फिक्कल: सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगले किसानलाई चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ दिनुपर्ने र किसानले ४० प्रतिशत मुना भएको चिया मात्र टिपेको हुनुपर्ने मापदण्ड थियो । तर, अधिकांस किसान र उद्योगीले खुल्ला बजारको माग राखेपछि नगरपालिकाको कार्यपालिका बैठकले उक्त कार्यविधि संसोधन गरेको कार्यावहाक नगरप्रमुख दुर्गा कुमार बरालले बताउनुभयो ।
बिहिबार नगरपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख बरालले सभाले झन्झटीला र नागरिकलाई असहज हुने गरिका बिभिन्न सातवटा ऐन संसोधन गरेको बताउनुभयो । “नगरको बिनियोजना ऐन २०८२, आर्थिक ऐन २०८२, आधारभूत तथा माध्यमिक शिक्षा ऐन २०७६, स्वास्थ्य ऐन २०७८, सवारी तथा यातायत ब्यवस्थापन ऐन २०७६, नगर प्रहरी ऐन २०७६ र सहकारी ऐन २०७५ संसोधन बिद्येयक पारित भएको छ ।” उहाँले भन्नुभयो ।
नगरपालिका क्षेत्रमा ६३ वटा सानाठूला चिया उद्योग रहेका छन् । पालिकाले चियाको न्यूनतम सर्मथन मुल्य निर्धारण गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख बरालले भन्नुभयो “चिया रोपण देखि टिप्नेसम्म र अर्गानिकरण गर्न हामीले ध्यान दिने हो, बजारीकरण र मुल्य निर्धारण संघीय सरकारले गर्नुपर्छ ।”
नगरले यस पटक चिया क्षेत्रका समस्या समाधान गर्न १४ वटै वडाबाट किसान र उद्योगीका सुझाव समेत लिएको थियो । नगरले चिया कार्यविधि संसोधन गर्नका लागि स्थानीयलाई समेत अनलाईन मार्फत सुझाव माग गरेको थियो । यहाँ चिया क्षेत्रका समस्या समाधान गर्नका लागि चिया शाखा समेत संचालन गरिने भएको छ ।
नगरले यस अघि निर्माण गरेको आधाभूत तथा माध्यमिक शिक्षा ऐन २०७६ लाई परिमार्जन गरी संघीय कानुन अनुसार संचालन हुने ब्यवस्था गरेको छ । नगरले सवारी तथा यातायत ब्यवस्थापन ऐन २०७६ संसोधन गरी तीन पाङग्रे सवारी साधान संचानलमा सहजता ल्याएको छ । सहकारी ऐन २०७५ लाई संसोधन गरी संघीय कानुन अनुसार हुने गरी पारित गरेको पालिकाका प्रवक्ता ख्याम भूजेलले जानकारी दिनुभयो ।
“नगर सभाले नेपाल सरकारले ५० बर्षका लागि लिजमा दिएको नेपाल चिया बिकास निगम अन्र्तगतको चिया बगान स्थानीय सरकारको स्वामित्वमा ल्याउनका लागि संघीय सरकारलाई पत्राचार गर्ने, सडकको चौडाई भन्दा गुणस्तरीय काम गराउने, काठका पोल बिस्थापन गर्ने लगायतका निर्णय गरेको छ ।” प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोईरालाले भन्नुभयो, “नगरले गत बर्षको बिपदबाट क्षति भएका सडक मर्मतका लागि १४ वटै वडामा दुई÷दुई लाखका दरले रकम बिनियोजन गरेको छ ।”
नगरले फोहोरमैला ब्यवस्थापनका लागि स्वीस सरकार , प्रदेश सरकार र स्थानीय सरकारको २२ करोड हाराहारी लगानीमा आधुनिक फोहोरमैला ब्यवस्थापन केन्द्र निर्माण गर्ने भएको वडा नं ५ का वडाध्यक्ष उर्गेन बम्जनले बताउनुभयो । उहाँका अनुसार, नगरले जग्गा बिक्रीमा लाग्ने लाभकर र राजमार्गको सेटब्याकको ब्यवस्था परिमार्जनका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
नगरका प्रमुख प्रशासकीय अधिकृत कोइरालाले नगरलाई पारदर्शी बनाउदै बेरुजु शून्यामा झार्ने गरी बर्तमान संघीय सरकारको रफतारमा काम भैरहेको जानकारी दिनुभयो । नगरका सूचना अधिकारी योगनिधि भट्टराईले नगरमा भएका कामको पारदर्शीताका लागि नगरले महत्वपूर्ण कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्दै आएको जानकारी दिनुभयो ।