फिक्कल: आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा इलाममा पाँच जना स्वतन्त्र सहित ५४ जनाले उम्मेद्वारी दर्ता गराएका छन । प्रतिनिधिसभा निर्वाचनका लागि २५ र प्रदेशसभाका लागि २९ जना गरी ५४ जनाले मनोनयन दर्ता गराएका हुन । दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ मा ११ र २ मा १४ जनाले उम्मेद्वारी मनोनयन दर्ता गरेका हुन ।
क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल सहित ८ राजनीतिक दल र ३ स्वतन्त्र गरी ११ जना जनाले उम्मेद्धवारी दिएका हुँन ।
यस्तै क्षेत्र नम्बर २ मासंविधानसभा पूर्व अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङसहित १२ राजनीतिक दल र २ स्वतन्त्र गरी १४ जनाले मनोनयन दर्ता गराएका हुँन ।
गठबन्धनबाट क्षेत्र नम्बर १ मा खनालले मनोनयन दर्ता गराएका हुन । नेकपा एमालेबाट पटक पटक चुनाव जितेका खनाल यस पटक भने काँग्रेस र माओवादी केन्द्रको साथले चुनाव जित्ने दाउमा छन । खनाल संघ लड्न नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले मनोनयन दर्ता गराएका छन ।बस्नेत १ नम्बर क्षेत्रमा कमजोर उम्मेद्धवारका रुपमा रहेका छन् । भौगोलिक हिसावले इलाम सदरमुकाम स्थाई बसोबास भएका कारण र उहाको यस क्षेत्रमा उपस्थिति नै कम भएका कारण कमजोर आंकलन गरिएको छ ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष कमलकुमार राई, नेपाली कांग्रेस (वि.पी.) का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, राष्ट्रिय जनमुक्तिका पदमबहादुर लिम्बू र मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले मनोनयन दर्ता गरेका छन् । त्यस्तै नीमातेन्जिङ शेर्पा, नेत्रप्रसाद रेग्मी र विक्रम पाण्डेले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका छन् ।
यता क्षेत्र नम्बर २ मा नेम्बाङलाई चुनौती दिन सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले उम्मेद्धवारी दिएका छन । खड्का युवा माझ लोकप्रिय छन । समाजसेवाका कामले लोकप्रिय बनेका युवा नेता खड्काले २ नम्बर क्षेत्रमा चुनाव सहजै जित्ने उनी निकटले दावी गरेका छन । नेम्बाङले पटक पटक चुनाव जितेर गए पनि उक्त क्षेत्रको बिकासमा चासो नदिएको स्थानीयको गुनासो छ ।
उक्त क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्वा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बू, नेपाली कांग्रेस (वि.पी.) का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगर, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणी माङमु लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटा, मंगोल नेशनल अर्गनाइजेशनका मणीकुमार लिम्बू (पापो), नेकपा कम्युनिष्ट पार्टीका याकबहादुर लिम्बू र जनता समाजवादी पार्टी नेपालका यामप्रसाद लिम्बूले मनोनयन दर्ता गरेका छन् । त्यस्तै जुनु माखिम र दिपेश बोहोराले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन ।
प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर १ (क) मा ८, १ (ख) मा ६ जना २ (क) मा ७ जना र २ (ख) मा ७ जनाले राजनीतिक दलबाट मनोनयन दर्ता गराएका छन भने १ जनाले स्वतन्त्र गरी ८ जनाले मनोनयन दर्ता गरेका हुन । क्षेत्र नम्बर १ (१) मा सत्ता गठबन्धनका तर्फबाट प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवं एकीकृत समाजवादीकी नेतृ खिनु लङ्वा (लिम्बू) ले मनोनयन दर्ता गरेकी छन् । त्यस्तै एमालेकी शोभा पराजुली, मंगोल नेशनल अर्गनाइजेशनका अनुपंदेव माक्रेहाङ, मौलिक जरोकिलो पार्टीका आशिष महत, राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्ण कट्टेल, राष्ट्रिय जनमुक्ति पार्टीका दलप्रसाद लिम्बू, जनता समाजवादी पार्टी नेपालका लिलाबहादुर सुनुवार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुस्मा फागोले मनोनयन दर्ता गरेका छन् ।
क्षेत्र नम्बर १ (२) मा गठबन्धनका तर्फबाट रोङ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं कांग्रेसका क्षेत्रीय सभापति समशेर राईले मनोनयन दर्ता गरेका छन् । त्यस्तै एमालेका तर्फबाट माई नगरपालिकाका निवर्तमान नगरप्रमुख दिपककुमार थेवे, राष्ट्रिय जनमुक्ति पार्टीकी इन्द्रकुमारी लुङ्गेली, जनता समाजवादी पार्टी नेपालका ओपेन्द्र राई, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रकुमार लामिछाने मनोनयन दर्ता गरेका छन् । त्यस्तै क्षेत्र नम्बर २ (१) मा गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द गिरीले मनोनयन दर्ता गरेका छन भने एमालेका तर्फबाट जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख गणेशप्रसाद बरालले मनोनयन दर्ता गराएका छन । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका टंकबहादुर नोगु, राष्ट्रिय जनमुक्ति पार्टीका मित्र जवेगू, राष्ट्रिय प्रजातन्त्र पार्टीका यामनाथ भण्डारी, जनता समाजवादी पार्टी नेपालका रामकुमार लिम्बू र मंगोल नेशनल अर्गनाइजेशनका लक्षुमन राई माक्रेहाङने मनोनयन दर्ता गरेका छन् । यस क्षेत्रमा गिरी र बरालबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान छ ।
क्षेत्र नम्बर २ (२) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हर्कबहादुर लावती (कान्छा) ले मनोनयन दर्ता गरेका छन् भने एमालेका तर्फबाट प्रदेश १ का निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर रानाले उम्मेद्वारी दर्ता गराएका छन । त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका उजितकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाङ्फे, जनता समाजवादी पार्टी नेपालका बलबहादुर आङदेम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर डाँगी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विनयकुमार फागो र स्वतन्त्रको हैसियतमा हर्कप्रसाद साम्वाले मनोनयन दर्ता गरेका छन् । इलाममा मुख्य गरी गठबन्धन र नेकपा एमालेको प्रतिस्पर्धा हुने देखिएको छ ।
इलाममा १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ महिला पुरुष र २ जना तेस्रो लिङ्गी गरी २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेका छन् । जसमध्ये प्रतिनिधिसभा निर्वचन क्षेत्र नम्बर १ मा ९ हजार ५ सय ३५ र क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेका छन । त्यसैगरी प्रदेशसभा निवाचन क्षेत्र नम्बर १ (१) मा ५५ हजार २ सय ४७, क्षेत्र नम्बर १ (२) मा ५२ हजार २ सय ८८, क्षेत्र नम्बर १ (१) मा ६० हजार ८२ र क्षेत्र नम्बर २ (२) मा ५५ हजार २ सय ६० मतदाता रहेका छन् ।