फिक्कल: इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबा आज देखि पुनः उडान सुचारु भएको छ । नेपाल एयरलाइन्सले आईतबार देखि सातामा एक दिन दिन इलाम – काठमाडौं र काठमाडौं–इलाम उडान भर्न शुरु गरेको हो । नेपाल एयरलाइन्सले अव प्रत्येक आईतबार उडान भर्ने इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले जानकारी दिनु भयो । सातामा एक दिन उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति भएको नगरप्रमुख थापाले जानकारी दिनु भयो । इलामबाट काठमाडौंका लागि विहान साढे ९ बजे उडान हुने तालिका बनाएको छ । आईतबार शुरुको दिन भने निर्धारित समय भन्दा केहि ढिलो गरी उडान गरेको छ । पहिलो दिन नेपाल एयरलाईन्सले ७ जना यात्रु लिएर काठ्माण्डौबाट आएर इलामबाट ८ जना यात्रु लिएर फर्कीएको थियो । बिमानस्थलमा १९ सिट क्षमताको ट्विनअटर जहाज संचालन हुनेछ ।
इलाम नगरपालिकाका अनुसार इलामबाट काठमाडौंको एकतर्फी भाडा छ हजार तीन सय तोकिएको छ । काठमाडौंबाट इलामका लागि भने एकतर्फी भाडा छ हजार पाँच सय तोकिएको छ ।तर जेष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ ।त्यस्तै एक उडानमा दुई जना २५ वर्ष ननाघेका विद्यार्थीलाई विद्यार्थी परिचयपत्र र उमेर खुल्ने प्रमाणपत्रको आधारमा करबाहेकको रकममा २५ प्रतिशत भाडा छुट गरिएको छ । त्यसैगरी २ वर्षदेखि १२ वर्ष सम्मका सबै बालबालिकालाई जन्म दर्ताको आधारमा भाडामा २५ प्रतिशत छुट गरिएको छ ।यात्रुले इलाम बजारस्थित सिटीमार्टको पहिलो तल्लाबाट टिकट लिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । इलाम–काठमाडौं र काठमाडौं–इलाम उडानमा ५० देखि ५५ मिनेट लाग्नेछ । उक्त विमानस्थलमा गत फागुनमा तारा एयरले इलाम नगरपालिकासँगको सम्झौतामा व्यवसायिक उडान सुरु गरेको थियो । तर ताराले यात्रु नपाएको भन्दै गत जेठ महिनादेखि एकलौटी रुपमा उडान बन्द गरेपछि विमानस्थल सुनसान थियो । इलाम नगरपालिकाको पहलमा पुनः उडान सुचारु भएपछि जिल्लाबासी हर्षित भएका छन् ।
उक्त विमानस्थलबाट इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने अपेक्षा गरिएको छ । इलाममा छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गरिएको छ ।