इलाम : कुनैपनि कसुरमा दोषी ठहर भई कैद सजायको फैसला सुनाईएका र विचाराधीन मुद्धामा अदालतबाट पुर्पक्षमा थुनामा राख्ने आदेश भएका व्यक्तिलाई कारागारमा राखिन्छ । कारागारभित्र कैदी र थुनुवाहरुका लागि शारीरिक ब्यायाम गर्नका लागि जिम, भलिबल, फुटसल, बुद्धिचाल, क्यारेम बोर्ड, ब्याडमिन्टन, स्किपीङलगायतका खेल खेल्ने सुविधा हुन्छ । साथै पुस्तक र पत्रपत्रिका पढ्नका लागि पुस्तकालय, सूचना तथा मनोरञ्जनका लागि रेडियो सुन्न र टेलिभिजन हेर्ने सुविधा हुन्छ ।
तर कानुनले बर्जित गरेका कुनै पनि गतिविधि गर्न पाइदैंन । मदिरा सेवन गर्ने र जुवा तास तथा मोबाइल फोन प्रयोगमा बन्देज हुन्छ । कुनै कारागारका कैदी र थुनुवाले कारागारभित्रै मदिरा सेवन एवम् जुवा तास खेल्ने गर्दछन् भन्दा धेरैलाई विश्वास लाग्दैन ।
तर यो दृश्य पूर्वी नेपालको इलाम कारागारमा देख्न सकिन्छ । इलाम कारागारमा कानुनले वर्जित गरेका मदिरा सेवन, जुवा तास खेल्न तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको पाइएको छ । कारागारभित्रका कैदी र थुनुवाले कारागारलाई मदिराको प्रयोग र तासको अखडा बनाइरहेका छन् । कैदी र थुनुवाहरु मदिरा सेवन गरी तास खेलेर मनोञ्जन गर्ने गरेका छन् ।
कारागारमा रहेका कैदी र थुनुवाहरु बाहिर निस्कन पाउँदैनन्, कुनै कामका लागि बाहिर निस्कनै परेपनि प्रहरीले हतकडी लगाएर सँगसँगै मात्र निस्कन पाउँछन् । बाहिरबाट आफन्तले खानेकुरा लैजाँदा समेत लगेका सामान सबै हेरेर लैजाने व्यक्तिले चाखेपछि मात्रै भित्र प्रवेश गराउन मिल्छ । कारागारभित्र निषेधित वस्तु प्रवेश गर्नुमा कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको सेटिङविना प्रवेशै गर्न सक्दैन ।
तर इलाम कारागारमा भने कर्मचारी र सुरक्षाकर्मीको सेटिङबाटै मदिरा भित्रने गरेको पाइएको हो । कारागारभित्र मदिरा र तास भित्रिएसँगै त्यहाँका कैदी र थुनुवाहरु मदिरा सेवन, तास खेलिरहेको भिडियो बाहिरिएपछि कर्मचारी र सुरक्षाकर्मीको सेटिङ भएको पुष्टि भएको छ ।
जिल्ला कारागार इलामका जेलर सुमित मगरले उक्त भिडियो कारागार भित्रकै रहेको स्विकारेका छन् । मगरले सो भिडियो इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदिबन्दी अहिले पनि त्यही रहेको स्वीकार गर्दै भिडियो देख्दा आफू पनि अचम्मित परेको बताउँदै कारागारभित्र भएको यस्तो क्रियायाकलापको निष्पक्ष छानबिन गर्ने बताए ।
तर, कारागारभित्र मदिरा र तास भित्रनुमा आफ्नो सेटिङ रहेको कुरा भने अस्वीकार गरेका छन् । ‘त्यो भिडियो कहिलेको हो र कसरी त्यस्तो भयो भन्ने कुराको अनुसन्धान सुरु भएको छ । मैले कर्मचारी र सुरक्षाकर्मीसहित २५ जनालाई लिखित स्पष्टीकरण लिइसकेको छु । कैदलाई पनि सोधेको छु’ जेलर मगरले भने, ‘हामी अनुसन्धानकै क्रममा छौं । अनुसन्धानको प्रतिवेदनबाट मात्र सबै कुरा भन्न सकिन्छ ।’
उनले कारागारभित्र अनुशासनहीन काम गर्न नपाइने र कानुनले बन्देज गरेका कुराहरू प्रयोग गर्न नपाइने र बिक्री वितरण गर्न नपाइने बताए । तपाईहरुको स्टिङविना कसरी कारागारभित्र लैजान सकिन्छ भन्ने प्रश्नमा मगरले सबै कुरा अनुसान्धनबाटै थाहा हुने भन्दै अन्य विषय खुलाउन चाहेनन् ।
यता प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले कारागारभित्र भएको क्रियाकलापका बारेमा छानबिन गर्न कार्यदल गठन भएको बताउँदै छानबिन कार्यदलको प्रतिवेदनपछि मात्र विस्तृत रुपमा भन्न सकिने बताए । ‘घटनाका सम्बन्धमा छानबिन गरी ३ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न छानबिन कार्यदल गठन गरिएको छ । कार्यदलले स्थलगत रुपमा अध्ययन गरेर के प्रतिवेदन दिन्छ, त्यसपछि मात्र भन्न सकिन्छ’ प्रमुख जिल्ला अधिकारी पोख्रेलल् भने, ‘घटना कसरी भयो, कसको दोष छ, के(के पक्षमा सुधार गर्नुपर्ने हो, आगामी दिनमा के गर्न सकिन्छ भन्ने भन्न सकिन्छ ।’
जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला प्रशासन कार्यालयका प्रशासकीयय अधिकृत हरिकुमार थापाको संयोजकत्वमा प्रहरी निरिक्षक विपन विश्वकर्मा र नायव सुब्बा नित्यानन्द घिमिरे सदस्य रहेको कार्यदल गठन गरेको हो । कार्यदलले स्थलगत रुपमा निरीक्षण गरी सुझावसहितको प्रतिवेदन पेश गर्नेछ ।
नेपालकै पहिलो नमुना सुधारगृहको रुपमा भौतिक संरचना निर्माण गरिएको इलाम कारागारमा इलाम हाल दुई सय ८० जना रहेका छन् । सो कारागारको क्षमता १ सय २५ जनाको रहेको छ ।राम योङहाङले नयाँ बुलन्दमा लेख्नु भएको समाचार साभार