उत्तरी इलामको लेकाली क्षेत्रमा पशुपालन गरेर जिबिकोपार्जन गर्ने किसानको समय गाइ गोठमै बित्ने गरेको छ । जिबिकोपार्जनको एकमात्र बिकल्पको रुपमा रहेको किसानमा पारिवारीक मोह भन्दा पनि एकान्त र गोठबासवास नै संसार बनेको हो ।
गाइपालन गरेर दुधबाट घिउ र छुर्पी उत्पादन गरी बिक्री गरिन्छ । साथै वाख्रापालन उनीहरुको बर्षौ देखीको ब्यवसायका रुपमा रहेको छ । यसरीनै गोठबासको समय बिगत नौ बर्षदेखी बिताइ रहेका छन् माइजोगमाई २ का ढाकाराज खड्काले । उनी अहिले आलु बिकास केन्द्र नजिकको माइजोगमाइ २ र सन्दकपुर ५ को सिमाना तालपोखरीमा गोठ राखेर बसेका छन् ।
उनले सधै त्यस स्थानमा गोठ राख्ने भने होईनन, उनी निक्कै माथी जौवारीमा बर्खे गोठ राख्ने र हिउँ पर्ना साथ गोठ अलितल तालपोखरीमा सार्ने गर्छन । उनको गोठमा अहिले १५ माउ गाइ १० बाछाबाछी र १० जति बाख्रा र खसी रहेका छ । एकान्तको गोठमा उनी एकजना मात्रै बस्छन । बिहान सबेरै उठेर खोले दाना दिने गाइ दुहुने गाइ फुकाएर अनाकन्टरको जंगल र फाटमा पठाउनेगर्छन उनी । गाइजंगलमा छोडेपछि बाछाबाछी माउ छाडेको बिपरित दिशामा लगेर छाडीदिने गरेका छन् । माउ र बाछी अलग दिशामा छाडेपछि दुध वाछाबाछीले नखाने र बेलुका माउ एकातिर बाछा एकातिर गोठमा थन्काउने गरेको बताए ।गाइ जंगलमा पठाएर थलो भकारो र दुध तताउने र घिउ छुर्पी बनाउने कामले उनको दिन बितेको पत्तै पाउदैनन् ।
उनीमात्रै हेईन त्यस क्षेत्रमा अन्य ३० जना किसान यसरी नै गोठमा बसेर गाइपालन गर्ने गरेका छन । लालिगुरास पशुपालन कृषि समुह समेत बनाएका छन् उनीहरुले । गाइगोठमात्रै नभई घर र उद्योग पनि त्यहि नै रहेका छन् । गोठमै खाना पकाउने खाने, दुध डेरी र उत्पादित सामग्री पनि गोठमा नै भण्डार गर्ने ठाउँ छ । सानो सोलार गोठमा नै छ । जसको उपयोग गरेर उज्यालो र मोवाइल चार्ज गरिने गरेको खड्काले बताए । पशुचरणमा जंगलीजनावरको त्रास रहि रहन्छ । कहिले त चरनमा गएका पशु लड्ने गरेको र कहिले जंगली जनावरको शिकार हुने सामान्य मानिन्छ ।
तर, चोरिने र हराउने गरेको भने गरेको पाईदैन । गाइबस्तुलाई घास कहिल्यै काटेर हालिदैन । स्थानीय जातका गाइ पाल्ने गरिएको छ । एक माउ गाइले सात आठ लिटर सम्म मात्रै दुध दिदा पनि बर्षमा तिन लाख बढी कमाइ हुने खड्काले बताए । त्यसो त उक्त गाइबस्तुको मल नजिकै रहेको आलु बिकास केन्द्रले खरिद गरिदिने भएकोले लागतको धेरै खर्च मल बिक्रीबाट उठ्ने गरेको छ । यसरी उत्पादन भएको सामग्री नजिकैको जौवारी भारतीय बजार मानेभन्ज्याङ र दाजिलिङ्ग सम्म लैजाने गरेका छन् । किसानले बर्षै देखि काम गरे पनि सरकारी निकायको ध्यान भने गाईपालन गर्ने किसान सम्म पुग्न सकेको छैन ।