रोङ गाउँपालिकाको बजेट ४९ करोड ६० (पूर्ण पाठ सहित)
-
प्रकाशित मितिः
September 24, 2026
- हाम्रो पालिका
रोङ गाउँपालिकाले ४९ करोड ६० लाख ८७ हजाबराबरको बजेट पारित गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभा गाउपालिका उपाध्यक्ष बिष्णुमाया खवासले प्रस्तुत गर्नु भएको बजेट सभाले पारित गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम तथा बजेट वक्तव्य
रोङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
पहरीगाउँ, इलाम
कोशी प्रदेश, नेपाल
२०८० साल आषाढ १० गते आइतबारउपाध्यक्ष श्री बिष्णु माया खवास ज्यूले गाउँसभामा प्रस्तुत गर्नुभएको
आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट वक्तव्य
रोङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
पहरीगाउँ, इलाम
कोशी प्रदेश, नेपाल
१.१ पृष्ठभूमी
सम्मानित सभाध्यक्ष महोदय,
- नेपालको संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अनुसार तिन तहको सरकार अन्तर्गत यस रोङ गाउँपालिकाको आगामी दिनको सुनौलो भाग्य र भविष्यको मार्गचित्र कोर्नको लागी आ.व. २०८०।०८१ को नीति, कार्यक्रम तथा बजेट यस गरिमामय गाउँसभामा प्रस्तुत गर्न पाउँदा अत्यन्तै गौरवान्वित महशुस गरेको छु ।
- सर्वप्रथम, नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लागि नेपाली जनताले पटकपटक गर्दै आएको ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्षहरुमा शहादत हुनु भएका आदरणीय वीर अमर शहीदहरुको त्याग र बलिदानलाई भावपुर्ण श्रद्वाञ्जली अर्पण गर्दछु । साथै विभिन्न चुनौतीका बाबजुद आफ्नो व्यक्तिगत स्वार्थ र जीवन भन्दा माथि उठेर राष्ट्रिय स्वार्थ र आवश्यकताको लागि अहोरात्र खटिनुभएका, अतुलनीययोगदान पुर्याउनुभएका तमाम जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
- नेपाल सरकारले समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य परिकल्पना गरेर विगतमा आफ्ना योजना तथा कार्यक्रमहरु अघि सारेको छ । तसर्थ मैले पनि आज रोङ गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट बक्तब्य पेश गर्दा सोही उद्देश्यलाई सहयोग पुग्ने गरी पेश गरेको छु । यस क्षेत्रको समग्र तथा सन्तुलित विकास गर्दै गाउँबासीहरुको समग्र आर्थिक सामाजिक स्तरमा अभुतपुर्ण रुपमा सकारात्मक परिवर्तन ल्याउन गाउँपालिका परिवार लागेको छ । यस गाउँपालिकालाई बालमैत्री, महिलामैत्री, अपागंमैत्री, ज्येष्ठ नागरिकमैत्री तथा वातावरणमैत्री गाउँपालिकाको रुपमा विकास गर्दै, सुशासन, पारदर्शिता कायम गर्दै, छिटो छरितो र प्रभावकारी सेवा प्रवाह गर्दै अनुकरणिय गाउँपालिकाको रुपमा विकास गर्न हामी दत्तचित्तका साथ लागि परेका छौं । यस कार्यमा सहयोग प्रदान गर्न सम्पूर्ण जनप्रतिनिधि, बुद्धिजिवि, समाजसेवी, गाउँबासी तथा सरोकारवालाहरुको रचनात्मक सहयोगको अपिल गर्दछु ।
- यस रोङ गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट प्राथमिकिकरण तथा तर्जुमा गर्दा नेपालको संविधानको अनुसुची ८ र ९, नेपाल सरकारको नीति तथा कार्यक्रम, कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम, नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण, समपुरक, विशेष तथा सशर्त अनुदान, नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेका प्रतिवद्वताहरु, दीगो विकास लक्ष्य,विभिन्न मन्त्रालयका विभिन्न आदेश, निर्देशन तथा परिपत्रहरु, स्थानीय तहको अधिकार तथा कार्य विस्तृतिकरण, स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ (परिमार्जित), स्थानीय सरकार संचालन ऐन, २०७४, अन्य प्रचलित विद्यमान ऐन कानूनहरु, बिभिन्न विषयगत मन्त्रालयहरु, कार्यालयहरु, संघ संस्थाहरु बाट प्राप्त मार्ग निर्देशन, सुझाव तथा अपेक्षा, बिभिन्न बिज्ञ, समितिहरुका राय, सल्लाह तथा सुझावहरु तथा आम नागरिकहरुको सुझाव, आम रोङबासीको अपेक्षा समेतलाई मध्यनजर गरी यस सम्मानित सभामा प्रस्तुत गरेको छु ।
सम्मानित सभाध्यक्ष महोदय,
अव म यस गरिमामय सभामाचालु आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम र वजेटको हाल सम्मकोप्रगती प्रतिवेदन पेश गर्ने अनुमति चाहन्छु ।
कृषिः-
- रोङगाउँपालिका अन्तर्गतका सम्पूर्ण अगुवा कृषक तथा व्यावसायिक कृषकहरुको खेती प्रविधिमा सुधार तथा उत्पादन वृद्धिमा थप टेवा पुर्याउने उद्देश्यका साथ उन्नत विउविजन विरतण तथा औषधी बितरणगरिएको छ । आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार ५० % अनुदानमा मकै, धान, आलु र टमाटरको विउ वितरण कार्यक्रम, सुन्तला खेति गर्ने कृषकहरुलाई फेरोमोन ट्याग वितरण, ७५% अनुदानमा बर्षे तरकारीको विउ वितरण कार्यक्रम, एक घर एक करेसाबारी निर्माण तथा तरकारी मिनिकिट वितरण कार्यक्रम, मौसम अनुसारको बिउ वितरण कार्यक्रम सम्पन्न गरिसकिएको छ । साथै यस गाउँपालिकाको विभिन्न कृषक समूह गठन तथा परिचालन कार्यक्रम पनि सञ्चालन गरिएको छ ।
- यस गाउँपालिकालाई हनि जोनको रुपमा विकास गर्ने उद्देश्यका साथ मौरीप्रवर्द्धन कार्यक्रम अन्तर्गत ६ वटै वडामा मौरी कृषकलाई आधारभुत मौरी सम्बन्धि तालिम, व्यवसायिक मौरी कृषकलाई २१ दिने रानी उत्पादन तथा घार निर्माण सम्बन्धि तालिम सञ्चालन गरिएको छ । साथै कन्य च्याउ खेति प्रवर्द्धन, पकेट विकास कार्यक्रम, किसान सूचीकरण कार्यक्रम, फूल नर्सरी प्रवर्द्धन कार्यक्रम, गड्यौले मल प्रवर्द्धन कार्यक्रम, फलफुल विरुवा वितरण कार्यक्रम, माटो परिक्षण ल्याव व्यवस्थापन तथा क्यामिकल खरिद कार्यक्रम कार्यन्वयनको चरणमा रहेको छ ।
- गुन्द्रुक ब्रान्डिङ कार्यक्रम अन्तर्गत यस गाउँपालिकाको वडा नं. ५ मा रहेको देवानछाप कृषि सहकारी संस्था सँग गाउँपालिकाले सम्झौता गरी गाउँपालिका भित्र उत्पादन भएको रायोको साग संकलन, प्रशोधन गरी उत्पादन पुर्बको अनुदान लाई निरुत्साहित गर्दै बजारीकरण प्रबर्द्धन गर्ने कार्यक्रम अन्तरगत यो बर्ष “रोङ गुन्द्रुक ” ब्राण्डिङ्ग गरिएको छ।
- रोङको कृषि उत्पादनको बजार ब्यवस्थापन गर्न कृषि ब्यवसायको “ब्यवसायिक रणनीतिक योजना ” School Of Managment Tribhuwan Univarsity” (त्रिभुवन विश्वविद्यालय)र idea Studio (आइडिया स्टुडियो) सँगको सहकार्य मा अन्तिम चरणमा पुराईएको छ । आगामी बर्ष अन्य उत्पादनहरुलाई गुन्द्रुक जसरी नै ब्राण्डिङ्ग गर्दै एक वडा एक कृषी प्रशोधन उद्योग सहकारी मार्फत संचालन गराउने योजना अनुसार रोङ ५ मा चालू आ.व. मा सम्पन्न हुनेछ ।
पशु
- रोङबासीहरुको कृषकहरुको पशु स्वास्थ्य व्यवस्थापनको लागि पशुपन्क्षी औषधी खरिद तथा नि:शुल्क वितरण कार्यक्रम सञ्चालन गरिएको छ।हालसम्म ४ सय १७ भन्दा बढी किसानहरु प्रत्यक्ष लाभान्वित भई ४ हजार ८ सय ९८ पशुपन्क्षीहरुको स्वास्थ्यमा सुधार भएको अपेक्षा गरिएको छ ।
- पशुपालक कृषकहरुको आयआर्जनमा सुधार गर्न नश्ल सुधार तथा कृत्रिम गर्भाधान गर्नका लागि तरल नाईट्रोजन,सिमेन खरिद,ढुवानी र व्यवस्थापन कार्यक्रम अन्तर्गत हालसम्म १ हजार ९ सय १०गाई, १३भैसी,७८बंगुर,२बाख्रा सहित हालसम्म २ हजार ३ पशुहरुमा कृत्रिम गर्भाधान सेवा पुर्याईएको छ ।
- साना व्यव्सायी बाख्रा पकेट कार्यक्रम अन्नतर्गत वडा न.१,३,४ र ५ मा बाख्राको खोर निर्माण तथा सुधार कार्यक्रम अन्नतर्गत जम्मा ३२ वटा खोर सुधार भएको छ ।
- रोङ गाउँपालिका पशुपन्क्षी तथा मत्स्य विकास शाखा को ५०% लगानी र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना(PMAMP)काउजोन कार्यालय इलाम को ५०% लागत साझेदारी गाईहरुमा बाच्छी जन्मने सेक्सड सिमेन(Sexed Semen) खरिद वितरण कार्यक्रम अन्तर्गत बोलपत्र आव्हान गरी ४ सय ७७डोज सेक्सड सिमेन(Sexed Semen) खरिद भै कृत्रिम गर्भाधान शुरु भएको छ।
- ७५% अनुदानमाकाउम्याट खरिद तथा वितरण कार्यक्रम अन्नतर्गत विभिन्न वडाका पशुपालक किसानको मागअनुसार ५५ थान काउम्याट साथै ७५%अनुदानमै मल्टी च्यापकट्टर खरिद तथा वितरण कार्यक्रम अन्नतर्गत वडा न.२ को पशुपालक किसानको लागि आवश्यक मल्टिच्यापकटर -२ थान खरिद गरि वितरण गरिएको छ ।
- यस गाउँपालिका वडा न.४, पहरीगाउँमा पशुपन्क्षी तथा मत्स्य विकास शाखा कार्यालय हस्तान्तरण तथा उद्घाटन गरिसकिएको साथै सो कार्यालयको लागी आवश्यक सामग्री खरिद गरि जडान कार्य सम्पन्न गरिएको छ।
- आकस्मिक सेवा अन्नतर्गत रोङ गाउँपालिकाको सबै वडामामहामारीको रुपमा देखिएको लम्पी स्कीन रोगको रोकथामको लागि आवश्यक औषधि खरिद गरि पशुपन्क्षी तथा मत्स्य विकास शाखामा कार्यरत ८ जना पशु सेवा प्राविधिक सहित निजी स्तरका पाराभेट/ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता सहित २३ जना प्राविधिकहरुको सहयोगमा रोकथाम गर्ने प्रयास भएको छ। त्यस रोगले१ हजार ६ सय २५ भन्दा बढी पशुहरु संक्रमित भएको तथा ७५ वटा पशुहरु मरेका छन् । हाल यो लम्पी स्किन रोग संक्रमणको दर निकै कम भएको देखिन्छ ।
- पशुपंक्षीलाई लगाइने विभिन्न खोपअन्तर्गत वडाहरुमा खोरेत ९ हजार ५ सय, पि.पि.आर ११ हजार, स्वाईन फीभर १ हजार र रानीखेत ३ हजार भ्याक्सिन लगाउने काम अन्तिम चरणमा रहेको छ ।यस भ्याक्सिनेशन कार्यक्रमबाट रोङगाउँपालिका भित्रको पशुपन्क्षीहरुलाई खोरेत, पि.पि.आर,स्वाईन फिभर र रानीखेत को संक्रमण हुने सम्भावनालाई न्युनकरण गरिएको छ । यो कार्यक्रम सञ्चालनका निमित पशुपन्क्षी तथा मत्सय विकास शाखाले १५ जना भ्याक्सिनेटरहरु नियुक्त गरी यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।
धार्मिक तथा पर्यटनः
- यस गाउँपालिकाको वडा नं. ३ मा रहेको पाथिभरा मन्दिरको संरक्षण तथा व्यवस्थापनको लागी यस गाउँपालिकाको चौधौ गाउँसभाबाट मिति २०७९ माघ ११ गते “पाथिभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९” जारी गरी सोहि ऐनको दफा ४ को उपदफा १ बमोजिम समिति गठन गरी २०७९ फागुन १ गते देखि पाथिभरा मन्दिरको संरक्षण तथा व्यवस्थापन थालनी गरिएको छ । मन्दिर व्यवस्थापन गाउँपालिकाले लिए सँगै गाउँपालिकाको आन्तरिक आयमा पनि उल्लेखनियवृद्धि भएको छ ।
- गत आ.व.को बार्षिक आम्दानी ७२ लाख भएको थियो।आम्दानी वृद्धि सङ्गै सुशासन कायम गर्न पाथिभरा मन्दिरलाई पालिकाको दायरामा ल्याउदा मन्दिर बाट मात्रै १०० दिनमा नै करिब ७२ लाख आम्दानी भएको छर आगामी बर्ष देखि गत आ.व. को आम्दानी भन्दा ३-४ गुणाले बढने निश्चित छ।देशमा बिकासको योजना,सामाजिक सुरक्षा भत्ता वृद्धि तथा विभिन्न नयाँ कार्यक्रमको मात्र गौरबको साथ प्रचार गर्ने गरेको देखिन्छ तर आम्दानी वृद्धि गर्यौ भनी गर्व गर्ने कमि नै हुन्छ जसमा रोङ गाउपालिकाले गौरब को बिषयको रुपमा लिनु र हालको देशको अर्थतन्त्र लाई हेर्दा सबैले अनुसरण योग्य कार्यको रुपमा लिन सकिन्छ ।
- यस गाउँपालिका भित्र रहेको धार्मिक र पर्यटन स्थलहरु पाथिभरा मन्दिर, हाँस पोखरी, झण्डिडाँडा, गुगल पोइन्ट, करसोङ पदमार्गहरुको विकास साथै प्रचार प्रसार गरी आन्तरिक र बाह्य पर्यटन भित्र्याउन विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेको छ ।
शिक्षाः-
- अभिभावक शिक्षा अनिवार्य लागू गर्न बिज्ञहरुको सहयोगमा एउटा पुस्तिकाको सम्पूर्ण तयारी सम्पन्न गरिएको छ । (एक वा दुई महिनामा एकपटक अनिवार्य अभिभावक विद्यालयमा अध्ययन गर्न अनिवार्य आउने वातावरण मिलाउने छ ।
- भएको सामाग्रीविकास तथाव्यवस्थापन आजको आवश्यकता हो भनी हालसम्म वितरण भएको इलेक्ट्रोनिक्स डिभाईस (सूचना प्रविधि सामाग्री)को विवरण सङ्कलन गरि मर्मत सम्भार गरि चालू अवस्थामा पुर्याएको छौ ।
- आवश्यक प्रविधि सँग सम्बन्धित डिभाईस व्यवस्थापनको लागि बिशेष अनुदानबाट करिब १ करोड , रास्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत १२/१५ लाख गरि करिब १ करोड १५ लाख हाराहारीमा डिभाईस व्यवस्थापन गरिएको छ ।सामुदायिक विद्यालयहरुमा ICT कार्यक्रम बजेट रु. ८० लाखबाट माध्यमिक विद्यालयबाट पूर्ण ICT बनाउदै लैजाने नीति अनुरुप १० वटा स्मार्ट बोर्ड, ३९ वटा डेक्सटप कम्प्युटर, ३० वटा इ-हाजिरी (सफट्वेयर सहित), ६ वटा प्रिन्टर, १ वटा ल्यापटप र १ वटा प्रोजेक्टर साथै ९ वटा माध्यमिक विद्यालयमा ११ वटाको दरले सि.सि.क्यामेरा खरिद तथा जडान कार्य सम्पन्न भएको छ साथै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत २ वटा ICT कार्यक्रम रहेकोले सो ICT कार्यक्रम श्री बहुवन मा.वि., रोङ ५ र श्री शंकर आ.वि., रोङ ३ मा कार्य सम्पन्न भएको छ । त्यस्तै गरी श्री उमामहेश्वर मा.वि. रोङ ५ मा विज्ञान प्रयोगशाला र श्री शंकर आ.वि. रोङ ३ मा पुस्तकालय निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ साथै प्रविधिको सहयोगमा विद्यालयको प्रत्यक्ष अनुगमन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।
- त्यस्तै गरी आर्थिक बर्ष २०७९/०८० मा ४ कोठे भवन १ वटा र २ कोठे भवन २ वटा भवन निर्माणको कार्य अन्तिम चरणमा रहेको छ ।
- यस गाउँपालिका वडा नं. ३ मा रहेको श्री शान्ति निकेतन मा.वि. नमुना विद्यालयको रुपमा विकास गर्ने उद्देश्यका साथ भौतिक पूर्वाधार तेस्रो वर्षको निर्माणाधिन चरणमा रहेको छ ।
- यसबाट ६ वटा माध्यमिक र २ वटा आधारभूत तहमा अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षक दरबन्दि अभाव लाई परिपुर्ति गरिएको छ ।
- यस गाउँपालिका भित्र रहेको श्री शारदा आ.वि., चिण्डेपानिमा नेपालकै लोपउन्मुख जातिको रुपमा रहेको लेप्चा जातिको भाषा उत्थान गर्ने उद्देश्यका साथ लेप्चा भाषा पठन पाठनको लागी पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्य सामग्री व्यवस्थापन गरी कक्षा १ र २ पठनपाठन भइरहेको छ ।
- सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक, बाल शिक्षक, विद्यालय सहायककर्मचारी,कार्यालय सहयोगीहरुको नेपाल सरकारबाट प्राप्त तलब भत्तामा गाउँपालिकाबाट थप गरी त्रैमासिक रुपमा पारिश्रमिक उपलब्ध गराइदै आएको छ ।
- ” बन मार्फत समृद्धि कार्यक्रम ” अन्तर्गत विद्यालयको स्थायी आम्दानी बनाउने उद्देश्यका साथयस वर्ष अवधारणा पत्र तयार गरिएको छ । यो आर्थिक वर्षमा ३ देखि ५ वटा विद्यालयको जमिन वा सामुदायिक वनको स्वामित्वमा रहेको जमिन लिजमा लिएर आयमुलक बिरुवा रोपण गरिने तयारी अन्तिम चरणमा पुगेको छ ।
स्वास्थ्यः-
- स्वास्थ्यका महत्वपूर्ण अनलाईन सफ्टवेरहरु सबै स्वास्थ्य संस्थाहरुमा जडान गरि स्वास्थ्य संस्थाहरुमा व्यावस्थित सूचना प्रणालि लागू गरि प्रगति प्रतिवेदन संकलन कार्यबाट पराम्परागत कागजी प्रतिवेदन हटाउदै लगिएको छ ।
- पालिका अन्तर्गत संचालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट निरन्तर रुपमा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह भइरहेको,जनशक्ति,औषधी,औजार उपकरणको पूर्ण रुपमा व्यवस्थापन गरिएको तथा स्वास्थ्यकर्मीहरुलाई विभिन्न क्षमता अभिबृद्धि तालिमहरु प्रदान गरि दक्षतामा सुधार गर्दै लगिएको छ ।
- दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीहरु परिचालन गरि वृहत रुपमा विभिन्न प्रकारका स्वास्थ्य शिविर संचालन गरिएको छ साथै ग्रामिण अल्ट्रासाउण्ड घुम्ति सेवा मार्फत मासिक रुपमा सबै स्वास्थ्य संस्थाहरुबाट गर्भवती महिलाहरुलाई भिडियो एक्सरे सेवा प्रदान गरिको र जटिलता पत्ता लागेका गर्भवती महिलाहरुलाई समयमानै सुविधा सम्पन्न अस्पतालमा प्रेषण गरिएको छ ।
- राष्ट्रिय पूर्ण खोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरि १६ महिना देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई पूर्ण खोप पाएको सुनिश्चितता गरि यस रोङ गाउँपालिका का सबै वडाहरुलाई पूर्णखोप सुनिश्चितता वडा घोषणा गरिएको र पालिकालाई पूर्ण खोप घोषणा गर्न विभिन्न क्रियाकलापहरु भईरहेको छ ।
- महामारीजन्य रोगहरुको रोकथाम,नियन्त्रण तथा उपचारमा गरिएको, कोभिड-१९ विरुद्धको बुस्टर खोप अभियान संचालन गरि करिब ९१% प्रतिशत नागरिकहरुलाई खोप लगाई सकिएको र छुट भएका नागरिकहरुलाई निरन्तर खोप अभियान संचालन गरि खोप लगाउने कार्य भईरहेको छ ।
- विपन्न नागरिक औषधी उपचार कोष निर्देशिका बमोजिम विपन्न नागरिकलाई कडारोगको उपचारमा सहुलियत लिनको लागि पालिकाबाट सिफारिस गरि सम्बन्धीत अस्पतालमा प्रेषण गरि उपचारमा सहयोग गरिएको तथा विभिन्न रोगका बिरामीहरुलाई आर्थिक सहयोग उपलब्ध गराईएको छ ।
महिला विकास तर्फः
- महिला उद्योग प्रवर्द्धन कार्यक्रम, महिला अपाङ्ग एकल महिलालाई आयमुलक सीप तालिम तथा सहयोग कार्यक्रम सम्पन्न भएको छ ।
- यस गाउँपालिका भित्रका ६ वटै वडाहरुमा कानूनी सचेतना कार्यक्रम गरी १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान संचालन गरिएको छ त्यस्तै गरी ६ वटै वडाका ५५ जना बरिष्ठ ज्येष्ठ नागरिक लाई विभिन्न कार्यक्रम गरी सम्मान गरिएको छ ।
- अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ । साथै अपाङ्ग कोष सहकारी स्थापना, परिचय पत्र वितरण कार्यक्रम सञ्चालनमा रहेको छ साथै सहायक सामग्री वितरण कार्यक्रम अन्तर्गत सामाग्री खरिद सम्पन्न भई वितरण भइरहेको छ ।
उद्यम विकासतथा तालिम कार्यक्रम तर्फः
- यस गाउँपालिकामा शशर्त अनुदान अन्तर्गत सञ्चालनमा रहेको गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आ.व. २०७९/८० मा वडा नं. १,२,३,४ मा उद्यमशिलता विकास तालिम सञ्चालन भएकोमा वडा नं. २ मा टपरी उत्पादन तालिम, सिलाई कटिङ र व्युटिपार्लर तालिम साथै वडा नं. ३ र वडा नं. ४ मा कुक सम्बन्धि तालिम सञ्चालन भइसकेको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमको निर्देशिका बमोजिम तालिम लिएको व्यक्तिहरुलाई प्रविधि हस्तान्तरण र साझा सेवा सुविधा केन्द्र स्थापनाको अन्तिम चरणमा रहेको छ ।
- अपाङ्ग तथा एकल महिलाहरुलाई सीपमुलक तथा आयमुलक कार्यक्रममा आबद्ध गरी जिविकोपार्जनको वातावरण बनाउन महिला, अपाङ्ग तथा एकल महिलालाई वडा नं. २,३ र ४ मा सीप तथा आयमुलक तालिम सञ्चालन गरिएको छ । साथै महिला नेतृत्व विकास मार्फत नेतृत्वदायी भूमिका गर्न सक्ने क्षमतावान जनशक्तिको रुपमा विकास गर्दै महिला नेतृत्वको अभावलाई परिपुर्ती गर्ने उद्देश्यले ६ वटै वडाका महिला जनप्रतिनिधिहरुलाई उद्घघोषण तथा क्षमता विकास तालिम दिई सम्पन्न गरिएको छ ।
- यस गाउँपालिकाको वडा नं. ६ को रम्भ्याङमा सब्जि खेति तालिम र खारखोलामा बाख्रापालन सम्बन्धि जम्मा ६० जनालाई उद्यमशिलता तालिम प्रदान गरिएको छ ।
सडक, पुल र खानेपानी
- पालिका अन्तर्गतको योजनाहरु संचालनमा गुणस्तर,समयवधी भित्र सम्पन्नलाई प्रमुख प्राथमिकतामा राखी गलत सौदाबाजी,गतिबिधी,साठगाँठलाई पूर्ण रुपमा निर्मुल पार्न र अन्त्य गर्न अनुगमन, उत्प्रेरणा,सहयोग, सहजीकरण र प्रक्रियागत सरलतालाई व्यवस्थित ढङ्गले योजना कार्यन्वयन अघि बढाईएको छ।
- माथिल्लो दुई तह सरकारको लाईन एजेन्सीबाट आएको योजना पुर्णरुप समन्वय र सहजीकरण गरिएको छ।प्रदेश सरकारबाट पाथिभरामापार्किङ्ग निर्माणको लागि २ करोड ८५ लाख हाराहारीमा सम्झौता गरिएको छ र रोङ ५ मा सिचाँइको योजना करिब ४ करोडको ठेक्का सम्झौताको अन्तिम चरण पुगेको छ।संघीय सरकारको तर्फबाट करिब ७ करोड प्लसको सुकेनिन्दा पुल ठेक्काको निर्माण कार्य छोटो समयमाअन्तिम चरणमा पुगेको छ।संघ र प्रदेशका अन्य केही योजनाहरु बहुवर्षे स्विकृतिको प्रक्रियामा रहेको छन् ।साथै अन्य ठुला-साना सडक,पर्यटन लगायतको योजना समेत करिब ४ करोडको हाराहारीमा गाउँपालिका भित्र संचालन मा रहेकोछ।
- चालु आ.ब. मा३ सय १६ वटा गाउँपालिका स्तरीय र वडा स्तरीय योजना रहेको मध्ये १ सय ८१ वटा योजना सम्पन्न भइसकेको,३० वटा सम्झौता भई कार्यन्वयनको चरणमा रहेको छ त्यसै गरी ७ वटा ठेक्का मार्फत योजना सञ्चालन भइरहेको छ । जसमध्ये १ वटा संघीय समपुरक, २ वटा प्रदेश समपुरक र ४ वटा गाउँपालिका स्तरीय योजनाहरु रहेको छ ।
- यस गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको कार्य ६०% कार्य सम्पन्न भइसकेको छ भने बाँकी निर्माणको कार्य सञ्चालन भइरहको छ ।
सिंचाई
- गाउँपालिकाको सुक्खाग्रस्त क्षेत्रमा सिँचाई पूर्याउने उद्देश्यले साना सिंचाई मार्फत स्वीकृत योजनाहरु ७ वटा रहेकोमा ६ वटा योजना सम्झौता भइ सकेको र १ वटा अघिल्लो आ.व. को क्रमागत योजना सञ्चालन भइरहेको छ ।
- संस्थागत विकास सेवा प्रवाह र सुशासन
- स्थानीय सरकारका रुपमा स्थापित गाउँपालिकाको कार्यबोझ र सेवाप्रवाहको विशिष्टता र विविधिकरणलाई मध्यनजर गरी कर्मचारीलाई आफ्नो कार्यप्रति पुर्ण परिचालन गरी सेवाप्रवाहलाई चुस्त र मितव्ययी बनाउन साथै राजश्व संकलनमा पारदर्शी र चुस्तदुरुस्त वनाउन राजश्व सफ्टवेयर,इ-हाजिरी, सि.सि.टि.भि. जडान, प्रशासनिक कार्यको लागी प्रशासन सफ्टवेयर जडान गरी सञ्चालनमा ल्याइएको छ ।
- गाउँपालिकाको शाखागत सुरक्षा, निगरानीको लागी प्रत्येक शाखामा सि.सि.टि.भी. जडान गरिएको छ । साथै वडा कार्यालय, स्वास्थ्य चौकी तथा सामुदायिक विद्यालयमा भएका सूचना प्रविधि संग सम्बन्धित सामाग्रीहरु सूचना प्रविधि शाखामा कार्यरत कर्मचारीहरुबाट मर्मतगरी चालु अवस्थामा ल्याइएको छ ।
- गाउँपालिका स्थापना भएपछि आ.ब.२०७४।०७५ देखि गत आ.ब. सम्मको नीतिगत तथा असुल उपर गर्नु पर्ने गरी कायम भएको बेरुजु मध्ये यस आ.ब. को म.ले.प. को डोर खटी आउँदाबेरुजु सम्परिक्षण गरी बेरुजुको लगत घटाउन र गत आ.व. २०७८/०८९ मा लेखा परिक्षकहरुले औल्याएको असुल उपर गर्नुपर्ने बेरुजु र नीतिगत बेरुजुहरु महालेखा परिक्षकको कार्यालयले विकास गरेको NAMS सफ्टवेयरबाट समपरिक्षणको लागी पेश गरिएको छ ।
- यस गाउँपालिकामा भुमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको हकमा आ.व. २०७९/०८० मा भूमि सेवा केन्द्रबाट भूमिहिन दलित ४, भूमिहिन सुकुम्बासी ५७ र अव्यवस्थित बसोबासी १ हजार ७ सय ९३ गरी जम्मा १ हजार ८ सय ५४ जना आवेदकहरुको लगत संकलन, प्रविष्टि भएको छ । जस मध्ये वडा नं. १ मा २२४ जना अव्यवस्थित बसोवासीहरुको ३ सय ५९ कित्ता, वडा नं. २ मा ४ सय ३९ जना अव्यवस्थित बसोवासीको ५ सय ४९ किता र वडा नं. ३ मा २ सय १५ जनाको २ सय ३३ कित्ता नापजाँच सम्पन्न भइ सकेको छ ।साथै वडा नं. १ र २ को डाटावेश तयार गरी नापि कार्यालय, इलामको नापी नक्सा सँग भिडाई मिलान गरिसकिएको छ । वडा नं. १ को फाइल जिल्ला समन्वय पठाइसकिएको र वडा नं. २ को फाइल पठाउने तयारीमा रहेको छ । अन्य वडामा भूमि सम्बन्धि बाकी रहेको कार्य कार्यान्वयनको चरणमा रहेको छ ।
- विभिन्न संघ संस्था, सहकारी,सामुदायिक वन, विद्यालय,जस्ता सँस्थाहरुको क्षमता अभिबृद्दी गर्दै सरकारको उद्देश्य पूरा गर्न सहयोग पुर्याउन विभिन्न तथ्यांकहरु तयार गरि अघि बढने योजना बनाई लागू गर्ने चरणमा रहेको छ। आर्थिक अपारदर्शी रहेको केही संस्थाहरुको सवालमा कडा ढङ्गले अघि बढिएको छ जसको कारणले पालिकाको आम्दानी ३ देखि ४ गुणाले वृद्धि हुने निश्चित छ ।
- साझेदारहरु सगँको सहकार्य –
रोङ गाउँपालिकाको समग्र बिकासलाई अघि बढाउन साझेदार दातृ निकाय संघसंस्थाहरु सँगसाझेदारीमा समेत विभिन्न योजनाहरु संचालन गरिएको छ।
- यु.एन.डि.पि.को लगानीमा पर्यटन बोर्ड मार्फत करसोङ पदमार्गलाई रु २० लाख
- क्यानिडियन फण्डिङ्गमा जलवायु अनुकुल नमुना गाउँ निर्माणमा रु ५० लाख
- स्विस सरकारको सहयोगमा गुन्द्रुक उत्पादनको लागि रु ३७ लाख
- स्विस सरकारको तर्फबाट साना सिचाई योजनाको लागि ७ वटा योजनाको लागि करिब ८० लाख
- रोटरी क्लबमार्फत बाल कक्षा सुधार र HAPPY SCHOOL PROJECT (ह्याप्पी स्कुल प्रोजेक्ट)संचालनको अन्तिम तयारी रहेको छ ।
- अस्टे्रलियन सरकारको सहयोगमा क्यारितास नेपाल मार्फत सामुदायिक होमस्टे संचालन प्रबर्द्धन बार्षिक ८ देखि १० लाख
- “कृषि ब्यवसायिक रणनीति योजना”निर्माणमा TU र Idea Studio (आइडिया स्टुडियो) को सहयोग
- अन्य
- यस आ.ब. को हाल सम्म न्यायिक समितिमा परेका १९ वटा उजुरी मध्ये ११ कोमिलापत्र भएको छ, ४ ओटा उजुरी मेलमिलाप हुन नसकि सम्बन्धित निकायमा सिफारिस गरिएको छ । त्यसै गरी ४ वटा उजुरी मेलमिलापको प्रकृयामा रहेको छ । साथै यस बर्ष देखि मानव अधिकार मञ्च र गाउँपालिकाको साझेदारीमा न्यायिक समितिको कामकार्वाहीलाई व्यवस्थित गर्न सफ्टवेयर खरिद भई कार्यान्वयनको चरणमा रहेको छ ।
- आ.ब. २०७९।०८० मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्राप्त कूल रु. ५१ लाख ९९ हजार बजेटले ८९ जना बेरोजगार ब्यक्तिहरुलाई दैनिक रु. ५७७ को दरले १०० दिन बराबरको रोजगारी प्रदान गर्नको लागि आयोजनाहरु सञ्चालन गरिएको छ । हाल सम्म ३० वटा आयोजनाहरु सम्झौता भई २४ वटा आयोजनाहरु सम्पन्न भइ सकेको र ६ वटा आयोजना कार्यान्वयनको चरणमा रहेको छ । यस कार्यक्रमबाट गाउँपालिकाको श्रोत अभावको कारण मर्मत गर्न नसकिएको स्थानीय सडक, गोरेटो, घोडेटोहरु मर्मत सम्भार हुनुको साथै पूर्वाधार विकास निर्माण तथा मर्मत संभारमा महिला दिदी बहिनीहरु पनि प्रत्यक्षरुपमा संलग्न भई आर्थिक उपार्जन साथै गरिब तथा जोखिममा रहेको विपन्न समुदाय र सिमान्तकृत वर्गलाई प्रत्यक्ष लाभ पुग्नुको साथै स्थानीय समुदायमा सामाजिक र आर्थिक उन्नतिमा प्रत्यक्ष सहयोग पुग्ने विश्वास गाउँपालिकाले लिइएको छ ।
- वडा नं. २ र वडा नं. ५ मा युवारुपको कार्यक्रमहरु संचालनमा भइरहेको छ जस अन्तर्गत ४० जना श्रमिकहरुले काम गरिराखेको छन् । त्यस्तै गरि वडा नं. १,३,४ र ६ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जम्मा ४९ श्रमिकहरुले काम गरिरहेको छन् । साथै निर्माण सामाग्री खरिदका लागि यस गाउँपालिकाबाट रु. १५ लाख विनियोजन भएकोमा त्यसबाट रोङ २ र ५ मा पक्की नालि निर्माण,नालि मर्मत र ग्याविन लगाउने कार्य सम्पन्न गरिएको छ ।
- प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दिगो बिकास र श्रमको सहि ढंगको परिचालन गर्दै रोङ ५ र २ मा करिब ६०० मिटर पक्की नाली निर्माण सम्पन्न भएको छ ।
- सरकार र जनताको बिचमा सहकारीको परिकल्पना अनुसार शुद्ध, पारदर्शी, सबल सहकारी निर्माणको लागि नेप्स्क्युन सँग जनशक्ति सहित लागत साझेदारीमा तीन बर्षे रणनिती लागू गरिएको छ।सबल सहकारी निर्माणको पाँच वटा चरण मध्ये जागरण चरण सम्पन्न गरि सहकारी को प्रोफाईल तयार गरिएको छ।
- काठे पोल मुक्त पालिका घोषणा गर्न अन्तिम तयारीमा रहेको छ।त्यसको लागि आवश्यक पोल सबै पालिकामा प्राधिकरण ले झारी सकेको साथैपुर्ण विद्युतीकरणको लागि समेत केन्द्रले नै ठेक्का सम्झौता सहित साईड भिजिट समेत भएको र चाडै कार्य प्रारम्भ हुने भएको छ
सम्मानित सभाध्यक्ष महोदय,
अब म चालु आ.ब. २०७९/०८० को हाल सम्मको बित्तीय प्रगति प्रतिवेदन पेश गर्न चाहन्छु ।
खण्ड २ – आगामी आ.व. २०८०।०८१ को नीति, कार्यक्रम तथा बजेट
सम्मानित सभाध्यक्ष महोदय,
अब म यस गाउँपालिकाको सोंच, लक्ष्य, उद्देश्य, अपेक्षित उपलव्धि र नीति तथा कार्यक्रम तर्जुमा गर्दा अवलम्वन गरिएको आधारहरु पेश गर्ने अनुमति चाहन्छु ।
२.१ सोंच, लक्ष्य, उद्देश्य र अपेक्षित उपलव्धि
२.१.२ सोंच
रोङ गाउँपालिकाका गाउँवासीहरुको आधारभूत आवश्यकता पूरा गर्दै विशिष्ट पहिचान सहितको सुन्दर र समृद्वपर्यटकीय गाउँपालिका बनाउने मुख्य सोंच रहेको छ ।
२.१.२ लक्ष्य
आर्थिक वर्ष २०८०।०८१ को अन्त्यसम्ममा रोङ गाउँपालिकामा भौतिक पूर्वाधार, पर्यटन, कृषि विकास, पशु सेवा, सूचना तथा प्रविधि र सुशासनका क्षेत्रका प्रगतिहरु आम नागरिकले प्रत्यक्ष महसुस गर्न सक्ने लक्ष्य लिइएको छ ।
२.१.३ उद्देश्य
रोङ गाउँपालिकाबासीले एक वर्षभित्रमा आफ्नो जीवनस्तरमा परिवर्तन भई दैनिक जीवनयापनमा सहजता भएको साथै आर्थिक समृद्दिको महसुस गर्नेछन् ।
२.१.४ अपेक्षित उपलव्धि
आ.व. २०८०/०८१ को अन्त्यसम्ममा देहायका उपलब्धीहरु हासिल गर्न सकिने अपेक्षा राखिएको छ,
· सडक सञ्जालको विस्तार, स्तरोन्नति भई सुरक्षित, गुणस्तरीय र भरपर्दो यातायातको पहुँचमा वृद्धि भएको हुनेछ ।
· रोङ गाउँपालिका क्षेत्रमा स्वास्थ्य, पशुसेवा, सूचना प्रविधी तथा शिक्षा क्षेत्रमागुणस्तरीय सेवाको व्यवस्था हुनेछ ।
· रोङ गाउँपालिकामा गरिदैं आएको परम्परागत कृषि प्रणालीमा सुधार ल्याई कृषक, युवा तथा लक्षित वर्ग लाभान्वित हुनेछन् ।
· सार्वजनिक प्रशासनलाई चुस्त, दुरुस्त, पारदर्शी, जवाफदेही बनाउन गुनासो सुनुवाई संयन्त्रलाई प्रभावकारी बनाइनेछ ।
· साहसिक तथा धार्मिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुनेछ ।
· न्यायिक समितिले आम नागरिकको विश्वास जित्ने गरी सत्यतथ्यको आधारमा विवादको निरुपण गर्नेछ ।
२.२ वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा गर्दा अवलम्वन गरिएका प्रमुख नीति तथा आधारहरुः
- नेपालको संविधानमा व्यवस्था भए अनुसार स्थानीय तहका अधिकारका सूचीकृत विषयहरु
- स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ (परिमार्जित)
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४
- पन्ध्रौ पञ्चबर्षीय योजना
- नेपाल सरकार र प्रदेश सरकारको बजेट बक्तव्य
- दिगो विकासका लक्ष्यहरु
- राजश्व परामर्श समिति, स्रोत अनुमान तथा वजेट सीमा निर्धारण समिति, वजेट तथा कार्यक्रम तर्जुमा समिति लगायतका समितिबाट प्राप्त राय सुझावहरु ।
- वडा वस्ती स्तरमा भएका छलफलका सुझाबहरु एवम संकलन भएका योजना तथा कार्यक्रमहरु ।
- विषयगत समितिबाट प्राप्त राय सुझाब ।
अव म यस गरिमामय गाउँसभामा रोङ गाउँपालिकाले आ.व. २०८०।०८१ मा अख्तियार गर्ने नीति तथा कार्यक्रम पेश गर्ने अनुमति चाहन्छु ।
२.२.१ मुलभूत नीति तथा कार्यक्रमः
- आर्थिक विकास
- कृषि तथा पशुपंक्षी
- रोङ गाउँपालिकाले ब्रान्डिङ गरेको “रोङ गुन्द्रुक” लाई बजारीकरण विस्तार गर्दै उत्पादनमा वृद्धि गर्न किसानलाई अनुदान सहित कृषि सहकारीहरुलाई जिम्मेवार बनाउँदै लग्ने साथैतुलनात्मक लाभका बालिहरु जस्तै कफि, अलैचि, अम्रिसो , सिस्नो, अदुवा, वेसार, कागति, एभोकार्डो लगायतको बालीहरुको प्रवर्द्धन र विस्तारको कार्यक्रम सञ्चालन गर्ने नीति अंगिकार गरिनेछ ।
- रासायनिक विषादी र रासायनिक पर्दाथको प्रयोग लाई न्युनिकरण गर्दै अर्गानिक उत्पादनको लागि किसानहरुलाई माटो परिक्षणको सुविधा प्रदान गरीशिक्षित यूवाहरुलाई कृषि पेशा तर्फ आकर्षित गर्न र जोखिम न्युनिकरणको लागी प्रचलित कानूनको अधिनमा रही बालि तथा पशु बिमा कार्यक्रम अनिवार्य रुपमा लागू गरिनेछ ।
- उत्पादन अघिको अनुदानलाई निरुत्साहित गर्दै उत्पादन पश्चातको अनुदानलाई जोड दिदै कृषि व्यवसायलाई आधुनिक, व्यवसायिक र नाफामुखि बनाउन कृषि यान्त्रिकरणमा जोड दिइनेछ ।
- आवश्यकता र मागको आधारमा सबै किसानहरुलाई तालिम प्रदान गरिनेछ । जसको लागि यस गाउँपालिका भित्र रहेको ३० वटै सामुदायिक विद्यालयहरुलाई कृषि पाठशालाको रुपमा घोषणा गरी प्रयोगमा ल्याइनेछ ।
- यस गाउँपालाको प्रत्येक वडाहरुमा कृषि प्रशोधन केन्द्र स्थापना गरी छरिएर रहेको कृषि उपजहरुको सहकारी मार्फत संकलन गरी प्रशोधन, ब्रान्डिङ तथा बजारीकरण गर्न एक वडा एक प्रशोधन केन्द्र, एक सहकारी नीति अपनाईनेछ साथै सहकारीलाई सबल बनाउन कृषि एम्बुलेन्सको व्यवस्थापनमा जोड दिइनेछ ।
- रोङ गाउँपालिका भित्र उत्पादित महको मुल्य श्रंखला वृद्धि गरी गुणस्तरमा एकरुपता ल्याउन गाउँपालिका स्तरीय “हनि बैंक” स्थापना गर्दै हाल संचालनमा रहेको मौरी श्रोत केन्द्रलाई सेरेना मौरी र पुत्का अनुसन्धान केन्द्रको रुपमा विकास गरिनेछ ।
- गुणस्तरीय मह उत्पादनको लागी प्रति के.जि. रु. २०० अनुदान उपलब्ध गराइनेछ । तर इच्छुक किसानले आ.व.को सुरुमै अनुदानको लागि सूचिकृत हुनु पर्नेछ गाउँपालिकाले मापदण्ड पूराभए मात्र अनुदान प्राप्त गरी शुद्ध महको प्रमाणित गर्ने नीति लिइनेछ ।
- संघीय सरकारको ४०%, प्रदेश सरकारको ४०% र स्थानीय सरकारको २०% साझेदारीमा मेचि राजमार्ग लक्षित कृषि उपज बिक्री कक्ष स्थापना गरी रोङको कृषि उत्पादन पर्यटकहरुलाई विक्री गर्ने नीति लिइनेछ ।
- यस गाउँपालिकालाई बाख्राको स्रोतकेन्द्र निर्माण गर्न एक वडा एक पकेट क्षेत्र साथै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको कार्यक्रमलाई प्रभावकारी र नतिजामुखि बनाइनेछ ।
- सेक्स सिमेन कार्यक्रमलाई प्रभावकारी बनाउँदै नश्ल सुधार तथा कृतिम गर्भाधान सेवा प्रवाह गरी रोङ गाउँपालिकाका पशुहरुमा उन्नत नश्ल सहित दुध साथै मासु उत्पादनमा बृद्धिमा प्रोत्साहन गर्ने नीति अपनाइएको छ साथै सेक्स सिमेन प्रयोगको ट्रयाकिङ्ग गरिनेछ ।माछापालनलाई व्यवसायिकरण, विकास र विस्तार गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
- पशुपालन क्षेत्रमा सरकारी र गैरसरकारी संस्थाहरु विच आवश्यक समन्वय गरी दुध उत्पादनमा विविधिकरण तथा व्यवसायिक उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण सुदृढिकरणमा गर्ने नीति अवलम्बन गरिनेछ । सम्पूर्ण दुग्ध किसानहरुको उत्पादन, बिक्री पासबुक गाउँपालिका आफैले वितरण गरिनेछ । साथै दुग्ध संकलन केन्द्र, विभिन्न उपकरण, ढुवानीको कार्य सहकारी, सरकारी र गैर सरकारी संस्थाहरु सँगको सहकार्यमा तिन वर्षमा सबै वडामा सम्पन्न गर्ने लक्ष्य सहित चालु आ.ब.बाट सो कार्यको सुरुवात गरिनेछ ।
- यस गाउँपालिका क्षेत्र भित्र रहेको कृयाशिल निजि पाराभेट साथै ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता र पशु औषधी व्यवसायीलाई प्रोत्साहन सहित पशुविकास क्षेत्रमा परिचालन गर्ने नीति अवलम्बन गरिनेछ ।
- उद्योग
- प्रदेश लगानी बोर्डको सहयोगमा रोङ परिसर भित्रका पर्यटन, कृषि, जडिबुटी लगायत अन्य उद्योग स्थापनाको लागि व्यवसाय योजना (Business Plan) तयार पारी लगानीकर्ताको खोजी गर्दै उद्योग स्थापना गर्न पहल गरिने नीतिलाई निरन्तरता दिइनेछ ।
- कृषि क्षेत्रको मझौला तथा ठूला उद्योगहरुको स्थापना र प्रवर्द्धनमा नीजि क्षेत्रहरु सँग सहकार्य गर्ने र सहुलियत कर्जाको संम्बन्धित ठाउँमा पहल गर्ने तथा उद्योग क्षेत्रको विकासको निम्ति लगानी मैत्री वातावरण सिर्जना गर्ने नीति लाई अझ प्रभावकारी बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ ।
- एक वडा एक कृषि प्रशोधन उद्योग, सहकारी मार्फत सञ्चालन गरिनेछ । गाउँपालिका स्तरमा एउटा “रोङ कृषि उद्योग” स्थापना गराउन आवश्यक अध्ययन सुरु गरिनेछ ।
- दैनिक निरन्तर पाँच जना भन्दा बढि मानिसलाई रोजगारी दिने गरि स्थापना हुने उद्योगसम्म सडक, विद्युत, खानेपानी तथा सुरक्षा जस्ता पूर्वाधार निर्माण गर्न सहयोग गर्ने नीति अवलम्बन गरिनेछ । ऐन नियमको परिधिमा रही विभिन्न कर छुटको समेत सहुलियत दिने नीतिलाई निरन्तरता दिइनेछ ।
- पर्यटन
- करसोङ पदमार्गमा लालीगुँरास, फलफूल, जडीबुटी वृक्षरोपण गर्दै खुल्ला संग्राहलयको रुपमा विकास गर्दै पर्यटनको दीर्घकालीन विकासको निम्ति रोङ गाउँपालिकालाई चार वटा करिडोर करसोङ करिडोर (हाँसपोखरी, झण्डी, ब्युटी बोर्डर, पाटापुर), महानन्द करिडोर (देवानगढी, किरात सास्कृतिक पार्क चिसापानी, रातमाते डाँडा पर्यटन तथा साकेला थान, माईथान मन्दिर र लेप्चा गुम्बा, महानन्द डाँडा, देवानछाप, बहुवन), पाथीभरा करिडोर (पाथीभरा, रमिते डाँडा, शिवालय मन्दिर, स्वागत झरना, जोरकलश) र आलेडाँडा करिडोर (मुर्ति डाँडा, जुरे भन्ज्याङ, आले डाँडा, तीनतले झरना, बरफल्याङ रमिते डाँडा, सुखानी) विभाजित गरी आवश्यक गुरुयोजना निर्माण गरि तहगत सरकारको समन्वयमा कार्यान्वयन गरिने नीतिलाई निरन्तरता दिइनेछ ।
- पाथिभरा क्षेत्रभित्र भित्रिएका पर्यटकलाई सोही क्षेत्रमा थप ७-८ घण्टा घुम्ने रम्ने स्थानको रुपमा विकास गर्न तयार पारिएको पाथीभरा मन्दिर क्षेत्रमा DPR अनुसार विकास गर्न तहगत सरकार सँगको समन्वयमा विकास गर्ने नीति लाई अझ प्रभावकारी बनाउन आवश्यक पहल र समन्वय गरिनेछ ।
- यस गाउँपालिकाको वडा नं. ३ मा रहेको पाथिभरा मन्दिरको विकास गर्न स्थानीय सरकारको स्रोत साधनको भरपुर प्रयोग गरिनेछ । पाथीभरा क्षेत्रभित्र पार्किङको व्यवस्थापन र पालिकाको सम्पूर्ण पर्यटकीय गन्तव्यहरुलाई सँधै सफा राख्ने कार्यलाई अझ प्रभावकारी बनाइनेछ ।
- पाथिभरा मन्दिरलाई पेगोडा शैलीमा निर्माण गर्दै सम्पूर्ण भक्तजनहरुको सुविधा, सुरक्षा र पारदर्शीताको लागी विशेष कार्यक्रम ल्याइनेछ साथै मन्दिर क्षेत्रमा यहि बर्षबाट केबलकार सञ्चालनको लागि निजि क्षेत्रलाई लगानी मैत्री वातावरणको प्रत्याभुति गराइनेछ ।
- लोपन्मुख, सीमान्तकृत, आदिवासी जनजाती तथा विभिन्न जातजातिको संस्कृति परम्परालाई संरक्षण संवर्दन गर्दै पर्यटन प्रवर्द्धन गर्न भाषा संस्कृतिको अध्ययन अनुसन्धान गरी गुरुयोजना निर्माण गरिनेछ ।
- मौलिक नमुना घर, संस्कृति, अर्गानिक करेसाबारी र नमुना बगैंचा प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
- पालिका क्षेत्रको धार्मिक, ऐतिहासिक, सांस्कृतिक, कृषि, चिया, शैक्षिक पर्यापर्यटनको समग्र विकास गर्न पर्यटन व्यवसायसँग आवद्ध गर्ने र पालिका क्षेत्रभित्रका सम्पुर्ण पर्यटन व्यवसायी, होमस्टे व्यवसायीलाई पर्यटन शिक्षा तथा विभिन्न तालिम