फिक्कल: इलामको पर्यटकीय नगरी फिक्कल बजारमा दशै सहितका चाडबाडलाई लक्षित गरी यात्रु सहायता कक्ष संचालन गरीएको छ ।
स्वदेशी तथा बिदेशी पर्यटकको सधै भिड लाग्ने फिक्कल बजारमा दशै, तिहार र छैट जस्ता पर्वका समयमा कुनै पनि यात्रु र पर्यटकले समस्या भोग्न नदिनका लागि प्रहरीले यात्रु सहायता कक्ष संचालनमा ल्याएको हो ।
फिक्कल प्रहरी चौकी र ट्राफिक पोष्ट फिक्कलले बुधबारबाट यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ । उक्त कक्षमा यात्रु र पर्यटकलाई सहजीकरण गरिने फिक्कल ट्राफिक पोष्टका प्रहरी हवल्दार बिष्णु बजगाईले जानकारी दिनु भयो ।
फिक्कल बजार भएरनै यात्रु तथा पर्यटक नेपालका बिभिन्न स्थान तथा छिमेकी देश भारतमा आउजाउ गर्ने गरेका छन । झापा , बिराटनगर, काठमाण्डौ सहितका मुख्य सहर , भारत जाने र भारत सहितका उक्त ठाउँबाट यात्रु तथा पर्यटक आउने भएकाले फिक्कलमा यात्रु साहयता कक्ष संचालनमा ल्याईएको फिक्कल प्रहरी चौकीका प्रमुख बिष्णु सापकोटाले जानकारी दिनु भयो । यात्रु सहायता कक्षमा तोकीएका स्थानमा निर्धारण गरीएको सवारी भाडा दर, यात्रु तथा पर्यटकको गन्तब्यको अवस्थाका बारेमा जानकारी सबै राखिने छ । बढी भाडा यात्रु तथा पर्यटकबाट लिएको पाइएमा तत्काल प्रहरीले कारवाही गर्ने जनाएको छ ।
यात्रु सहायता कक्षको शुभारम्भ गर्दै सूर्योदय नगरपालिका वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामाले सूर्योदय नगरपालिका पर्यटकीय नगरी भएका कारण अधिक पर्यटक भित्रिने भएकाले यातायत चालकले पर्यटकलाई पर्यटनमैत्री ब्यवहार गर्नु पर्ने बताउनु भयो । अध्यक्ष लामाले भननु भयो‘पर्यटकलाई पर्यटनमैत्री ब्यवहार गरे मात्र हामी सबैको ब्यवसाय फस्टाउछ ।’
कार्यक्रममा प्रहरी ,ट्राफिक प्रहरी, सूर्योदय उद्योग बाणिज्य संघका सचिव बिक्रम श्रेष्ठ, श्रीनिधि अस्पतालका संचालक बिवेश अधिकारी , यातायत ब्यवसायी र सवारी चालकको समेत सहभागिता रहेको थियो । इलाम बजारमा समेत जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष संचालनमा ल्याएको छ ।