जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाममा बर्सेनि घट्दै कोदो उत्पादन, भारतबाट आयात बढ्दै

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
इलाममा बर्सेनि घट्दै कोदो उत्पादन, भारतबाट आयात बढ्दै

इलाम:  साउन–भदौमा कोदो रोप्ने काम हुन्थ्यो। किसान बेर्ना उखेल्न र रोप्न व्यस्त हुन्थे। अहिले भने जिल्लामा अधिकांश किसानले कोदो रोप्न छाडेका छन्। सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले पनि कोदो रोप्न छाडेको १० वर्ष पुग्यो। “अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि कोदो रोपिन्थ्यो। आजकाल त रोप्न छाडियो,” उनले भने।

कोदोबाट भन्दा चिया, अलैँची, अकबरे लगायतका कृषि उपजबाट राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदोखेती छोड्दै गएको बताएका छन्। “कसै–कसैले घरमा जाँड बनाउन, पूजा गर्न भनेर अलिअलि लगाए पनि बिक्री गर्ने उद्देश्यले खेती हुन छोडेको छ,” माइजोगमाई गाउँपालिका–३ का मिलन खड्का भन्छन्, “पैले–पैले हाम्रै गाउँभरि कोदो हुन्थ्यो। अहिले खेतबारीमा कतै चिया, कतै अलैँची भरिएको छ। बरु अकबरेको व्यावसायिक खेती गर्छन्। कोदो भेटिँदैन।

कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लाको सबै क्षेत्रमा कादोको उत्पादन बर्सेनि ओरालो लागि रहेको छ। “जिल्लाको एक हजार ४३२ हेक्टर क्षेत्रमा कोदो खेती हुन्छ,” ज्ञान केन्द्रका प्रमुख राम जुगन यादवले भने, “त्यसबाट एक हजार ७४७ टन कोदो उत्पादन हुने गरेको छ।” इलामका १० स्थानीय तहमै आंशिक रूपमा कोदो खेती हुने गरेको छ। तर, उत्पादन भने वार्षिक रूपमा ओरालो लागेको प्रमुख यादवले बताए।

इलामका बजारमा भारतबाट आयात गरिएको कादो पाइन्छ। सूर्योदय–४ का प्रदीप गिरीले पर्यटकलाई खुवाउने कोदो पनि स्थानीय भनेर भारतबाट ल्याउनुपरेको बताए। मकरजुङका टीकाराम अधिकारीले पोहोर नौला बुझाउन गाउँभरि कोदो खोज्दा कतै नभेटेपछि यसवर्ष बारीको एकछेउमा एक मानाको बीउ रोपेका छन्। “दुई वर्ष नौलो बुझाउन पुग्ला त्यसपछि फेरि रोप्नुपर्छ। यति रोप्नलाई बारी खन्ने खेताला नभेटेर बिजोग भयो। जमाना फेरिएछ अब।”

कृषि निर्देशनालयका अनुसार कोशी प्रदेशका १४ जिल्लामा ६५ हजार ३७२ हेक्टरमा कोदोखेती हुने गरेको छ। त्यसबाट एक लाख आठ हजार ३७५ टन कोदो उत्पादन हुने गरेको छ। यो करिब पाँच अर्ब २० करोड २० लाख बराबरको उत्पादन हो।

यो वर्षदेखि कोशी प्रदेश सरकारले रैथाने बालीको प्रवर्द्धनका लागि विनियोजन गर्दे आएको बजेट कटौती गरेको छ। सरकारको बेवास्तामा परेसँगै कोदो बाली हेलाँमा परेको खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताए। “राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रयासको प्रभावस्वरूप जनस्तरमा चेतना अभिवृद्धि भई हाल बजारमा कोदोको माग बढिरहेको पाइन्छ तर विडम्बना उत्पादन भने घटिरहेको छ,” उनले भने।

पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ। प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार २०८०र८१ मा ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार ७ ९७ टन कोदो भारतबाट आयात भएको छ। २०७९र८० मा ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ टन कोदो भारतबाट आयात भएको थियो। नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको हो।

कोदो नेपालको चौथो मुख्य बाली हो। कोदोलाई पहाडी क्षेत्रको मकैपछिको दोस्रो मुख्य बालीका रूपमा लिइन्छ। कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाएर खान सकिने अधिकारी बताउँछन्। “खाद्य सुरक्षाको दृष्टिकोणले कोदो ज्यादै महत्त्वपूर्ण बाली हो,” उनले भने, “पछिल्ला दिनमा जनचेतना वृद्धि र स्वास्थ्यको दृष्टिकोणले कोदो लाभदायक भएकाले यसको महत्त्व तथा उपयोगिता दिनदिनै बढ्दै गइरहेको छ।”कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाइमिन तथा रेसादार वस्तु पाइने विभिन्न अध्ययनले देखाएको छ।रासस

TOP