Hamropalika menu advertisement

अन्तु–कन्याममा पर्यटकको ओइरो

  • प्रकाशित मितिः October 27, 2025
  • हाम्रो पालिका
अन्तु–कन्याममा पर्यटकको ओइरो

प्रेम अधिकारी-पशुपतिनगर(इलाम)

पर्यटकीय सिजनको शुरुमै इलामका चर्चीत पर्यटकीय स्थल अन्तु र कन्याममा पर्यटकको ओइरो लाग्न थालेको छ । गत असोज १८ गतेको बाढीपहिरो पछि केहि समय सुनसान भएका अन्तु कन्याममा मौषम खुले संगै आन्तकि तथा बाहय पर्यटकको ओइरो लाग्न थालेको हो ।
बाढीपहिरोले क्षति गरेका सडक लगायतका संरचना मर्मत तथा पुनः निर्माण गरिए संगै अन्तु कन्याममा दैनिक हजारौ पर्यटक आउन थालेको अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिनुभयो । जेन्जी आन्दोलन र बाढीपहिरोपछि भारतीय पर्यटकको चहलपहल घटेको अन्तु कन्याममा अहिले भारतीय पर्यटकले खचाखच बन्न थालेका छन । अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष घिमिरेले अन्तुमा भएका होटल, होमस्टे र कटेजमा पर्यटक नअटेपछि गाउँका घरमा समेत पर्यटक राखिएको जानकारी दिनु भयो । अध्यक्ष घिमिरेले भन्नु भयो‘मौषम खुले संगै अन्तुबाट सूर्योदयको दृश्यावलोकन गर्ने पर्यटकको घुइचो लागेको छ।’
इलाममा बाढी पहिरोको त्रासका कारण भारतीय पर्यटक आउन छोडेका थिए ।तर, कन्याम अन्तु पर्यटकका लागि सुरक्षित रहेको पाएपछि पर्यटकको संख्या ह्वात्तै बढेको छ । अहिले अन्तुमा मात्र स्वदेशी तथा बिदेशी गरी दैनिक पाँच हजार बढी पर्यटक भित्रिन थालेका छन । कात्तिक र मंसिर महिना अन्तुबाट सूर्योदयको दृश्यवलोकन गर्ने सिजन हो । बिहानको झिसमिसेमै सूर्योदयको दृश्यावलोकन गर्ने पर्यटकले अन्तुडाँडा खचाखच बन्न थालेको छ ।
अन्तुमा झुल्के हेर्न, अन्तु पोखरीमा डुङ्गा सयर गर्न, विभिन्न जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाबारीको दृश्यावलोकनका लागि पर्यटक आउने गरेका छन् । अन्तुमा बाह्रै महिना पर्यटकको भीड लाग्ने गर्दछ ।
सूर्योदय नगरपालिकाकै अर्को चर्चीत पर्यटकीय स्थल कन्याममा पनि पर्यटकको चाप बढेको छ। ‘‘कन्याम बाढीपहिरोपछि प्राय सुनसान थियो, अहिले आन्तरिक पर्यटकले भरीभराउ भएको छ ।’’ होटल व्यवसायी टेकराज गिरिले भननुभयो । कन्याममा चियाबारीमा रमाउन, वनभोज गर्न, जातीय पोसाकमा सजिएर घोडचढी गर्न र चियाको अध्ययन ,अनुसन्धानका लागि पर्यटक आउने गरेका छन् । स्वदेशी तथा भारतीय पर्यटकको रोजाइमा परेको कन्याममा पनि भारतीय पर्यटकको समेत चहलपहल शुरु भएको छ ।
सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईले बाढीपहिरोपछि पनि कन्याम अन्तु सहित सूर्योदयका पर्यटकीय स्थल पर्यटकका लागि सुरक्षित रहेको जानकारी दिनु भयो । नगरले बाढीपहिरोबाट क्षति भएका ८७ वटा सडक संचालनमा ल्याई सकेको छ । नगर प्रमुख राईले भन्नु भयो ‘सूर्योदय सहित इलामका पर्यटकीय सुरक्षित छन भन्ने शन्देश पर्यटक र पर्यटन ब्यवसायी माफ पु¥याउन जरुरी छ , पर्यटन क्षेत्र चलायमान बनाउन सबै लाग्नु पर्छ ।’
बाढीपहिरो पछि सरकारले तीन महिनाका लागि इलाम जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरेका कारण तेस्रो देशका पर्यटक भने न्यून संख्यामा मात्र आउने गरेका छन । अन्तु र कन्याममा असोज पहिलो साता देखि जेठसम्म पर्यटकको अत्यधिक भीड लाग्ने गरेको छ । यस्तै इलामका पर्यटकीय स्थल सन्दकपुर डाँडा, माइपोखरी, ढापपोखरी, पानीटार चिया बगान, टुम्लिङ, टङ्लु, सानो पाथीभरा, भण्डीडाडाँ सहितका क्षेत्रमा समेत पर्यटकको चहलपहल बढेको छ । बाढीपहिरोपछि सुनसान भएका यी क्षेत्रमा पुनः पर्यटकको आउजाउ सुरु भएको छ ।

 

TOP