इलाम : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रियासँगै इलाम क्षेत्र नं १ मा नेतृत्व चयनलाई सर्वसम्मत बनाउने प्रयास सुरु भएको छ। यसै सन्दर्भमा पूर्व क्षेत्रीय सभापतिहरूको फोरमले आगामी पुष १० गते विशेष बैठक आह्वान गरेको छ। धेरै आकांक्षी र गुटगत सक्रियताका कारण नेतृत्व चयनमा सहमति बन्न नसकेको अवस्थामा एकपटक साझा सहमतिको पहल गर्ने उद्देश्यसहित बैठक बस्न लागेको हो।
फोरमको योजना अनुसार बैठकमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला सदस्य, क्षेत्रीय समिति सदस्य तथा विभिन्न पदका आकांक्षीहरूलाई सहभागी गराइनेछ। गुटगत प्रतिस्पर्धाभन्दा माथि उठेर सर्वसम्मत नेतृत्व चयन गरी कार्यकर्तामा उत्साह थप्ने र संगठनलाई बलियो बनाउने उद्देश्य बैठकको मुख्य एजेन्डा रहेको छ।
पूर्व क्षेत्रीय सभापति दुर्गाकुमार बरालका अनुसार बैठकको मूल उद्देश्य जेन–जी पुस्ताको मनोभावना बुझेर उनीहरूलाई समेट्ने सक्षम र स्वीकार्य नेतृत्व अघि बढाउनु हो। “वडा देखि क्षेत्रीय तहसम्म सहमतिको संस्कार विकास गर्नुपर्छ। सक्षम, सबल र समावेशी नेतृत्व तयार गर्दै देशलाई सहज बाटोमा लैजाने सन्देश दिन यो पहल गरिएको हो,” बरालले बताए।
उनका अनुसार इलामको जिल्ला नेतृत्व एउटै क्षेत्रबाट केन्द्रित भएको विषयमा समेत बैठकमा गम्भीर छलफल हुनेछ। पूर्व क्षेत्रीय सभापति भिष्म प्रधानले पार्टीभित्र निरन्तर देखिँदै आएको किचलो र मनमुटावप्रति चिन्ता व्यक्त गर्दै एकताको आवश्यकता औँल्याए।
“प्रजातन्त्र माथि नै हमला भइरहेको अवस्थामा प्रजातान्त्रिक शक्ति एक भएर जानु आजको आवश्यकता हो। गुट हुन्छ, तर नीतिगत बहसका लागि। व्यवसायिक रुपमा गुट बनाएर राजनीति गर्नु गलत हो,” प्रधानको भनाइ छ।
उनका अनुसार नीतिगत विषयमा वैचारिक समूह बन्नु स्वाभाविक भए पनि पेशागत रुपमा गुट चिरेर भन्दा सक्षम व्यक्तिलाई सर्वसम्मत अघि बढाउने अभ्यास सुरु गर्न क्षेत्र नं १ बाट पहलकदमी थालिएको हो।
क्षेत्रीय सभापतिमा को–को चर्चामा ?
इलाम क्षेत्र नं।१ को क्षेत्रीय सभापतिका लागि हाल जिवन नेपाल, राजकुमार सेरेङ, यमन लामा, मनिकुमार स्याङ्बो, हरिकला श्रेष्ठ, कुसुम दाहाल, मणी गुरुङ, उद्धव पौडेल लगायत नेताहरू आकांक्षीका रूपमा चर्चामा छन्।
धेरै आकांक्षी भएकै कारण सहमति चुनौतीपूर्ण बनेको भए पनि पूर्व सभापति फोरमले अन्तिम प्रयासका रूपमा साझा सहमतिको ढोका खोल्न खोजेको देखिन्छ। क्षेत्रीय महाधिवेशनलाई केन्द्रीय महाधिवेशनको प्रतिविम्बका रूपमा लिइन्छ।
यहीँबाट निर्वाचित प्रतिनिधिहरूले केन्द्रीय नेतृत्व चयनको दिशानिर्देश गर्ने भएकाले इलाम क्षेत्र नं। १ मा हुने सहमति वा प्रतिस्पर्धाले राष्ट्रिय राजनीतिमा समेत सन्देश दिनेछ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तय गरिएको कार्यतालिका अनुसार पुस १६ गते गाउँ तथा नगर वडा अधिवेशन सम्पन्न हुनेछ।
त्यसको भोलिपल्ट पुस १७ गते गाउँ तथा नगरपालिकास्तरीय अधिवेशन आयोजना गरिनेछ। यस्तै पुस १९ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने कार्यतालिका रहेको छ भने एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनसहित जिल्ला अधिवेशन पुस २१ गते सम्पन्न गरिनेछ।