यवस्थापन गरिएको छ ।
  • सङ्गठन तथा क्षमता विकास, जनशक्ति व्यवस्थापन र सेवा प्रवाह : संस्थागत क्षमता अभिवृद्धि र सार्वजनिक सेवालाई पहुँचयोग्य, पारदर्शी, निष्पक्ष एवम् जवाफदेही तुल्याउन विशेष ध्यान दिइनेछ । आन्तरिक नियन्त्रण प्रणाली थप सुदृढ बनाइनेछ र मानव संसाधनको दक्षता रक्षमता विकासलाई प्राथमिकता दिइनेछ।कार्य बोझ र स्रोतको उपलब्धताका आधारमा कार्यालय र स्वास्थ्य संस्थाको वर्तमान संगठन संरचनाको पुनरावलोकन गरी दरबन्दी व्यवस्थापन गरिनेछ ।  पारदर्शी र जनमुखी सेवा प्रवाह र विकास व्यवस्थापन सुनिश्चित गर्न अनुगमन र समन्वयको प्रयास बढाइनेछ।उल्लिखित कार्यहरू सञ्चालन र कार्यान्वयनका लागि जम्मा १५ करोड ७७ लाख १४ हजार बजेट विनियोजन गरिएको छ ।
  • राजश्व तथा स्रोत परिचालन : कर प्रणालीमा सुधार गरी वित्तीय स्रोत संकलनको दायरा फराकिलो बनाउने उद्देश्यमा विशेष ध्यान दिइएको छ । करदाता पहिचान, राजस्व प्रशासनमा संस्थागत सुधार र व्यवसायमैत्री कर प्रणाली निर्माण गरिनेछ । प्रभावकारी सार्वजनिक खरिद, क्षमता विकासमा ध्यान दिइनेछ । विनियोजन दक्षता, कार्यान्वयन कुशलता र स्रोत परिचालनमा वित्तीय अनुशासन सुनिश्चित गर्नमा विशेष ध्यान दिनेछ।नगरभित्ररहेका सबै करदाताहरूलाई करको दायरामा ल्याउन र करदाता शिक्षा कार्यक्रमसञ्चालन गरिनेछ ।यस क्षेत्रमा उल्लिखित क्रियाकलापहरू सञ्चालनार्थ जम्मा १५ लाख बजेट विनियोजन गरिएको छ ।
  • तथ्याङ्क प्रणाली, योजना र विकास व्यवस्थापन : नगरपालिकाले जनसंख्या, अर्थव्यवस्था, पूर्वाधारर सार्वजनिक सेवाहरू जस्ता नगरका विभिन्न पक्षहरूमा भरपर्दो तथ्याङ्क सङ्कलन गर्न बलियो तथ्याङ्क प्रणाली स्थापना गर्ने लक्ष्य राखेको छ। हाल तथ्याङ्क कार्यालयहरूबाट सम्पादन हुदै आएको तथ्याङ्क व्यवस्थापन सम्बन्धी कार्यहरू स्थानीय सरकारबाट सञ्चालन गर्ने संघीय सरकारको नीति अनुरूप तथ्याङ्क व्यवस्थापन सम्बन्धी कार्यका लागि संरचनागत व्यवस्था मिलाइनेछ ।
  • योजना र कार्यक्रमहरुलाई प्रभावकारी रूपमा कार्यान्वयन र मूल्याङ्कन गर्ने सुनिश्चितता गर्दै योजना र बजेट विनियोजनलाई मार्गदर्शन गर्न लगानीमा प्रतिफल सूचकहरूको प्रयोग गर्ने पद्धतिलाई थप व्यवस्थित बनाइने छ । आयोजना र कार्यक्रमहरूको अनुगमन प्रणाली विकास र सहभागितामूलक योजना प्रक्रियालाई प्रवर्द्धन गरिनेछ ।तथ्याङ्क व्यवस्थापनका लागि ३६ लाख र योजना तथा विकास व्यवस्थापनको लागि १९ लाख ५० हजार, विभिन्न क्रियाकलाप सञ्चालनमा हुने जनसहभागिताको भुक्तानीका लागि १ करोड २५ लाख समेत गरी यस क्षेत्रमा जम्मा १ करोड ८० लाख ५० हजार बजेट व्यवस्था गरिएको छ ।
  • दक्ष, उत्तरदायी, पारदर्शी तथा नतिजामूलक प्रशासनको विकास गरी सुशासनको प्रवर्द्धन गर्ने उद्देश्यले संस्थागत विकास तथा सुशासन क्षेत्र तर्फ १८ करोड २६ लाख ७३ हजार अर्थात कुल बजेटको १४ दशमलव ४७ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

सभाध्यक्ष महोदय,

  • अब म नगरपालिकाका क्षेत्रगत नीति तथा माथि उल्लेख गरिएका कार्यक्रमहरू कार्यान्वयनका लागि श्रोत व्यवस्थापन र बजेट विनियोजनको अनुमान पेश गर्ने अनुमति चाहन्छु ।
  • आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरिएका कार्यक्रमहरुको कार्यान्यवन गर्न रु. १ अर्व २६ करोड २६ लाख ७९ हजार  विनियोजन गरिएको
    छ । कूल विनियोजन मध्ये रु. ७२ करोड ९८ लाख ९१ हजार चालु खर्च तर्फ, रु. ५२ करोड ५५ लाख ८८ हजार पुँजिगत खर्च तर्फ र ७२ लाख वित्तीय व्यवस्था तर्फ छुट्याइएको छ । कूल विनियोजनमा चालु खर्चको अंश  ५७ दशमलव ८ प्रतिशत, पुँजिगत खर्चको अंश  ४१ दशमलव ६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ शुन्य दशमलव ५८ प्रतिशत रहेको छ ।
  • आगामी आर्थिक वर्षको लागि अनुमान गरिएका खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्व असुली बाट रु.  ७ करोड ४४ लाख ३० हजार ७ सय राजश्व बाँडफाँडबाट रु. १७ करोड ५६ लाख  ६९ हजार तथा वित्तीय हस्तान्तरण मार्फत सङ्‍घीय सरकारबाट रु. ६२ करोड ७१ लाख र प्रदेश सरकारबाट रु. ३ करोड ८४ लाख ५२ हजार तथा जनसहभागीताबाट रु. १ करोड २५ लाख समेत कूल रु. ९२ करोड ८१ लाख ५१ हजार ७ सय प्राप्त हुने अनुमान गरिएको छ ।
  • आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरिएका कार्यक्रमहरूको  क्रियाकलापगत बजेट विनियोजन र सोको खर्च व्यहोर्ने स्रोतको अनुमान अनुसूचीमा संलग्न छ ।
  • आर्थिक वर्ष २०८०/०८१ को बजेटमा आन्तरिक स्रोत तर्फ करका दरहरू बढाउने भन्दा पनि दायरा फराकिलो गर्दै करका केही दरहरूमा सामान्य परिवर्तन गरिएको छ । आन्तरिक स्रोतबाट प्राप्त हुने राजस्व रकमलाई स्थानीय नगरवासीको हितमा नै खर्च गर्ने गरी नगरस्तरीय र वडास्तरीय पूँजीगत र प्रवर्द्धनात्मक कार्यक्रममा विनियोजन गरी आन्तरिक स्रोतको रकम नगरको विकास निर्माणमा लगानी गरिएको छ ।
  • चालु आर्थिक वर्ष २०७९/८० को लागि स्वीकृत विनियोजनमा संघीय र प्रादेशिक सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणमा वृद्धि भई कायम भएको रु १ अर्व, ३७ करोड, ३ लाख, ७४ हजार को संशोधित वार्षिक विनियोजन समेत यसै सभाबाट स्वीकृतिका लागि पेश गर्दछु ।

सभाध्यक्ष महोदय,

  • यस अघि उल्लेख गरे बमोजिम आगामी वर्ष रु. ९२ करोड ८१ लाख ५१ हजार ७ सय सञ्‍चित कोषमा प्राप्त हुने भनी अनुमान गरिएकोमा नगरको आवश्यकता र नगरवासीको चाहना बमोजिम रु १ अर्व २६ करोड २६ लाख ७९ हजार विनियोजन प्रस्ताव गर्दा रु. ३३ करोड ४५ लाख २७ हजार ३ सय रकम आय र व्ययमा फरक परेको छ । उक्त रकम मध्ये चालु आर्थिक वर्षमा खर्च नभई आषाढ मसान्तमा सञ्‍चित कोषमा मौज्दात रहने रकमबाट रु. २६ करोड ७४ लाख ८१ हजार ७ सय र नगरविकास कोषबाट ऋण लिनेगरी प्रस्ताव गरिएको रु. ६ करोड ७० लाख ४५ लाख ६ सय रकमबाट घाटा व्यहोरिने अनुमान गरी बजेट तर्जुमा गरिएको छ।
  • प्रचलित कानुन प्रदत्त अधिकारलाई प्रयोग गर्दै नगरपालिकाले आफ्नो क्षेत्रभित्र संकलन गर्ने कर, दस्तुर र सेवा शुल्कको दररेट, छुट तथा नीति सम्बन्धी व्यवस्था एवं राजस्व प्रशासन सम्बन्धी प्रस्तावहरू समावेश गरी आर्थिक वर्ष २०८०/८१ का लागि अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८० यसै सम्मानित सभामा प्रस्तुत गर्दछु ।
  • सम्भाव्य स्थानीय स्रोत साधनलाई बढीभन्दा बढी प्रयोग गर्दै नगरवासीलाई सरल रसहज ढङ्‍गबाट गुणस्तरीय सेवा उपलब्ध गराउन नगरवासीहरूलाई उच्च सम्मान गर्दै समृद्धितर्फ उन्मुख गराउने एवं नगर विकासको आधारशिला खडा गर्ने अभिप्रायका साथ योजना तथा कार्यक्रममा रकम विनियोजन गरी निर्धारित कृयाकलापका लागि आवश्यक पर्ने रकम सञ्चित कोषबाट खर्च गर्ने प्रस्तावको रूपमा विनियोजन विधेयक, २०८० समेत यसै सभामा पेश गर्दछु ।
  • स्थानीय सरकारको गठन पश्चात् पहिलो पटक तर्जुमा गरिएको नगरपालिकाको पहिलो ५ वर्षे आवधिक योजनाको तेस्रो वर्ष व्यतित् भएको अवस्थामा यस वर्ष हामीले योजनाको मध्यावधि समीक्षा गरेका छौं । आवधिक योजनाको मध्यावधि समीक्षाबाट योजना र यसको कार्यान्वयनका क्षेत्रमा गर्नुपर्ने सुझावहरू सहितको समीक्षा प्रतिवेदन सभामा पेश भइ सकेको छ ।
  • अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले व्यवस्था गरे अनुरूप सार्वजनिक खर्चमा विनियोजन दक्षता, कार्यान्वयन कुशलता र वित्तीय अनुशासन कायम राख्ने उद्देश्यले सूर्योदय नगरपालिकाको आवधिक योजना र आगामी वर्षको वार्षिक बजेट बीच तादम्यता कायम गर्न महत्वपूर्ण औजारको रूपमा रहने अपेक्षा गरिएको आगामी ३ वर्षको मध्यमकालीन खर्च संरचना समेत तयार गरी स्वीकृतिका लागि यस सम्मानित सभामा पेश गर्दछु । मध्यमकालिन खर्च संरचना तर्जुमा गर्दा आवधिक योजनाको मध्यावधि समीक्षाबाट प्राप्त सुझावहरूलाई यथासम्भव सम्बोधन गर्ने प्रयास गरिएको छ ।
  • बजेट तथा कार्यक्रमको कार्यान्वयनबाट नगरपालिकाको उद्देश्य प्राप्तिका लागि हासिल हुने उपलब्धिलाई परिमाणात्मक रूपमा मापन गर्न र वार्षिक तथा मध्यमकालिन लक्ष्य निर्धारण गर्न यसै वर्ष देखि आर्थिक सर्वेक्षण गरी  आधार रेखा (Base-line) को रूपमा नगरपालिकाको २०७९ चैत्र मसान्त सम्मको अवस्थालाई आधार मानी तयार गरिएको स्थानीय आर्थिक सर्वेक्षण  प्रतिवेदन २०७९/८० समेत सभा समक्ष पेश भइ सकेको छ ।

सभाध्यक्ष महोदय,

  • प्राथमिकीकरण नगरी ठूलो संख्यामा आयोजना र कार्यक्रम समावेश गरी स्रोत साधन छर्ने प्रवृत्तिमा सुधार गर्न र क्षेत्रगत प्राथमिकता भित्र  पनि ठूला र रणनीतिक महत्त्वका, छिटो प्रतिफल दिने र बहुसंख्यक नगरवासीले प्रत्यक्ष लाभ प्राप्त गर्ने आयोजना तथा कार्यक्रममा प्राथमिकताका साथ रकम विनियोजन गर्ने प्रयास गरिएको छ, तथापि सीमित स्रोत तथा बढ्दो माग र अपेक्षाका कारण यस प्रयासले पूर्णता प्राप्त गर्न सकेको छैन । आगामी आर्थिक वर्षमा कार्यक्रम र आयोजनाको औचित्य तथा आवश्यकताको सघन समीक्षा गरी बजेट प्रणालीमा थप सुधार ल्याउने प्रयास गरिनेछ ।
  • नगरपालिकाले अवलम्बन गर्ने नीतिहरू र संचालन गरिने क्रियाकलापहरू बीचको अन्तरसम्बन्धलाई मजबुत बनाउन नीतिहरूको आवश्यकता, उद्देश्य, नीति-कार्यान्वयन र कार्यान्वयनको मूल्याङ्कनका आधार समेत स्पष्ट हुने गरी आवश्यक गृहकार्य गरिनेछ । आयोजनाहरूको अनुगमन प्रणालीमा सुधार गरी नतिजामा आधारित बनाइनेछ । अनुगमन समितिले दिएको सुझावको अभिलेख व्यवस्थापन गर्ने र त्यसको कार्यान्वयनको  प्रभावकारी अनुगमन गर्ने व्यवस्था मिलाइनेछ ।
  • स्वीकृत कार्यक्रम कार्यान्वयन गरी अपेक्षित उपलब्धि हासिल गर्न बजेटले राखेको लक्ष्य प्राप्तिका लागि श्रावण महिना भित्रै कार्यक्रम कार्यान्वयन निर्देशिका तर्जुमा गरी कार्यपालिकाबाट स्वीकृत गर्नु पर्ने व्यवस्था गरिएको छ । क्रियाकलापगत रूपमा  विनियोजित बजेटको कार्यान्वयन चरणमा खरिद प्रतिस्पर्धा खुम्चिने गरी टुक्र्याउने र स–साना क्रियाकलापहरूमा खर्च गर्ने कार्यलाई निरुत्साहित
    गरिनेछ । जेष्ठ महिना पछि रकमान्तर र कार्यक्रम संशोधन गरिने छैन ।
  • स्रोतमा परेको चापलाई मध्यनजर गरी अत्यावश्यक बाहेक तालिम गोष्ठी सेमिनार जस्ता कार्यक्रमहरू संचालन गरिने छैन । प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिनेछ ।  विद्युतीय माध्यमको उपयोगलाई वृद्धि गरी कागजको प्रयोगलाई न्यूनीकरण गरिनेछ ।नगरकार्यपालिकाको कार्यालय, अन्तरगत कार्यालयहरू तथा स्वास्थ्य संस्थामा रहेका पुराना र प्रयोग विहीन जिन्सी सामग्रीहरूलाई पौष महिना भित्रै लिलाम बिक्री गरिसक्ने व्यवस्था मिलाइनेछ ।
  • सार्वजनिक वित्तका क्षेत्रमा गरिने सुधारबाट वित्तीय अनुशासन कायम हुने र पुँजीगत खर्चको प्रभावकारीता वृद्धि भई दीर्घकालीन पूँजी निर्माणमा सहयोग पुग्नेछ । बजेटमा प्रस्ताव गरिएको राजस्व नीतिको कार्यान्वयनबाट राजस्व प्रणालीमा सुधार हुने, दक्षता अभिवृद्धि हुने र लक्ष्य अनुरूप राजस्व परिचालन हुने अपेक्षा गरिएको छ ।
  • नगरपालिकाले अवलम्बन गर्ने  महत्वपूर्ण नीतिगत, कानुनी, प्रशासनिक तथा प्राविधिक सुधारहरू, आर्थिक सामाजिक, पूर्वाधार विकास, वातावरणीय क्षेत्र र सेवा प्रवाहको गुणस्तर अभिवृद्धिका लागि संचालन गरिने क्रियाकलापहरू तथाराजस्व परिचालन र लेखापालनमा गरिने सुधारका कदमहरुबाट आर्थिक विस्तार गर्दै समन्यायिक समाज निर्माण गर्न र समग्र नगर वासीको आर्थिक उन्नति अभिवृद्धि गर्न थप टेवा पुग्ने विश्वास लिइएको छ ।

अन्त्यमा,

  • नगर वासीको समग्र विकास र समृद्धिको चाहना पुरा गर्नका लागि यस बजेटको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धताका साथ यसका लागि सम्पूर्ण नगरवासी एवं सरोकारवालाहरू बाट सहयोग मिल्नेछ भन्ने अपेक्षा गर्दछु । बजेट तर्जुमाका सिलसिलामा आफ्ना अमूल्य राय सुझाव, सल्लाह उपलब्ध गराउनुहुने सम्पूर्ण नगरवासी, राजनैतिक दलका प्रतिनिधि, विषयविज्ञ, विषयगत समितिका संयोजक, विभिन्न संघ संस्थाका प्रतिनिधि, विकास साझेदार, सरोकारवाला व्यक्ति तथा संघ संस्था, सञ्चारकर्मीर कर्मचारी सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

धन्यवाद !

मिति: २०८० असार १० गते

दुर्गा कुमार बराल

संयोजक

बजेट तथा कार्यक्रम तर्जुमा समिति

TOP