फिक्क्ल: इलाम नगरपालिकाले नगर क्षेत्रको विभिन्न वडामा एकिकृत घुम्ति शिविर संचालन गरेको छ । इलाम नगरपालिकाको वडा नम्बर ४ को मलाते, वडा नम्बर १० को गोदक र वडा नम्बर ११ को सोयाकमा तीन दिनसम्म घुम्ति शिविरको आयोजना भएको हो । एकीकृत घुम्ती शिविरबाट करिब ५ सय बढी नगरवासीले सेवा लिएका छन् । इलाम नगर प्रमुख केदार थापाको प्रमुख आतित्यतामा सम्पन्न भएका शिविरहरूमा प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का नगर प्रवत्ता नुतनदेव दुलाल वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नम्बर ११ का वडाध्यक्ष काशी जबेगुको उपस्थिति रहेको थियो ।
शिविरमा मकैमा लाग्ने फौजी किराको जैविक विषादी १ सय ८० जना किसानलाई वितरण गरिएको छ। ३९ जना किसानहरूको खेतबारीको माटो परीक्षण गरिएको छ। ५ सय जना नगरवासीहरूको स्वास्थ्य परीक्षण गरिएको छ भने महिलाहरूको पाठेघरको मुखको क्यान्सरको ९२ जनाको परीक्षण गरिएको जानकारी गराइएको छ । ९२ जनाको परिक्षणमध्ये १६ जनाको क्यान्सर पोजेटिभ देखा परेको हो। गर्भवती महिलाको भिडियो एक्सरे सेवा १४ जनालाई प्रदान गरिएको छ। शिविरमा १ जना कृषकहरूको गाईवस्तुको गोबर परीक्षण गरिएको छ भने नौ वटा सामुदायिक कुकुरलाई रेबिजको खोप लगाइएको छ । शिविरमा २ सय ५० जना जेष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधि वितरण गरिएको छ। दुईवटा गोरुको वन्यकरण गरिएको छ २१४ जना किसानहरूलाई कृषि खेती बाली सम्बन्धी परामर्श दिइएको छ। ७७ वटा बालीको उपचार सेवा प्रदान गरिएको छ।
शिविरमा १ हजार १ सय २० वटा गाई गोरु भैँसी राँगा सुँगुर खसी कुखुरालाई जुका नाम्ले उपिया उडुस जुम्रा किरा लगायतको औषधिहरू वितरण गरिएको छ। वैदेशिक रोजगारमा जाने घरपरिवारका २ सय १५ जना परिवारलाई रोजगारी सम्बन्धी परामर्श दिइएको छ। शिविरमा ११ जना महिला तथा बालबालिका अपाङ्गता भएका व्यक्तिलाई परामर्श तथा रातो निलो र पहेँलो काड प्रदान गरिएको छ। त्यसैगरी नगरपालिकाले काँक्रा फर्सीमा लाग्ने रोगका लागि फेरोमिन ट्याप कृषि ज्ञान केन्द्रको सहयोगमा वितरण गरिएको छ ।