नयाँबजार: इलामको माइजोगमाई गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिलाई घरमै स्वास्थ परीक्षण गराई अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ । गाउँपालिकाको अपाङ्गता समन्वय समिति संयोजक तथा उपाध्यक्ष प्रविना राईको संयोजकत्वमा अपाङ्गता भएका ब्यक्तिको घरैमा पुगेर अपाङ्गता भएका ब्यक्तिको पारिवारीक अवस्थाको जानकारी लिई स्वास्थ्य परीक्षण गराई परिचय पत्र बितरण गरीएको हो ।

गाउँपालिका उपाध्यक्ष राई सगै गाउँपालिका अध्यक्ष कुश वहादुर थेवे , माईजोगमाई आधारभूत अस्पतालका डाक्टर यसमिन शेर्पा , वडा नं. ४ का वडा सदस्य कुमार तामाङ ,कमला न्यौपाने , डम्बर चेमजोङ ,अपाङ्गता सहायता कक्षका कर्मचारी सरोज पौडेल ,पञ्जिकरण इकाईका डम्बर निरौला लगायतको उपस्थितिमा माईजोगमाई गाउँपालिका वडा न.ं ४ नामसालिङमा अपाङ्गता भएका ५ जना ब्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । माईजोगमाई गाउँपालिका वडा नं ४ नामसालिङमा अपाङ्गता भएका ३ जनालाई रातो (पूर्ण अपाङ्गता) कार्ड र २ जनालाई निलो (अति अशक्त अपाङ्गता ) कार्ड वितरण गरिएको अपाङ्गता समन्वय समिति संयोजक तथा उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो।
पालिकाले अपाङ्गता भएका ब्यक्तिलाई सहायक सामग्री समेत बितरण गर्दै आएको छ । पालिकाले हिडडुल गर्न नसक्ने अपाङ्गता भएका ब्यक्तिको घरमा नै पुगेर परिचय पत्र बितरण गर्दै आएको छ ।
